अय्यूब: उहाँलाई नै मेरो दुखेसो पोख्छु
10
“मेरो मन मेरो जीवनदेखि विरक्त भएको छ; म मेरो दुखेसो आफैमा पोख्न छोड़्‍नेछु; म आफ्नो मनको तीतोपनमा बोल्नेछु। 2 म परमेश्‍वरलाई भन्‍नेछु: ‘मलाई दोषी नठहऱ्याउनुहोस्! तपाईं मसित किन विवाद गर्नुहुन्छ, सो मलाई देखाउनुहोस्!’ 3 के थिचोमिचो गर्नु, आफ्ना हातको कामलाई तुच्छ ठान्‍नु र दुष्‍टहरूको सल्‍लाहमाथि चम्कनु तपाईंका निम्ति असल हो र? 4 के तपाईंका आँखाहरू मासुका छन् र? अथवा के तपाईं मानिसले हेरेझैं हेर्नुहुन्छ र? 5 के तपाईंका दिनहरू मानिसका दिनहरूजस्तै छन्? वा तपाईंका वर्षहरू मानिसका दिनहरूजस्तै छन्, 6 र तपाईं मेरो अधर्मको विषयमा सोधखोज गर्नुहुन्छ, र मेरो पापको खोजतलाश गर्नुहुन्छ? 7 म दुष्‍ट छैनँ भनी तपाईंलाई थाहा छ; अनि तपाईंको हातबाट छुटाउन सक्ने कोही पनि छैन।
8 तपाईंका हातहरूले मलाई आकार दिए, र एकसाथ चारैपट्टि मलाई बनाए; तर पनि तपाईंले मलाई नाश गर्नुहुन्छ। 9 म तपाईंलाई विन्‍ती गर्दछु, सम्झना गर्नुहोस्! तपाईंले मलाई चिम्टे माटोझैं बनाउनुभयो; त के तपाईंले मलाई फेरि धूलोमा मिलाउनुहुन्छ? 10 के तपाईंले मलाई दूधझैं खन्याउनुभएको छैन, र मलाई छेनाझैं जमाउनुभएको छैन र? 11 तपाईंले मलाई छाला र मासुको वस्त्र पहिराउनुभएको छ, अनि हड्डी र नसाहरूले मलाई बुन्‍नुभएको छ। 12 तपाईंले मलाई जीवन र करुणा दिनुभएको छ; अनि तपाईंको देखरेखले मेरो आत्मा सुरक्षित भएको छ। 13 अनि यी कुराहरू तपाईंले आफ्नो हृदयमा लुकाएर राख्‍नुभएको छ; म जान्दछु, तपाईंसित यो कुरा छ। 14 मैले पाप गरें भने तपाईंले मलाई चिनिराख्‍नुहुन्छ; अनि तपाईंले मलाई मेरो अधर्मबाट निर्दोष ठहराउनुहुनेछैन। 15 म दुष्‍ट छु भने, मलाई धिक्‍कार! अनि म धर्मी छु भने पनि म आफ्नो शिर उठाउनेछैनँ; म शर्मले भरिएको छु; यसकारण मेरो कष्‍ट हेर्नुहोस्! 16 किनकि त्यो बढ़्दैछ। तपाईंले क्रूर सिंहले झैं मेरो शिकार गर्नुहुन्छ; अनि फेरि तपाईंले मप्रति आफूलाई आश्‍चर्यमय देखाउनुहुन्छ। 17 तपाईंले मेरो विरोधमा आफ्ना गवाहीहरू नयाँ तुल्याउनुहुन्छ, र मप्रति आफ्नो रिस बढ़ाउनुहुन्छ; परिवर्तनहरू र लड़ाइँ मेरो विरोधमा छन्।
18 तब तपाईंले मलाई किन गर्भबाट निकाल्नुभयो? मैले प्राण त्यागेको र कुनै आँखाले मलाई नदेखेको भए त हुनेथियो! 19 म त नभएकै हुनुपर्थ्यो; म त गर्भबाट चिहानमा ल्याइपुर्‍याइनुपर्थ्यो!
20 के मेरा दिनहरू थोरै छैनन् र? तब रोक्नुहोस्! मलाई छोड़िदिनुहोस्, र म थोरै सान्‍त्‍वना पाऊँ! 21 अन्धकार र मृत्युको छायाको देश जानुभन्दा अघि, जहाँबाट म फर्कनेछैनँ – 22 एउटा अन्धकारको देश, जो अन्धकारझैं छ; एउटा मृत्युको छायाको देश, जहाँ कुनै सुव्यवस्था छैन, र जहाँ उज्यालो अन्धकारझैं छ।”