अय्यूब आफ्नो मुद्दा परमेश्‍वरको अदालतमा पेस गर्न चाहन्छन्
23
तब अय्यूबले जवाफ दिएर भने: 2 “आज पनि मेरो दुखेसो तीतो छ; मेरो चोट मेरो सुस्केराभन्दा गह्रौं छ। 3 म उहाँलाई कहाँ भेट्टाउन सक्छु, सो मलाई थाहा भए त म उहाँको आसनको सामु हाजिर हुनेथिएँ!! 4 म उहाँको सामु आफ्नो मुद्दा पेस गर्नेथिएँ र आफ्नो मुख तर्कहरूले भर्नेथिएँ। 5 म ती शब्दहरू जान्‍नेथिएँ, जससित उहाँले मलाई जवाफ दिनुहुन्छ, र उहाँले मलाई के भन्‍नुहुन्छ, सो म बुझ्नेथिएँ। 6 के आफ्नो ठूलो शक्ति लिएर उहाँ मसँग मुद्दा लड़्नुहुनेछ र? होइन; तर उहाँले त मप्रति ध्यान पो दिनुहुनेथियो। 7 त्यहाँ धर्मी जनले उहाँसँग तर्क गर्छ, र म आफ्नो न्यायकर्ताबाट सदाका निम्ति छुटकारा पाउनेछु। 8 हेर, म अघि बढ़्छु, तर उहाँ त्यहाँ हुनुहुन्‍न; अनि पछि सर्छु, तर म उहाँलाई थाहा पाउन सक्तिनँ; 9 देब्रे हातपट्टि, जहाँ उहाँ काम गर्नुहुन्छ, तर म उहाँलाई देख्‍न सक्दिनँ; उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ, तर म उहाँलाई देख्‍न सक्दिनँ।
10 तर उहाँले मेरो चालचलन जान्‍नुहुन्छ; जब उहाँले मलाई जाँच्‍नुहुन्छ, तब म सुनजस्तो भई निस्कनेछु। 11 मेरो पाउ उहाँका पाइलाहरूको साथ लागेको छ; उहाँको मार्ग मैले पक्रेको छु, र यताउता लागेको छैनँ; 12 न ता उहाँका ओठका आज्ञाहरूबाट म पछि हटेको छु; मैले उहाँको मुखका वचनहरूलाई मेरो आवश्यक भोजनभन्दा बढ़ी मूल्यवान् ठानेको छु। 13 तर उहाँ एउटै मनको हुनुहुन्छ; अनि कसले उहाँलाई फर्काउन सक्छ? उहाँको मनले जे चाहना गर्छ, त्यही नै उहाँ गर्नुहुन्छ। 14 किनकि मेरा निम्ति जे कुरा ठहराइएको छ, त्यही कुरा उहाँले पूरा गर्नुहुन्छ; अनि उहाँसँग यस्ता धेरै कुराहरू छन्। 15 यसैकारण उहाँको उपस्थितिमा म विचलित हुन्छु; जब म विचार गर्छु, तब म उहाँसँग डराउँछु। 16 किनकि परमेश्‍वरले मेरो हृदय कोमल बनाउनुहुन्छ; अनि सर्वशक्तिमान्‌ले मलाई व्याकुल पार्नुहुन्छ; 17 किनकि अन्धकारभन्दा पहिले म नष्‍ट भइनँ, न ता उहाँले अन्धकारलाई मेरो सामुबाट ढाक्नुभएको छ।”