एलिहू अय्यूबलाई अझ खण्डन गर्छन्
35
एलिहू अझै बोले, र भने: 2 “तपाईंले भन्‍नुभयो: ‘मेरो धार्मिकता परमेश्‍वरको भन्दा बढ़ी छ’; के यो कुरा ठीक हो भन्‍ने तपाईंलाई लाग्छ? 3 किनकि तपाईंले भन्‍नुभयो: ‘यसबाट तपाईंलाई के लाभ हुनेछ र? अनि मैले पाप नगरेकोमा मलाई के फाइदा हुन्छ र?’ 4 म तपाईंलाई र तपाईंको साथमा तपाईंका साथीहरूलाई जवाफ दिनेछु। 5 आकाशतिर हेर्नुहोस्, र देख्‍नुहोस्; अनि बादलहरू हेर्नुहोस्, जो तपाईंभन्दा उच्‍च छन्। 6 तपाईंले पाप गर्नुभयो भने पनि तपाईंले परमेश्‍वरको विरोधमा के गर्नुहुन्छ र? अथवा तपाईंका अपराधहरू बढ़े भने पनि तपाईंले उहाँलाई के गर्नुहुन्छ र? 7 अनि तपाईं धर्मी हुनुहुन्छ भने पनि तपाईंले उहाँलाई के दिनुहुन्छ र? वा उहाँले तपाईंको हातबाट के लिनुहुन्छ र? 8 तपाईंको दुष्‍टताले तपाईंजस्तै मानिसलाई चाहिँ हानि गर्ला; र तपाईंको धार्मिकताले आदमको सन्तानलाई नै लाभ होला। 9 धेरै थिचोमिचोहरूले गर्दा तिनीहरू चिच्च्याउँछन्; बलवान्‌हरूको बाहुबलले गर्दा तिनीहरू गुहार माग्छन्। 10 तर कसैले भन्दैन: ‘मलाई बनाउनुहुने परमेश्‍वर कहाँ हुनुहुन्छ, जसले मलाई राति गीतहरू दिनुहुन्छ; 11 जसले हामीलाई पृथ्वीका पशुहरूलाई भन्दा बढ़ी शिक्षा दिनुहुन्छ, र आकाशका पक्षीहरूलाई भन्दा बढ़ी बुद्धिमान् तुल्याउनुहुन्छ?’ 12 त्यहाँ तिनीहरू पुकार्छन्, तर दुष्‍ट मानिसहरूको घमण्डले गर्दा कसैले पनि जवाफ दिँदैन। 13 निश्‍चय परमेश्‍वरले व्यर्थको कुरा सुन्‍नुहुनेछैन, न ता सर्वशक्तिमान्‌ले त्यसलाई ध्यान नै दिनुहुनेछ। 14 ‘म उहाँलाई देख्दिनँ’ भनी तपाईंले भन्‍नुभए तापनि न्याय त उहाँको सामु छ; यसकारण उहाँको बाटो हेर्नुहोस्! 15 तर अब, उहाँले आफ्नो क्रोधमा दण्ड दिनुभएको छैन, न ता यहाँको मूर्खतालाई धेरै ख्याल गर्नुभएको छ; 16 यसैकारण अय्यूबले व्यर्थैमा आफ्नो मुख खोल्नुहुन्छ; उहाँले विनाज्ञान शब्दहरू बढ़ाउनुहुन्छ।”