बिल्ददको तेस्रो जवाफ: मानिस कसरी धर्मी हुन सक्छ?
25
तब शूही बिल्ददले जवाफ दिएर भने: 2 “प्रभुत्व र डर उहाँसँगै छन्; उहाँले आफ्ना उच्‍च स्थानहरूमा शान्ति स्थापित गर्नुहुन्छ। 3 के उहाँका सेनाहरूको संख्या छ र? अनि कसमाथि उहाँको ज्योति उदाउँदैन र? 4 तब परमेश्‍वरको दृष्‍टिमा मानिस कसरी धर्मी ठहरिन सक्छ र? अथवा स्त्रीबाट जन्मेकोचाहिँ कसरी शुद्ध हुन सक्छ र? 5 चन्द्रमातिर पनि हेर! र त्यो चहकिलो छैन; अँ, ताराहरू पनि उहाँको दृष्‍टिमा शुद्ध छैनन्; 6 तब मानिस झन् कति कम शुद्ध होला, जो एउटा औंसा हो; अनि आदमको सन्तान, जो एउटा कीरा हो?”