अय्यूब परमेश्‍वरलाई शिकायत गर्छन्
14
“स्त्रीबाट जन्मेको मानिस थोरै दिनको र दु:खले भरिएको हुन्छ। 2 त्यो फूलझैं फक्रिन्छ, र काटिन्छ; त्यो छायाझैं भाग्दै जान्छ, र रहिरहँदैन। 3 अनि के तपाईं यस्तो मानिसमाथि आफ्नो आँखा गाड़्‍नुहुन्छ र आफूसित मलाई मुद्दा लड़्न लाउनुहुन्छ? 4 कसले अशुद्ध वस्तुबाट शुद्ध वस्तु निकाल्न सक्छ र? कसैले पनि सक्दैन। 5 किनभने मानिसको आयु तोकिएको छ; त्यसका महिनाको संख्या तपाईंसँग छ; तपाईंले त्यसका सिमानाहरू बाँध्‍नुभएको छ, र त्यसले त्यो पार गर्न सक्दैन। 6 त्यसबाट आफ्नो नजर हटाउनुहोस्, र त्यसले तबसम्म विश्राम पाओस्, जबसम्म त्यसले ज्यालादार नोकरले जस्तो आफ्नो दिन पूरा गर्दैन।
7 किनकि रूखका निम्ति आशा छ; त्यो काटेर ढालिए तापनि त्यो फेरि पलाउनेछ, र त्यसको कलिलो हाँगा पलाउन छोड़्‍नेछैन। 8 त्यसको जरा जमिनमा बूढ़ो हुँदै गए पनि त्यसको ठुटा माटोमा मरिगए पनि, 9 पानीको गन्ध पाएर त्यसले मुना हान्‍नेछ, र बोटविरुवाले जस्तै हाँगाहरू उमार्नेछ। 10 तर मानिस मर्छ र मेटिएर जान्छ; अँ, मानिसले प्राण त्याग्छ, र त्यो मानिस कहाँ रहन्छ र? 11 जसरी समुद्रबाट पानी सिद्धिन्छ र बाढ़ घटेर सुकिजान्छ, 12 त्यसरी नै मानिस लेट्छ, र उठ्दैन; जबसम्म आकाश टलेर जाँदैन, तबसम्म तिनीहरू न बिउँझनेछन् न ता आफ्नो निद्राबाट बिउँताइनेछन्।
13 तपाईंले मलाई चिहानमा लुकाउनुभएको भए त, जबसम्म तपाईंको क्रोध सेलाउँदैन, तबसम्म मलाई गुप्‍त राख्‍नुभएको भए त, मेरा निम्ति एउटा तोकिएको समय ठहऱ्याएर मेरो सम्झना गर्नुभएको भए त हुनेथियो! 14 जब मानिस मर्छ, तब के त्यो फेरि जीवित हुन्छ र? जबसम्म मेरो परिवर्तन आउँदैन, तबसम्म मेरा तोकिएको समयका सबै दिनहरूभरि नै म पर्खिनेछु। 15 तपाईंले मलाई बोलाउनुहुनेछ, र म तपाईंलाई जवाफ दिनेछु; तपाईंका हातहरूको कामप्रति तपाईंको चाहना हुनेछ। 16 किनकि अहिले तपाईं मेरा कदमहरू गन्ती गर्नुहुन्छ; त के तपाईंले मेरो पापको ख्‍याल गर्नुहुन्‍न? 17 मेरो अपराध थैलीमा मोहरछाप मारेर राखिएको छ; तपाईंले मेरो अधर्म सिलाएर राख्‍नुहुन्छ।
18 अनि साँच्‍चै लड़्दै गरेको पहाड़ टलेर जान्छ, र चट्टान आफ्नो ठाउँबाट हट्छ। 19 पानीले ढुङ्गाहरू खियाउँछ; उर्लेर त्यसले पृथ्वीको माटोबाट आफै-आफ उम्रेका थोकहरू सोहोरेर लैजान्छ; अनि त्यसरी नै तपाईंले मानिसको आशा नाश पार्नुहुन्छ। 20 तपाईं सधैंका निम्ति त्यसमाथि प्रबल हुनुहुन्छ, र त्यो बितेर जान्छ; तपाईंले त्यसको चेहरा बदली गर्नुहुन्छ, र त्यसलाई पठाइदिनुहुन्छ। 21 त्यसका छोराहरूले आदर पाउँछन्, तर त्यसले त्यो थाहा पाउँदैन; अनि तिनीहरू तल झारिन्छन्, तर त्यसले त्यो थाहा गर्दैन। 22 तर आफूमाथि भएको त्यसको शरीरलाई पीड़ा हुन्छ, र आफूभित्र भएको त्यसको प्राणले विलाप गर्छ।”