एलिहूको दोस्रो जवाफ: परमेश्‍वरको न्याय सठीक हुन्‍छ
34
अनि एलिहूले जवाफ दिएर भने: 2 “हे बुद्धिमान् मानिसहरूहो, मेरा वचनहरू सुन्‍नुहोस्! अनि हे ज्ञानवान्‌हरूहो, मतिर कान लगाउनुहोस्! 3 किनकि जसरी जिब्रोले खानेकुरा चाख्छ, त्यसरी नै कानले शब्दहरू जाँच्छ। 4 आफ्ना निम्ति हामी न्याय रोजौं; जे असल छ, त्यो कुरा हामी आपसमा जानौं!
5 किनकि अय्यूबले भन्‍नुभएको छ: ‘म धर्मी छु; तर परमेश्‍वरले मेरो न्याय हर्नुभएको छ। 6 के म आफ्नो अधिकारको विरोधमा झूट बोलूँ? मेरो अपराध नभए तापनि मेरो घाउ निको नहुने किसिमको छ।’ 7 कुन मानिस अय्यूबजस्तो होला, जसले गिल्‍ला पानीझैं पिउनुहुन्छ? 8 जो अधर्म गर्नेहरूसँगको सङ्गतिमा जानुहुन्छ र दुष्‍ट मानिसहरूको साथमा हिँड़्नुहुन्छ। 9 किनकि उहाँले भन्‍नुभएको छ: ‘आफूलाई परमेश्‍वरमा प्रसन्‍न तुल्याउनमा मानिसलाई केही लाभ छैन।’
10 यसकारण, हे समझदार मानिसहरूहो, मेरो कुरा सुन्‍नुहोस्! परमेश्‍वरबाट दुष्‍टता, र सर्वशक्तिमान्‌बाट अधर्म टाढ़ा रहून्! 11 किनकि उहाँले मानिसलाई त्यसको कामको प्रतिफल दिनुहुनेछ, र हरेक मानिसलाई त्यसका चालहरूअनुसार पाउने तुल्याउनुहुनेछ। 12 अँ, निश्‍चय परमेश्‍वरले दुष्‍ट काम गर्नुहुनेछैन, न ता सर्वशक्तिमान्‌ले न्याय बिगार्नुहुनेछ। 13 कसले उहाँलाई पृथ्वीको जिम्मा दियो? अथवा कसले सम्पूर्ण संसार राखिदियो? 14 यदि उहाँले त्यसमाथि आफ्नो मन लगाएर आफ्नो आत्मा र आफ्नो सास आफूकहाँ भेला गर्नुभयो भने 15 सबै प्राणीहरू एकसाथ नाश हुनेछन्, र मानिस माटोमा फर्केर जानेछ।
16 अनि तपाईंसित समझ छ भने यो सुन्‍नुहोस्! मेरा वचनहरूको शब्द ध्यानपूर्वक सुन्‍नुहोस्! 17 जसले न्यायलाई घृणा गर्छ, के त्यसैले शासन गर्ला? अनि के तपाईं सबभन्दा धर्मीलाई नै दोषी ठहराउनुहन्छ? 18 के राजालाई, ‘हे अधम!’ र शासकहरूलाई ‘हे दुष्‍ट!’ भन्‍नु उचित हो? 19 झन् उहाँलाई यसो भन्‍नु कसरी उचित होला, जसले शासकहरूको पक्ष लिनुहुन्‍न, जसले गरिबलाई भन्दा धनीलाई बढ़ी ध्यान दिनुहुन्‍न? किनभने तिनीहरू सबै उहाँका हातको काम हुन्। 20 क्षणभरमै तिनीहरू मर्नेछन्, अनि मध्यरातमा मानिसहरू डगमगाउनेछन् र बितिजानेछन्; अनि हातै नलगाईकन शक्तिशाली मानिस उठाएर लगिनेछन्। 21 किनकि उहाँका आँखाहरू मानिसका चालहरूमाथि लागेका हुन्छन्; र उहाँले त्यसका सबै पाइलाहरू देख्‍नुहुन्छ। 22 यस्तो कुनै अन्धकार र मृत्युको छाया नै छैन, जहाँ अधर्म गर्नेहरूले आफूलाई लुकाउन सक्छन्। 23 किनभने मानिस परमेश्‍वरकहाँ न्यायमा जान सकोस् भनेर उहाँले मानिसमाथि कहिल्यै बढ़ी राख्‍नुहुन्‍न। 24 जाँचपड़तालविना उहाँले शक्तिशालीहरूलाई टुक्रा-टुक्रा पार्नुहुनेछ, र तिनीहरूको सट्टामा अरूलाई नियुक्त गर्नुहुनेछ। 25 यसकारण उहाँले तिनीहरूका कामहरू जान्‍नुहुन्छ र राति तिनीहरूलाई पल्टाउनुहुन्छ, फलस्वरूप तिनीहरू नाश हुन्छन्। 26 उहाँले तिनीहरूलाई अरूले देख्दा-देख्दै दुष्‍ट मानिसहरूलाई झैं प्रहार गर्नुहुन्छ; 27 किनकि तिनीहरू उहाँको पछि लाग्‍नदेखि हटे, र उहाँका मार्गहरूमध्ये कुनैलाई ध्यान दिँदैनन्; 28 यसैकारण तिनीहरूले गरिबको चिच्च्याहट उहाँकहाँ पुग्‍न लगाउँछन्, अनि उहाँले कष्‍टमा पारिएकाहरूको पुकार सुन्‍नुहुन्छ। 29 चाहे एउटा जातिको विरोधमा होस्, चाहे एउटा मानिसको विरोधमा मात्र होस् – जब उहाँले चैन दिनुहुन्छ, तब कसले गड़बड़ी मच्‍चाउन सक्छ? अनि जब उहाँले आफ्नो अनुहार लुकाउनुहुन्छ, तब कसले उहाँलाई देख्‍न सक्छ? 30 यसैले कपटीले राज्य नगरोस्, नत्र मानिसहरू पासाहरूमा पर्छन्।
31 निश्‍चय नै परमेश्‍वरलाई यसो भन्‍नु उचित हो: ‘मैले ताड़ना भोगेको छु, म अब फेरि अपराध गर्नेछैनँ; 32 जे म देख्दिनँ, त्यो तपाईंले मलाई सिकाउनुहोस्; मैले अधर्म गरेको छु भने म फेरि गर्नेछैनँ।’ 33 तपाईंले इन्कार गर्नुभयो भनेर के उहाँले तपाईंकै मनअनुसार यसको बदला दिऊन् त? किनकि तपाईंले चुन्‍नुपर्छ, मैले होइन; यसकारण तपाईं जे जान्‍नुहुन्छ, सो बोल्नुहोस्! 34 समझदार मानिसहरूले मलाई भनून्, र बुद्धिमान् मानिसले मेरो कुरा सुनोस्! 35 अय्यूबले विनाज्ञान बोल्नुभएको छ, अनि उहाँका वचनहरू बुद्धिरहित थिए। 36 अय्यूबको जाँच अन्तसम्मै होस् भन्‍ने मेरो चाहना छ; किनकि उहाँका जवाफहरू दुष्‍ट मानिसहरूका जस्‍ता छन्। 37 किनकि उहाँ आफ्नो पापमाथि विद्रोह थप्‍नुहुन्छ; उहाँ हाम्रो बीचमा ताली बजाउनुहुन्छ र परमेश्‍वरको विरोधमा आफ्ना वचनहरू बढ़ाउनुहुन्छ।”