अय्यूबले बिल्ददको कुराको खण्डन गर्छन्
19
तब अय्यूबले जवाफ दिएर भने: 2 “कहिलेसम्म तिमीहरू मेरो प्राणलाई शोकित तुल्याउँछौ र आफ्ना वचनहरूले मलाई टुक्रा-टुक्रा पार्छौ? 3 यी दसपल्ट तिमीहरूले मेरो निन्दा गर्‍यौ; तिमीहरू मप्रति कठोर बनेकोमा तिमीहरूलाई शर्म लाग्दैन। 4 अनि मैले साँच्‍चै बिराएको भए तापनि मेरो भूल मसँगै रहन्छ। 5 यदि साँच्‍चै तिमीहरू मेरो विरोधमा आफ्नो बढ़ाइ गर्छौ, र मेरो विरोधमा दोष देखाएर मेरो निन्दा गर्छौ भने, 6 अब यो जान: परमेश्‍वरले नै मलाई पछार्नुभएको हो, र आफ्नो जालले मलाई चारैतिरबाट घेर्नुभएको हो।
7 हेर, म अन्याय! भन्दै कराउँछु, तर मेरो सुनिँदैन; म जोड़ले चिच्च्याउँछु, तर न्याय हुँदैन। 8 म नाघ्‍न नसकूँ भनेर उहाँले मेरो मार्ग बार्नुभएको छ; अनि मेरा बाटाहरूमा उहाँले अन्धकार राख्‍नुभएको छ। 9 उहाँले मबाट मेरो महिमा उतारिदिनुभएको छ, र मेरो शिरबाट मुकुट हटाइदिनुभएको छ। 10 उहाँले मलाई चारैतिरबाट तोड़्नुभएको छ, र म बितें; अनि उहाँले मेरो आशा एउटा रूखझैं उखाल्नुभएको छ। 11 अनि उहाँले मेरो विरोधमा आफ्नो क्रोध दन्काउनुभएको छ; अनि उहाँले आफ्ना निम्ति मलाई आफ्ना शत्रुहरूमध्ये एउटा ठान्‍नुभएको छ। 12 उहाँका फौजहरू एकसाथ आइलाग्छन्, मेरो विरोधमा आफ्नो बाटो खड़ा गर्छन् र मेरो वासस्थानको वरिपरि छाउनी हाल्छन्। 13 उहाँले मेरा दाजुभाइहरूलाई मदेखि टाढ़ा राख्‍नुभएको छ, र मेरा चिनारुहरू मबाट बिलकुलै बिराना भएका छन्। 14 मेरा आफन्तहरूले मलाई त्यागेका छन्, र परिचित साथीहरूले मलाई बिर्सेका छन्। 15 मेरो घरमा बस्‍नेहरू र मेरा दासीहरूले मलाई बिराना ठान्छन्; तिनीहरूको दृष्‍टिमा म परदेशी भएको छु। 16 मैले आफ्नो नोकरलाई बोलाएँ, तर त्यसले मलाई जवाफै दिएन; मैले आफ्नै मुखले त्यसलाई विन्‍ती चढ़ाएँ। 17 मेरी पत्‍नीका निम्ति मेरो सास बिरानो भएको छ, र आफ्‍नै शरीरका छोराछोरीहरूका निम्ति म गन्‍धे भएको छु। 18 अँ, ससाना केटाकेटीहरूले पनि मलाई तुच्छ ठाने; म उठें, र तिनीहरूले मेरो विरोधमा बोले। 19 मेरा सबै हितैषी साथीहरूले मलाई घृणा गरे; अनि जसलाई मैले प्रेम गरें, तिनीहरू मेरो विरोधमा उठे। 20 मेरो हड्डी मेरो छाला र मेरो मासुमा टाँसिन्छ; अनि म आफ्‍नो दाँतको छालासित उम्कें।
21 हे मेरा साथीहरूहो, मलाई टिठाओ! मलाई टिठाओ; किनकि परमेश्‍वरको हातले मलाई छोएको छ। 22 तिमीहरूले किन मलाई परमेश्‍वरले झैं सताउँछौ, र किन मेरो मासुसँग सन्तुष्‍ट हुँदैनौ? 23 मेरा शब्दहरू अहिले लेखिएका भए त! ती एउटा पुस्तकमा छापिएको भए त! 24 ती सधैंका निम्ति चट्टानमा फलामको कलम र सीसाले खोपिएको भए त!
25 किनकि म जान्दछु, मेरा उद्धारक जीवित हुनुहुन्छ, अनि पछिल्‍लो दिनमा उहाँ पृथ्वीमाथि उभिनुहुनेछ; 26 अनि औंसाहरूले मेरो छालापछि यो शरीर नाश गरे तापनि म मेरो शरीरमा परमेश्‍वरलाई देख्‍नेछु। 27 उहाँलाई म आफैले देख्‍नेछु; अनि मेरा आँखाहरूले उहाँलाई देख्‍नेछन्, अरूले होइन; मेरो अन्तस्करण मेरो छातीभित्र बिलेर गए तापनि। 28 तर यस कुराको जरा त ममा फेला पर्‍यो भनी जानेर तिमीहरूले भन्‍नुपर्थ्यो: ‘हामी उसलाई किन सताउँछौं?’ 29 तरवारदेखि भयभीत होओ; किनकि क्रोधले तरवारका दण्डहरू ल्याउँछ, जसद्वारा न्याय रहेछ भनी तिमीहरूले जान्‍न सक।”