एलिहूको तर्क: सबै मानिसहरूसित परमेश्‍वरको व्यवहार धर्ममय हुन्‍छ
36
अनि एलिहू अघि बढ़े, र भने: 2 “मलाई अलिकति सहनुहोस्, र म तपाईंलाई परमेश्‍वरको पक्षमा अझै भन्‍नुपर्ने कुराहरू देखाउनेछु। 3 टाढ़ादेखि म मेरो ज्ञान ल्याउनेछु, अनि मलाई बनाउनुहुनेलाई धार्मिकताको श्रेय दिनेछु। 4 किनकि साँच्‍चै मेरा वचनहरू असत्य हुनेछैनन्; जो ज्ञानमा सिद्ध छ, ऊ तपाईंसँग छ।
5 हेर्नुहोस्, परमेश्‍वर शक्तिशाली हुनुहुन्छ, तर कसैलाई तुच्छ ठान्‍नुहुन्‍न; उहाँ बल र बुद्धिमा सामर्थी हुनुहुन्छ। 6 उहाँले दुष्‍टलाई जीवित राख्‍नुहुन्‍न; तर कष्‍टमा परेकाहरूलाई तिनीहरूको न्याय दिनुहुन्छ। 7 उहाँले धर्मी जनहरूबाट आफ्ना आँखाहरू हटाउनुहुन्‍न; तर उनीहरू राजाहरूको साथमा सिंहासनमाथि हुन्छन्; अँ, उहाँले तिनीहरूलाई सदाका निम्ति स्थापित गर्नुहुन्छ, र तिनीहरू उच्‍च पारिन्छन्। 8 अनि यदि तिनीहरू साङ्लाहरूले बाँधिएका र कष्‍टका डोरीहरूले पक्रिएका छन् भने, 9 उहाँले तिनीहरूलाई तिनीहरूको काम र तिनीहरूका अपराधहरू देखाउनुहुन्छ; किनकि तिनीहरू सीमा नाघेर गएका छन्। 10 अनि उहाँले तिनीहरूको कान शिक्षाका निम्ति खोल्नुहुन्छ, र तिनीहरू अधर्मबाट फर्कून् भनी आज्ञा गर्नुहुन्छ। 11 तिनीहरूले आज्ञापालन गरेर उहाँको सेवा गरे भने तिनीहरूले आफ्ना दिनहरू उन्‍नतिमा र आफ्ना वर्षहरू सुखचैनहरूमा बिताउनेछन्। 12 तर तिनीहरूले आज्ञापालन गरेनन् भने तिनीहरू तरवारले नाश हुनेछन्, र विनाज्ञान मर्नेछन् 13 तर कपटी हृदय भएकाहरूले क्रोध थुपार्छन्; उहाँले तिनीहरूलाई बाँध्‍नुहुँदा तिनीहरूले पुकार गर्दैनन्। 14 तिनीहरू जवानीमै मर्छन्, र तिनीहरूको जीवन अशुद्धहरूको बीचमा रहन्छ। 15 उहाँले कष्‍टमा परेकोलाई उसको कष्‍टबाट छुटाउनुहुन्छ, र थिचोमिचोमा तिनीहरूका कानहरू खोल्नुहुन्छ।
16 अनि त्यसरी नै उहाँले तपाईंलाई साँघुरो ठाउँबाट निकालेर फराकिलो ठाउँमा ल्याउनुहुनेथियो, जहाँ साँघुरोपना हुँदैन; अनि तपाईंको टेबलमा सजाइएको भोजन पोसिलो पदार्थले भरिएको हुनेथियो। 17 तर तपाईं दुष्‍टको न्यायले भरिनुभएको छ; न्याय र दण्डले तपाईंलाई पक्रन्छन्। 18 किनभने क्रोध छ; होशियार! नत्र उहाँले आफ्नो एउटै प्रहारले तपाईंलाई उठाएर लैजानुहुन्छ; तब ठूलो छुटकाराको दामले पनि तपाईंलाई छुटाउन सक्दैन। 19 के उहाँले तपाईंको धन मूल्यवान् ठान्‍नुहुन्छ र? अहँ, उहाँ न सुन, न ता बलका सबै स्रोतहरू नै मूल्यवान् ठान्‍नुहुन्छ। 20 त्यस रातको चाहना नगर्नुहोस्, जसमा जाति-जातिका मानिसहरू तिनीहरूको बदलीमा उठाइन्छन्! 21 होशियार हुनुहोस्, अधर्मतिर ध्यान नदिनुहोस्; किनकि दु:खकष्‍टभन्दा त्यसैलाई तपाईंले रोज्नुभएको हो।
22 हेर्नुहोस्, परमेश्‍वर आफ्नो सामर्थ्यद्वारा उच्‍च पारिनुहुन्छ; उहाँले जस्तो कसले सिकाउँछ र? 23 कसले उहाँका निम्ति उहाँको मार्ग ठहऱ्याएको छ र? अथवा कसले उहाँलाई ‘तपाईंले अधर्म गर्नुभएको छ’ भनी भन्‍न सक्छ र? 24 उहाँको कामको बढ़ाइ गर्ने कुरा सम्झना गर्नुहोस्, जसको गीत मानिसहरू गाउँछन्! 25 हरेक मानिसले त्यो देखोस्; मानिसले त्यसलाई टाढ़ाबाट हेरोस्!
26 हेर्नुहोस्, परमेश्‍वर महान् हुनुहुन्छ, र हामी केही जान्दैनौं; न ता उहाँका वर्षहरूको गन्ती नै पत्ता लगाउन सकिन्छ। 27 किनकि उहाँले पानीका थोपाहरू खिँच्‍नुहुन्छ; ती त्यसको बाफअनुसार झरीको रूपमा बर्सिन्छन्; 28 जसलाई बादलहरूले तप्काउँछन् र जुन थोपाहरू प्रशस्त गरी मानिसहरूमाथि चुहुन्छन्। 29 तर के कसैले बादलहरूका फैलावटहरू, वा उहाँको वासस्थानको गर्जन बुझ्न सक्छ र? 30 हेर्नुहोस्, उहाँले आफ्नो ज्योति त्यसमाथि फैलाउनुहुन्छ, र समुद्रको गहिराइ ढाक्नुहुन्छ। 31 किनकि तीद्वारा उहाँले जाति-जातिका मानिसहरूको न्याय गर्नुहुन्छ; उहाँले प्रशस्त गरी खानेकुरा दिनुहुन्छ। 32 उहाँले आफ्ना हातहरूलाई बिजुलीले ढाक्नुहुन्छ र त्यसलाई निशानमा हान्‍ने आज्ञा गर्नुहुन्छ। 33 त्यसको गर्जनले उहाँको विषयमा बताउँछ; पशुले पनि आँधी आइरहेको प्रकट गर्छ।”