अय्यूब बिल्ददलाई यसको विषयमा जवाफ दिन्छन्
26
तर अय्यूबले जवाफ दिएर भने: 2 “कसरी तिमीले शक्तहीनलाई सहायता गरेका छौ? कसरी तिमीले बलहीन पाखुरालाई बचाएका छौ? 3 कसरी तिमीले निर्बुद्धिलाई सल्‍लाह दिएका छौ? अनि कसरी तिमीले प्रशस्त गरी खाँटी बुद्धि जनाएका छौ? 4 कससित तिमीले वचनहरू बोलेका छौ? र कसको आत्मा तिमीबाट निस्केर आयो?
5 पानीमुनि ती मृतकहरू र त्यसका बासिन्दाहरू थरथर काम्छन् 6 उहाँको सामु अधोलोक नाङ्गो छ, र विनाशको ओढ़्ने छैन। 7 उहाँले उत्तर दिशालाई शून्य ठाउँमाथि फैलाउनुहुन्छ र पृथ्वीलाई चाहिँ शून्यमा झुन्ड्याउनुहुन्छ। 8 उहाँले पानी आफ्नो बाक्ला बादलहरूभित्र बाँध्‍नुहुन्छ; अनि त्यसको भारले बादल च्यातिँदैन। 9 उहाँले आफ्नो सिंहासनको मोहड़ा ढाक्नुहुन्छ र त्यसमाथि आफ्नो बादल फैलाउनुहुन्छ। 10 ज्योति र अन्धकारको सिमानासम्म पानीको सतहमाथि उहाँले एउटा गोलाकार परिधि ठहराउनुभएको छ। 11 उहाँको हप्कीले आकाशका खाँबाहरू काम्छन् र चकित हुन्छन्। 12 उहाँले आफ्नो सामर्थ्यले समुद्रलाई विभाजन गर्नुहुन्छ र आफ्नो समझले घमण्डीलाई हिर्काउनुहुन्छ। 13 आफ्नो आत्माद्वारा उहाँले आकाश सिँगार्नुभएको हो; उहाँको हातले बाङ्गोटिङ्गो साँप रच्‍नुभएको हो। 14 हेर, यी कुराहरू त उहाँका मार्गहरूका छेउहरू मात्र हुन्; तर उहाँको विषयमा एउटा छनक मात्र सुनिएको छ; तर उहाँको सामर्थ्यको गर्जन कसले बुझ्न सक्छ र?”