सोपरको दोस्रो जवाफ: दुष्‍ट मानिसको भाग यही हो!
20
तब नामाती सोपरले जवाफ दिएर भने: 2 “यसैकारण मेरा विचारहरूले मलाई जवाफ दिन लगाउँछन्; अनि यही कारणले मभित्र मलाई आतुरी लागेको छ। 3 मैले मेरो निन्दा गर्ने हप्की सुनेको छु, र मेरो समझको आत्माले मलाई जवाफ दिन लगाउँछ।
4 के तिमीले प्राचीनकालदेखिको, पृथ्वीमाथि मानिस बसालिएको समयदेखिको यो कुरा जान्दैनौ र, 5 कि दुष्‍टहरूको उल्‍लास छोटो, र कपटीको आनन्द क्षणभरको हुन्छ? 6 त्यसको महान्‌ता आकाशसम्म पुगे तापनि र त्यसको शिरले बादललाई छोए तापनि 7 त्यो आफ्नै मलजस्तै सदाका निम्ति नाश हुनेछ; त्यसलाई देख्‍नेहरूले भन्‍नेछन्: ‘खोइ, त्यो कहाँ छ?’ 8 त्यो स्‍वप्‍नझैं उड़ेर जानेछ, र त्यो भेट्टाइनेछैन; अँ, रातको दर्शनजस्तै त्यो लखेटिनेछ। 9 अनि जुन आँखाले त्यसलाई देखेको थियो, यसले त्यसलाई फेरि देख्‍नेछैन; न ता त्यसको ठाउँले त्यसलाई फेरि देख्‍नेछ। 10 त्यसका छोराछोरीहरूले गरिबहरूबाट कृपा पाउन खोज्‍नेछन्, र त्यसका हातहरूले तिनीहरूको सम्पत्ति फर्काउनेछन्। 11 त्यसका हड्डीहरू त्यसको जवानीको बलले भरिएका हुन्छन्; ती पनि त्योसँगै धूलोमा पड़िरहनेछन्।
12 दुष्‍टता त्यसको मुखमा मीठो लागे तापनि, यसलाई त्यसले आफ्नो जिब्रोमुनि लुकाए तापनि, 13 त्यसले यसलाई जोगाइराखे तापनि, यसलाई नत्यागे तापनि, तर यसलाई अझै आफ्नो मुखभित्र राखे तापनि, 14 त्यसको भोजन त्यसको पेटमा बदली हुनेछ; यो त्यसभित्र साँभे साँपहरूको पित्त बन्‍नेछ। 15 त्यसले धनसम्पत्ति निलेको छ, तर त्यसले तिनलाई फेरि उकेल्नेछ; परमेश्‍वरले तिनलाई त्यसको पेटबाट निकाल्नुहुनेछ। 16 त्यसले साँभे साँपहरूको विष चुस्‍नेछ; विषालु साँपको जिब्रोले त्यसलाई मार्नेछ। 17 त्यसले मह र मक्खनका नदीहरू, अँ, खोलाहरू र खोल्साहरू देख्‍नेछैन। 18 जुन कुराका निम्ति त्यसले परिश्रम गर्‍यो, यो त्यसले फर्काउनेछ र यसलाई निल्नेछैन; अँ, त्यसले प्राप्‍त गरेको सम्पत्तिअनुसार त्यसले आनन्द लिन पाउनेछैन। 19 त्यसले गरिबहरूलाई थिचोमिचो गरेको र त्यागेको हुनाले, त्यसले आफूले नबनाएको घर जबरजस्ती खोसेको हुनाले, 20 निश्‍चय नै त्यसले आफ्नो पेटमा चैन थाहा गर्नेछैन; त्यसले आफूले चाहना गरेको कुरा बचाउनेछैन। 21 त्यसको खानेकुराबाट केही बाँकी रहनेछैन; यसकारण त्यसको सम्पत्ति स्थायी हुनेछैन। 22 त्यसको प्रशस्तताको भरपूरी हुँदा नै त्यो कठिनाइमा पर्नेछ; कष्‍टमा परेको हरेक मानिसको हात त्यसमाथि आइपर्नेछ। 23 जब त्यसले आफ्नो पेट भर्न लागेको हुन्छ, तब परमेश्‍वरले आफ्नो भयङ्कर क्रोध त्यसमाथि खन्याउनुहुनेछ, र त्यसले खाँदै गर्दा यो त्यसमाथि बर्साउनुहुनेछ। 24 फलामको हतियारदेखि त्यो भाग्‍नेछ, तर पित्तलको धनुले त्यसलाई छेंड़्नेछ। 25 कसैले तरवार झिक्छ, र त्यो त्यसको पिठ्यूँबाट निस्किन्छ; अँ, टलक्‍क टल्किने तरवार त्यसको पित्तबाट निस्कन्छ; आतङ्कहरू त्यसमाथि आइपर्छन्। 26 त्यसका गुप्‍त स्थानहरूमा सारा अन्धकार लुकाएर राखिनेछ; नफुकिएको आगोले त्यसलाई भस्म पार्नेछ; त्यसको वासस्थानमा जो बाँकी रहेको छ, त्यसको खराबी हुनेछ। 27 आकाशले त्यसको अधर्म प्रकट गर्नेछ, र पृथ्वी त्यसको विरोधमा उठ्नेछ। 28 त्यसको घरको उब्जनी उड़िजानेछ र उहाँको क्रोधको दिनमा त्यसको सम्पत्ति बगिजानेछ। 29 दुष्‍ट मानिसका निम्ति परमेश्‍वरबाटको भाग र परमेश्‍वरबाट त्यसका निम्ति खटाइएको हकको सम्पत्ति यही हो।”