यसमा अय्यूबको जवाफ: दुष्‍टको सफलता
21
तब अय्यूबले जवाफ दिएर भने: 2 “मेरो कुरा निश्‍चय सुन, र यो तिमीहरूका सान्‍त्‍वनाहरू बनोस्! 3 मलाई सहिदेओ, र म बोल्न पाऊँ; अनि मैले बोलिसकेपछि खिसी गरिरहो! 4 मचाहिँ – के मेरो दुखेसो मानिससित छ र? अनि त्यसो हो भने, मेरो आत्मा किन विचलित नहोस् त? 5 मतिर हेर, अवाक् होओ र आफ्नो हात आफ्नो मुखमाथि राख!
6 सम्झँदा पनि म व्याकुल हुन्छु, र थरथराहटले मेरो शरीर पक्रन्छ 7 दुष्‍टहरू किन बाँचिरहन्छन्, वृद्ध हुन्छन्, अँ, सामर्थ्यमा शक्तिशाली हुन्छन्? 8 तिनीहरूसितै तिनीहरूको दृष्‍टिको सामु तिनीहरूको वंश र तिनीहरूका आँखाको सामु तिनीहरूका सन्तान सुदृढ़ हुन्छन्। 9 तिनीहरूका घरहरू डरदेखि सुरक्षित छन्, न ता परमेश्‍वरको डण्डा तिनीहरूमाथि आइपर्छ। 10 तिनीहरूको गोरुले गाभिनी तुल्याउँछ, र चुक्दैन; तिनीहरूको गाईले बियाउँछ र तुहाउँदैन। 11 तिनीहरूले आफ्ना ससाना केटाकेटीहरूलाई भेड़ाको बगाललाई झैं बाहिर पठाउँछन्, र तिनीहरूका छोराछोरीहरू नाच्छन्। 12 तिनीहरू खैजड़ी र वीणा लिन्छन् र बाँसुरीको धुनमा रमाउँछन्। 13 तिनीहरू आफ्ना दिनहरू फलिफापमा बिताउँछन्, र क्षणभरमा तल चिहानमा जान्छन्। 14 यसैकारण तिनीहरूले परमेश्‍वरलाई भन्छन्: ‘हामीबाट गइहाल्नुहोस्; किनकि तपाईंका मार्गहरूको ज्ञान हामी चाहना गर्दैनौं। 15 सर्वशक्तिमान् को हुनुहुन्छ, र हामीले उहाँको सेवा गरौं! अनि हामीले उहाँलाई प्रार्थना गर्‍यौं भने पनि हामीलाई के लाभ हुन्छ र?’ 16 हेर, तिनीहरूको भलाइ तिनीहरूको हातमा छैन; दुष्‍टहरूको सल्‍लाह मदेखि टाढ़ो छ।
17 कतिपल्ट दुष्‍टहरूको बत्ती निभ्छ! कतिपल्ट तिनीहरूको विनाश तिनीहरूमाथि आइपर्छ! परमेश्‍वरले आफ्नो रिसमा दु:खकष्‍टहरू बाँड़्नुहुन्छ। 18 तिनीहरू हावाबतासको सामु नलका ठुटाजस्ता, र आँधीले उड़ाएर लगिने भुसजस्ता छन्। 19 परमेश्‍वरले त्यसको अधर्म त्यसका छोराछोरीहरूका निम्ति साँचिराख्‍नुहुन्छ; परमेश्‍वरले त्यसलाई बदला दिनुहुन्छ, र त्यसले त्यो जान्‍नेछ। 20 त्यसका आँखाहरूले आफ्नो विनाश देख्‍नेछन्, र त्यसले सर्वशक्तिमान्‌को क्रोधबाट पिउनेछ। 21 किनकि आफूपछि त्यसलाई आफ्नो घरमा के आनन्द हुन्छ र, जब त्यसका महिनाहरूको गन्ती बीचैमा काटिन्छ?
22 के कसैले परमेश्‍वरलाई, जसले उच्‍च पदमा हुनेहरूको न्याय गर्नुहुन्छ, ज्ञान सिकाउन सक्ला? 23 एकजनाचाहिँ पूर्ण रूपले सुरक्षित र चैनमा रहेर आफ्नो पूरा बल हुँदा मर्छ। 24 त्यसका स्तनहरू दूधले भरिएका हुन्छन्; त्यसका हड्डीहरू मासीले सिँचिएका छन्। 25 अनि अर्कोचाहिँ आफ्नो प्राणको तीतोपनामा मर्छ, र आनन्दसँग कहिल्यै खाँदैन। 26 तिनीहरू एकसाथ धूलोमा पड़िरहन्छन्, र कीराहरूले तिनीहरूलाई ढाक्नेछन्।
27 हेर, तिमीहरूका विचारहरू र तिमीहरूले मेरो विरोधमा अन्यायपूर्वक रचेका युक्तिहरू म जान्दछु। 28 किनकि तिमीहरू भन्दछौ: ‘शासकको घर कहाँ छ? त्यो वासस्थान, दुष्‍टहरूका ती बस्‍ने ठाउँहरू कहाँ छन्?’ 29 के तिमीहरूले त्यहाँबाट भएर जानेहरूलाई सोधेका छैनौ? अनि के तिमीहरू तिनीहरूका चिन्हहरू जान्दैनौ, 30 कि दुष्‍टचाहिँ विनाशका दिनका निम्ति साँचिएको छ? तिनीहरू क्रोधको दिनका निम्ति ल्याइपुर्‍याइनेछन्। 31 कसले त्यसको मुखैमा त्यसको चाल बताउन सक्ला र? अनि कसले त्यसलाई त्यसले गरेको कामको बदला दिन सक्ला र? 32 तरै पनि त्यो चिहानहरूमा ल्याइपुर्‍याइनेछ, र कबरभित्र रहनेछ। 33 बेंसीका माटोका डल्‍लाहरू त्यसका निम्ति मीठा हुनेछन्, अनि हरेक मानिस त्यसको पछि लाग्‍नेछ, जसरी अनगन्ती मानिसहरू त्यसको अघि लागेका थिए। 34 तब कसरी तिमीहरू मलाई व्यर्थमा सान्‍त्‍वना दिन्छौ? किनकि तिमीहरूका जवाफहरूमा झूट मात्र पाइन्छ।”