एलिपजको तेस्रो जवाफ: अय्यूब दुष्ट छन्, र परमेश्वरकहाँ फर्कनुपर्छ
22
तब तेमानी एलिपजले जवाफ दिएर भने: 2 “जसरी बुद्धिमान् मानिस आफ्ना निम्ति लाभदायक हुन्छ, के त्यसरी नै मानिस परमेश्वरका निम्ति लाभदायक हुन सक्छ र? 3 तिमी धर्मी भएकोमा के सर्वशक्तिमान्लाई कुनै आनन्द होला? अथवा तिमीले आफ्ना चालहरू सिद्ध बनाएकोले के उहाँलाई केही फाइदा होला? 4 के तिम्रो डरको कारणले उहाँले तिमीलाई हप्काउनुहुनेछ र? के उहाँ तिमीसित मुद्दा लड़्नुहुनेछ र? 5 के तिम्रो दुष्टता ठूलो छैन र? अनि तिम्रा अधर्महरू असीमित छैनन् र? 6 किनकि तिमीले विनाकारण आफ्नो भाइबाट बन्धक लिएका छौ, र नाङ्गाहरूको वस्त्र उतारिदिएका छौ। 7 तिमीले तिर्खाएकोलाई पिउनका निम्ति पानी दिएका छैनौ, र भोकाएकोदेखि रोटी रोकेर राकेका छौ। 8 तर शक्तिशालीक मान्छेचाहिँ – पृथ्वी त्यसैको हो; अनि आदरणीय मानिस त्यसमा बस्छन्। 9 तिमीले विधवाहरूलाई रित्तै हात पठाएका छौ, र टुहुराहरूकाख पाखुराहरू भाँचिएका छन्। 10 यसैकारण तिम्रो चारैतिर पासाहरू छन्, र अचानक आइपर्ने डरले तिमीलाई व्याकुल पार्छ, 11 वा अन्धकारले, जसमा तिमीले देख्न सक्दैनौ; अनि प्रशस्त पानीले तिमीलाई ढाक्छ।12 के परमेश्वर स्वर्गको उचाइमा हुनुहुन्न र? अनि ताराहरूको उचाइ हेर, ती कति उच्च छन्!! 13 अनि तिमी भन्छौ: ‘परमेश्वरले कसरी जान्नुहुन्छ र? के उहाँले घोर अन्धकारको बीचबाट न्याय गर्न सक्नुहुन्छ र? 14 बाक्ला बादलहरू उहाँको घुम्टो हुन्, र उहाँले देख्नुहुन्न; अनि उहाँ आकाशको गोलाकार परिधिमा हिँड़्नुहुन्छ।’ 15 के तिमीले दुष्ट मानिसहरू हिँड़ेको त्यो पुरानो बाटोलाई ख्याल गरेका छौ, 16 जो समय नपुगीकनै नष्ट भए, जसको जग बाढ़ले बगाइदियो? 17 जसले परमेश्वरलाई भन्थे: ‘हामीबाट गइहाल्नुहोस्!’ अनि सर्वशक्तिमान्ले तिनीहरूका निम्ति के गर्न सक्नुहुन्छ र? 18 तापनि उहाँले नै तिनीहरूका घरहरू असल कुराहरूले भर्नुभयो; तर दुष्टहरूको सल्लाह मदेखि टाढ़ा छ। 19 धर्मी जनहरू यो देखेर आनन्दित हुन्छन्; अनि निर्दोषहरू तिनीहरूलाई यसो भन्दै खिसी गरेर हाँस्छन्: 20 ‘साँच्चै हाम्रो विरोधमा उठ्नेहरू नष्ट भए, र तिनीहरूको बाँकी भाग आगोले भस्म पारेको छ।’
21 अब उहाँसित आफूलाई परिचित गराऊ, र मेलमिलापमा बस; यी कुराद्वारा तिमीकहाँ भलाइ आउनेछ। 22 म तिमीलाई विन्ती गर्दछु, उहाँको मुखबाट व्यवस्था ग्रहण गर, र उहाँका वचनहरू आफ्नो हृदयमा राख! 23 तिमी सर्वशक्तिमान्कहाँ फर्क्यौ भने तिमी बनिनेछौ; तिमीले आफ्ना वासस्थानहरूबाट अधर्म टाढ़ा राख्नेछौ; 24 तब तिमीले सुन धूलोमा, र ओपिरको सुन खोलाहरूका ढुङ्गाहरूको बीचमा राख्नेछौ। 25 अँ, तब सर्वशक्तिमान् नै तिम्रो सुन र तिम्रा निम्ति बहुमूल्य चाँदी हुनुहुनेछ। 26 किनकि तब तिमी सर्वशक्तिमान्मा मग्न हुनेछौ, र आफ्नो चेहरा परमेश्वरकहाँ उठाउनेछौ। 27 तिमीले उहाँलाई प्रार्थना चढ़ाउनेछौ, र उहाँले तिम्रो विन्ती सुन्नुहुनेछ; अनि तिमीले आफ्ना भाकलहरू पूरा गर्नेछौ। 28 अनि तिमीले कुनै कुरा गर्ने निर्णय गर्नेछौ, र त्यो तिम्रा निम्ति पूरा हुनेछ; अनि तिम्रा बाटाहरूमा ज्योति चम्किनेछ। 29 जब मानिसहरूलेग होच्याउँछन्, तब तिमीले भन्नेछौ: ‘उत्थान छ’; अनि उहाँले नम्र जनलाई बचाउनुहुनेछ। 30 उहाँले निर्दोषको टापुलाई छुटकारा दिनुहुनेछ; अनि त्यो तिम्रा हातहरूको शुद्धताद्वारा छुटाइनेछ।”