अय्यूब आफ्ना तीनजना साथीहरूलाई जवाफ दिन्छन्
16
तब अय्यूबले जवाफ दिएर भने: 2 “मैले यस्ता धेरै कुराहरू सुनेको छु; तिमीहरू सबै दु:खदायी सान्‍त्‍वना दिनेहरू हौ। 3 के व्यर्थका कुराहरूको अन्त हुनेछ र? अथवा तिमीलाई केले साहसी तुल्याउँछ, कि तिमी जवाफ दिन्छौ? 4 जसरी तिमीहरू बोल्छौ, त्यसरी नै म पनि बोल्न सक्नेथिएँ; मेरो प्राणको ठाउँमा तिमीहरूको प्राण हुँदो हो त म पनि तिमीहरूको विरोधमा शब्दहरूको थुप्रो लाउन सक्नेथिएँ, र तिमीहरूको विरोधमा टाउको हल्‍लाउनेथिएँ। 5 तर मैले आफ्नो मुखले तिमीहरूलाई बलियो तुल्याउनेथिएँ, र मेरा ओठहरूको चलाइले तिमीहरूको दुःख घटाउनेथियो।
6 मैले बोले तापनि मेरो पीड़ा घट्दैन; अनि म बोल्न छोड़े पनि के मलाई आराम हुन्छ र? 7 तर अहिले उहाँले मलाई थकित पार्नुभएको छ; तपाईंले मेरो सारा साथी-दललाई उजाड़ पार्नुभएको छ। 8 अनि तपाईंले मलाई चाउरी नै चाउरीले भर्नुभएको छ; त्यही नै मेरो विरोधमा साक्षी हो; अनि ममा आएको मेरो दुबलोपनाले मेरो मुखैमा साक्षी दिन्छ। 9 उहाँले मलाई आफ्नो क्रोधमा धुजा-धुजा पार्नुहुन्छ र मलाई घृणा गर्नुहुन्छ; उहाँले मेरो विरोधमा आफ्ना दाँत किट्नुहुन्छ; मेरा शत्रुले झैं उहाँले आफ्ना आँखा तीखो पारेर मलाई हेर्नुहुन्छ। 10 तिनीहरूले मेरो विरोधमा आफ्नो मुख बाए; तिनीहरूले निन्दा गरेर मलाई गालामा हिर्काए; तिनीहरू मेरो विरोधमा एकसाथ भेला भए। 11 परमेश्‍वरले मलाई भक्तिहीनको हातमा सुम्पिदिनुभएको छ र मलाई दुष्‍टहरूको हातमा पारिदिनुभएको छ। 12 म आराममा थिएँ, तर उहाँले मलाई तोड़्नुभएको छ; उहाँले मलाई गर्दनमा पक्रेर मलाई टुक्रा-टुक्रा पार्नुभएको छ, र मलाई आफ्नो निशाना बनाउनुभएको छ। 13 उहाँका धनुर्धारीहरूले मलाई चारैतिरबाट घेर्छन्; उहाँले मेरो मर्म चिर्नुहुन्छ, र बाँकी राख्‍नुहुन्‍न; उहाँले मेरो पित्त भुइँमा पोखाउनुहुन्छ। 14 धाँदोमाथि धाँदो पारेर उहाँले मलाई तोड़्नुहुन्छ; एउटा दैत्‍य झैं उहाँ ममाथि दगुरेर आइलाग्‍नुहुन्छ। 15 मैले आफ्नो छालामाथि भाङ्ग्राको लुगा सिलाएको छु, र आफ्नो सिङ धूलोमा अशुद्ध पारेको छु। 16 रुँदा-रुँदा मेरो अनुहार रातो भएको छ, र मेरा पलकहरूमा मृत्युको छाया छ; 17 मेरा हातहरूमा कुनै अन्याय भएकोले होइन; मेरो प्रार्थना पनि शुद्ध छ।
18 हे पृथ्वी, मेरो रगत नछोप्, र मेरो चित्‍कारका निम्ति कुनै ठाउँ नपाइयोस्! 19 अहिले पनि हेर, मेरो साक्षी स्वर्गमा हुनुहुन्छ र मेरो गवाही उच्‍च स्थानमा हुनुहुन्छ। 20 मेरा साथीहरूले मलाई खिसी गर्छन्; तर मेरो आँखाले परमेश्‍वरको सामु आँसु पोखाउँछ। 21 मानिसले आफ्नो छिमेकीका निम्ति मुद्दा लड़ेझैं कसैले एउटा मानिसका निम्ति परमेश्‍वरसित मुद्दा लड़्ने भए त! 22 केही वर्ष बितेपछि म त्यो बाटो जानेछु, जहाँबाट म फर्कनेछैनँ।”