एलिहूको तर्क: परमेश्‍वरको महान्‌ता र उहाँको आश्‍चर्यमय काम
37
“यस कुरामा पनि मेरो मुटु काम्छ, र आफ्नो ठाउँबाट उफ्रन्छ। 2 उहाँको आवाजको गर्जन र उहाँको मुखबाट निस्केर जाने शब्द ध्यानपूर्वक सुन्‍नुहोस्! 3 उहाँले त्यसलाई सम्पूर्ण आकाशमुनि, र आफ्नो बिजुली सीधा पृथ्वीका अन्तसम्म पठाउनुहुन्छ। 4 त्यसको पछि एउटा आवाज गर्जन्छ; उहाँ आफ्नो प्रतापी आवाजले गर्जनुहुन्छ; अनि जब उहाँको आवाज सुनिन्छ, तब उहाँले तिनलाई रोकिराख्‍नुहुन्‍न। 5 परमेश्‍वर आफ्नो आवाजले अद्‌भूत रीतिले गर्जनुहुन्छ; उहाँले ठूला-ठूला कामहरू गर्नुहुन्छ, जसलाई हामीले जान्‍न सक्दैनौं। 6 किनकि उहाँले हिउँलाई भन्‍नुहुन्छ: ‘पृथ्वीमाथि खस्!’; यही प्रकारले सानो झरीलाई र उहाँको सामर्थ्यको ठूलो वर्षालाई आज्ञा गर्नुहुन्छ। 7 सबै मानिसहरूले उहाँको काम जानून् भनेर उहाँले हरेक मानिसको हातमा मोहरछाप लाउनुहुन्छ। 8 तब वन पशुहरू आफ्ना गुफाहरूभित्र जान्छन्, र आफ्ना ओड़ारहरूमा रहन्छन्। 9 दक्षिणको कोठाबाट आँधीबेह्री आउँछ, र उत्तरको हावाबाट जाड़ो आउँछ। 10 परमेश्‍वरको सासले बरफ बनिन्छ, र विस्तृत सागर जम्छ। 11 साथै उहाँले बाक्लो बादललाई जलकणको भारी बोकाउनुहुन्छ; उहाँले आफ्नो बिजुलीदार बादल छर्नुहुन्छ 12 अनि उहाँले तिनीहरूलाई जे-जे आज्ञा गर्नुहुन्छ, सोही तिनीहरूले यस पृथ्वीमा संसारको सतहमाथि पूरा गरून् भनेर उहाँका सल्‍लाहहरूद्वारा त्यो चारैतिर घुमाइन्छ। 13 उहाँले त्यसलाई ताड़नाका निम्ति, वा आफ्नो देशका निम्ति वा करुणाको कारणले पठाउनुहुन्छ।
14 हे अय्यूब, यो कुरा ध्यानपूर्वक सुन्‍नुहोस्! स्थिर भई खड़ा रहनुहोस्, र परमेश्‍वरका अचम्मका कामहरू विचार गर्नुहोस्! 15 परमेश्‍वरले कहिले तिनलाई खटाउनुभयो र कहिले आफ्नो बादलको बिजुली चम्काउनुभयो, के तपाईं जान्‍नुहुन्छ? 16 बादलहरू कसरी माथि अड़िएर बसेका छन्, जो ज्ञानमा सर्वसिद्ध हुनुहुनेका अचम्मका कामहरूको विषयमा के तपाईं जान्‍नुहुन्छ? 17 जब उहाँले दक्षिणी हावाद्वारा पृथ्वीलाई शान्त तुल्याउनुहुन्छ, तब तपाईंका वस्त्रहरू कसरी न्याना हुन्छन्? 18 के तपाईंले उहाँसित आकाश फैलाउनुभएको छ, जुन आकाश बलियो र ढालेर बनाइएको ऐनाजस्तो छ? 19 उहाँलाई हामी के भनौं, सो हामीलाई सिकाउनुहोस्; किनकि अन्धकारको कारणले हामी आफ्नो वक्तव्य क्रमसँग राख्‍न सक्दैनौं। 20 म बोल्न चाहन्छु भन्‍ने कुरा के उहाँलाई बताइयोस्? कोही मानिस बोल्छ भने निश्‍चय त्यो निलिनेछ। 21 अनि अहिले मानिसहरूले बादलहरूभित्र भएको त्यो चम्किलो ज्योति देख्दैनन्; तर बतास बहेर जान्छ, र तिनलाई सफा पार्छ। 22 उत्तरबाट स्वच्छ मौसम आउँछ; परमेश्‍वरसँग भयानक प्रताप छ। 23 सर्वशक्तिमान्‌चाहिँ – हामी उहाँलाई भेट्टाउन सक्दैनौं; उहाँ सामर्थ्यमा, न्यायमा र प्रशस्त धार्मिकतामा सर्वश्रेष्‍ठ हुनुहुन्छ; उहाँले कष्‍ट दिनुहुनेछैन। 24 यसैकारण मानिसहरू उहाँको डर मान्छन्; उहाँले बुद्धिमान् हृदय भएको कसैलाई ध्यान दिनुहुन्‍न।”