अय्यूब दोष लाउनेहरूलाई जवाफ दिन्छन्
12
अनि अय्यूबले जवाफ दिएर भने: 2 “निश्‍चय तिमीहरू मानिस हौ, र तिमीहरूसँगै बुद्धि मर्नेछ। 3 तर तिमीहरूसँग झैं मसँग पनि समझ छ; मचाहिँ तिमीहरूभन्दा कम छैनँ; अँ, यीजस्ता कुराहरू कसले जान्दैन र? 4 म आफ्नो छिमेकीद्वारा हाँसोमा उड़ाइएको मानिस भएको छु, जसले परमेश्‍वरलाई पुकार्छ, र उहाँले उसलाई जवाफ दिनुहुन्छ; धर्मी, र सीधा चालको मानिस हाँसोमा उड़ाइएको छ। 5 जो आफ्ना पाउहरूले चिप्लन लागेको छ, ऊ एउटा बत्ती हो, जो निश्‍चिन्‍त भएर बस्‍ने मानिसका विचारहरूमा तुच्छ ठानिएको छ। 6 डाँकूहरूका वासस्थानहरूले उन्‍नति गर्छन्, र परमेश्‍वरलाई रिस उठाउनेहरू सुरक्षित हुन्छन्, जसको हातमा परमेश्‍वरले प्रशस्त गरी ल्याउनुहुन्छ। 7 तर अब पशुहरूलाई सोध न, र तिनीहरूले तिमीलाई सिकाइदिनेछन्; अनि आकाशका पक्षीहरूलाई पनि सोध, र तिनीहरूले तिमीलाई बताइदिनेछन्; 8 अथवा पृथ्वीसित कुरा गर, र त्यसले तिमीलाई सिकाउनेछ; अनि समुद्रका माछाहरूले तिमीलाई बेलीबिस्तार गर्नेछन्। 9 यी कुराहरूमध्ये यो कुराचाहिँ परमप्रभुकै हातले गरेको हो भनेर कसले जान्दैन र, 10 जसको हातमा हरेक जीवित प्राणीको प्राण र सारा मानिस-जातिको आत्मा छ? 11 के कानले शब्दहरू जाँच्दैन र? अनि मुखले आफ्नो खानेकुरा चाख्दैन र? 12 अनि वृद्धहरूसँग बुद्धि हुन्छ; दीर्घ-आयुकाहरूसँग समझ हुन्छ। 13 उहाँसँग बुद्धि र शक्ति छन्; उहाँसँग सल्‍लाह र समझ छन्। 14 हेर, उहाँले भत्काउनुहुन्छ, र त्यो फेरि बनाउन सकिँदैन; उहाँले मानिसलाई थुन्‍नुहुन्छ, र त्यो खोल्न सकिँदैन। 15 हेर, उहाँले पानीलाई थाम्‍नुहुन्छ, र त्यो सुक्छ; अनि उहाँले त्यो पठाउनुहुन्छ, र त्यसले पृथ्वीलाई उलटपुलट पारिदिन्छ। 16 उहाँसँग सामर्थ्य र खाँटी बुद्धि छन्; धोका खाने र धोका दिने उहाँकै हुन्। 17 उहाँले सल्‍लाहकारहरूलाई लुटको मालको रूपमा हाँक्नुहुन्छ, र न्यायकर्ताहरूलाई मूर्ख तुल्याउनुहुन्छ। 18 उहाँले राजाहरूको बन्धन खोलिदिनुहुन्छ र तिनीहरूका कम्मरहरू पेटीले कसिदिनुहुन्छ। 19 उहाँले शासकहरूलाई लुटको मालको रूपमा हाँक्नुहुन्छ र शक्तिशालीहरूलाई पछार्नुहुन्छ। 20 उहाँले विश्‍वासयोग्यहरूको बोली हटाउनुहुन्छ, र वृद्धहरूको समझ लैजानुहुन्छ। 21 उहाँले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ र शक्तिशालीहरूको बल घटाउनुहुन्छ। 22 उहाँले अन्धकारबाट गहिरा-गहिरा कुराहरू प्रकट गर्नुहुन्छ र मृत्युको छाया बाहिर उज्यालोमा ल्याउनुहुन्छ। 23 उहाँले जातिहरूलाई बढ़ाउनुहुन्छ र तिनीहरूलाई नाश पनि गर्नुहुन्छ; उहाँले जातिहरूलाई फैलाउनुहुन्छ र तिनीहरूलाई साँघुरो पनि पार्नुहुन्छ। 24 उहाँले पृथ्वीका मानिसहरूका प्रधानहरूको हृदय लैजानुहुन्छ र तिनीहरूलाई बाटै नभएको उजाड़स्थानमा भड़्किहिँड़्‍ने तुल्याउनुहुन्छ। 25 उज्यालोविना तिनीहरू अँध्यारोमा छामछुम गर्छन्; अनि उहाँले तिनीहरूलाई मातेको मान्छेझैं धरमरिने तुल्याउनुहुन्छ।”