अय्यूब आफ्नो बिगत अवस्थाको सम्झना गर्छन्
29
तब अय्यूबले आफ्नो दृष्‍टान्‍त अघि बढ़ाएर भने: 2 “बितेका महिनाहरूमा जस्तो, परमेश्‍वरले मलाई सुरक्षित राख्‍नुभएका दिनहरूमा जस्तो मेरो अवस्था भए त! 3 जुन बेला उहाँको बत्ती मेरो शिरमाथि चम्कन्थ्यो, र उहाँको ज्योतिमा म अन्धकारबाट भएर हिँड़्थें; 4 म मेरो जवानीका दिनहरूमा भएझैं, जुन समय परमेश्‍वरको रहस्य मेरो वासस्थानमाथि रहन्थ्यो; 5 जुन बेला सर्वशक्तिमान् मेरै साथमा हुनुहुन्थ्यो, र मेरा छोराछोरीहरू मेरा वरिपरि हुन्थे; 6 जुन समय म मेरा पाइलाहरू मक्खनले धुन्थें, र चट्टानले मेरा निम्ति तेलका नदीहरू बहाउँथ्यो; 7 जुन समय म मूलढोकाबाट भएर शहरमा निस्कन्थें, र सड़कमा आफ्नो आसन तयार पार्थें। 8 जवान मानिसहरूले मलाई देख्थे र आफूलाई लुकाउँथे; अनि वृद्धहरू उठ्थे र खड़ा हुन्थे। 9 शासकहरू बोल्न छोड़्थे र आफ्नो हात आफ्नो मुखमाथि राख्थे। 10 भारदारहरू चुप बस्थे, र तिनीहरूको जिब्रो तिनीहरूको मुखको तालुमा टाँसिन्थ्यो। 11 जब कानले मेरो कुरा सुन्थ्यो, तब त्यसले मलाई धन्यको भन्थ्यो; अनि जब आँखाले मलाई देख्थ्यो, तब त्यसले मेरो विषयमा साक्षी दिन्थ्यो; 12 किनकि मलाई पुकार्ने गरिबलाई, टुहुरा र असहायलाई म छुटकारा दिन्थें। 13 नष्‍ट हुन लागेको व्यक्तिको आशीर्वाद ममाथि आउँथ्यो, अनि म विधवाको हृदयलाई हर्षले गीत गाउने तुल्याउँथें। 14 म धार्मिकता पहिरन्थें, र त्यसले मलाई पहिराइदिन्थ्यो; मेरो न्याय खास्टो र मुकुटसरह हुन्थ्यो। 15 अन्धाका निम्ति म आँखाहरू थिएँ, र लङ्गड़ाका निम्ति म पाउहरू थिएँ। 16 म गरिबहरूका निम्ति बुबा थिएँ; अनि जुन मुद्दा म जान्दिनँथें, त्यसको जाँचपड़ताल म गर्थें। 17 अनि म दुष्‍टका बङ्गाराहरू तोड़्थें र त्यसका दाँतहरूबाट शिकार निकाल्थें। 18 तब मैले भनें: ‘म आफ्नो गुँड़मा मर्नेछु, र मेरा दिनहरू संख्यामा बालुवासरह बढ़ाउनेछु।’ 19 मेरो जरा पानीहरूतिर फैलिएको थियो; र रातभरि शीत मेरो हाँगामाथि खस्थ्यो 20 मेरो महिमा ममा ताजा रहन्थ्यो; मेरो धनु मेरो हातमा नयाँ हुँदै जान्थ्यो। 21 मानिसहरूले आफ्नो कान मतिर लगाउँथे, र पर्खिरहन्थे, अनि मेरो सल्‍लाह सुनेर चुप रहन्थे। 22 मैले बोलेपछि तिनीहरू फेरि बोल्दैनथिए; अनि मेरो वाणी तिनीहरूमाथि टप्कन्थ्यो। 23 वर्षाको आशा गरेझैं तिनीहरू मलाई पर्खन्थे; अनि पछिल्‍लो वर्षाका निम्ति झैं तिनीहरू आफ्नो मुख बाउँथे। 24 मैले तिनीहरूलाई खिसी गरेर हाँसिदिए तापनि तिनीहरू विश्‍वास गर्दैनथिए; अनि मेरो चेहराको ज्योति तिनीहरूले खसाल्दैनथिए। 25 म तिनीहरूको बाटो चुनिदिन्थें, र प्रधान भएर बस्थें; अनि फौजको बीचमा राजाझैं र विलाप गर्नेहरूलाई सान्‍त्‍वना दिनेझैं म रहन्थें।”