बिल्ददको दोस्रो जवाफ: पापीको भाग यस्तै हो!
18
तब शूही बिल्ददले जवाफ दिएर भने: 2 “कहिलेसम्म तिमीहरू वचनहरू अन्त गर्दैनौ? बुझ्ने होओ! तब हामी बोल्नेछौं। 3 किन हामी पशुसमान गनिएका छौं, र तिमीहरूको दृष्‍टिमा अशुद्ध ठहरिएका छौं? 4 उसले आफ्नो रिसमा आफैलाई च्यातचुत पार्छ; के तिम्रा निम्ति पृथ्वी त्यागियोस्, र चट्टान आफ्नो ठाउँबाट हटाइयोस्?
5 अँ, दुष्‍टहरूको ज्योति निभ्नेछ, र त्यसको आगाको झिल्का चम्किनेछैन। 6 त्यसको वासस्थानमा ज्योति अँध्यारो हुनेछ, र त्यसमाथि त्यसको बत्ती निभ्नेछ। 7 त्यसको बलका कदमहरू साँघुरिनेछन्, र त्यसको सल्‍लाहले त्यसलाई पछार्नेछ। 8 किनभने आफ्नै खुट्टाले त्यो जालभित्र फालिन्छ र त्यसले धरापमाथि टेक्छ। 9 पासोले त्यसलाई कुर्कुच्‍चामा पक्रनेछ र डाँकू त्यसमाथि प्रबल हुनेछ। 10 त्यसका निम्ति भुइँमा एउटा डोरी थापिएको छ, त्यसका निम्ति बाटोमा एउटा पासो लुकाएर राखिएको छ। 11 चारैतिर आतङ्कहरूले त्यसलाई भयभीत पार्नेछन्, र त्यसलाई कदम-कदममा खेद्‍नेछ। 12 त्यसको बल भोकले खाइसकेको हुनेछ, र त्यसको छेउमा विनाश तयार रहनेछ। 13 यसले त्यसको छालाको बल निलिदिनेछ; अँ, मृत्युको जेठा छोराले त्यसको बल निलिदिनेछ। 14 त्यसको वासस्थानबाट त्यसको भरोसा उखालिनेछ; अनि यसले त्यसलाई आतङ्कहरूको राजाकहाँ पुर्‍याउनेछ। 15 जो त्यसको कोही होइन, उसैले त्यसको वासस्थानमा वास गर्नेछ; त्यसको वासस्थानमाथि गन्धक छरिनेछ। 16 मुन्तिरबाट त्यसको जरा सुक्नेछ, मास्तिरबाट त्यसको हाँगा काटिनेछ। 17 पृथ्वीबाट त्यसको सम्झना नाश हुनेछ, र सड़कमा त्यसको नामनिसान हुनेछैन। 18 त्यो ज्योतिबाट अन्धकारभित्र धपाइनेछ, र संसारबाट लखेटिनेछ। 19 त्यसका मानिसहरूको बीचमा त्यसको न छोरा न भतिजा रहनेछ, न ता त्यसका वासस्थानहरूमा कोही बाँकी रहनेछ। 20 त्यसको अघि गएकाहरू जसरी भयभीत पारिएका थिए, त्यसरी नै त्यसको पछि आउनेहरू त्यसको दिनमा अवाक् हुनेछन्। 21 साँच्‍चै दुष्‍टका वासस्थानहरू यस्तै हुन्छन्; परमेश्‍वरलाई नचिन्‍ने मान्छेको ठाउँ यही हो।”