अय्यूब आफ्नो इमानदारीलाई पक्रिराख्छन्
27
अनि अय्यूबले आफ्नो दृष्‍टान्‍त अघि बढ़ाएर भने: 2 “परमेश्‍वरको जीवनको शपथ, जसले मेरो न्याय हर्नुभएको छ! साथै सर्वशक्तिमान्‌को नाममा, जसले मेरो प्राण तीतो पार्नुभएको छ! 3 जबसम्म मेरो सास मभित्र रहला र परमेश्‍वरको आत्मा मेरो नाकभित्र रहला, 4 तबसम्म मेरा ओठहरूले दुष्‍ट कुरा बोल्नेछैनन्, न ता मेरो जिब्रोले छलकपटको कुरा गर्ने नै छ। 5 म तिमीहरूलाई निर्दोष ठहऱ्याऊँ – यो मबाट कदापि हुँदैन; मेरो मृत्यु नभएसम्म म आफ्नो ईमानदारी आफूबाट हटाउनेछैनँ। 6 म आफ्नो धार्मिकता बलियो गरी पक्रनेछु र त्यसलाई जान दिनेछैनँ; म बाँचुन्जेल मेरो हृदयले मलाई दोषी ठहऱ्याउनेछैन 7 मेरो शत्रु दुष्‍टसरह, र मेरो विरोधमा उठ्नेचाहिँ अधर्मीसरह ठहरियोस्! 8 किनकि जब परमेश्‍वरले कपटीको प्राण उठाउनुहुन्छ, तब त्यसले लाभै उठाएको भए तापनि त्यसको आशा के हुन्छ र? 9 जब त्यसमाथि सङ्कष्‍ट आइपर्छ, तब के परमेश्‍वरले त्यसको पुकार सुन्‍नुहुनेछ र? 10 के त्यो सर्वशक्तिमान्‌मा मग्‍न हुनेछ र? के त्यसले सधैं परमेश्‍वरलाई पुकार्नेछ र?
11 परमेश्‍वरको हातद्वारा म तिमीहरूलाई सिकाउनेछु; सर्वशक्तिमान्‌को साथमा जे छ, त्यो म लुकाउनेछैनँ। 12 हेर, तिमीहरू सबैजनाले आफैले त्यो देखेका छौ, तब किन तिमीहरू यसरी बिलकुलै व्यर्थका हुन्‍छौ? 13 परमेश्‍वरसित दुष्‍ट मानिसको भाग र थिचोमिचो गर्नेहरूले सर्वशक्तिमान्‌बाट पाउने तिनीहरूको पैतृक सम्पत्ति यही हो: 14 त्यसका छोराछोरीहरू संख्यामा बढ़े तापनि यो तरवारका निम्ति मात्र हो; अनि त्यसका सन्तानहरू रोटीले तृप्‍त हुनेछैनन्। 15 त्यसका बाँकी रहेकाहरू पनि मृत्युको कारण गाड़िनेछन्, र त्यसका विधवाहरू रुनेछैनन्। 16 त्यसले चाँदी धूलासरह थुपारे पनि, माटोसरह वस्त्र तयार गरे तापनि – 17 त्यसले तयार त पार्ला, तर धर्मी जनले त्यो पहिरनेछ, र निर्दोषले चाँदी बाँड़चुँड़ गर्नेछ। 18 त्यसले आफ्नो घर पुतलीले जस्तो र पालेले बनाएको छाप्रोजस्तो बनाउँछ। 19 धनी मानिस लेट्नेछ, तर त्यो बटुलिनेछैन; त्यसले आफ्ना आँखाहरू खोल्छ, र त्यो हुँदैन। 20 आतङ्कहरूले त्यसलाई बाढ़ले झैं फेला पार्छ; आँधीले त्यसलाई राति उड़ाएर लैजान्छ। 21 पूर्वीय हावाले त्यसलाई उठाएर लैजान्छ, र त्यो गइहाल्छ, अनि आँधीले झैं यसले त्यसलाई त्यसको ठाउँबाट हुत्त्याएर लैजान्छ। 22 किनकि परमेश्‍वरले त्यसमाथि विपत्ति फ्याँक्नुहुनेछ र छोड़्नुहुनेछैन; भाग्‍न पाए त त्यो उहाँको हातबाट अवश्य भाग्‍नेथियो। 23 मानिसहरूले त्यसलाई देखेर ताली बजाउनेछन्, र त्यसलाई खिसी गरेर त्यसको ठाउँबाट हटाउनेछन्।”