अय्यूबको जवाफ: मेरो कोही मध्यस्थ छैन
9
अनि अय्यूबले जवाफ दिएर भने: 2 “साँच्चै म जान्दछु, त्यो यस्तै हुन्छ; तर परमेश्वरको सामु मानिस कसरी धर्मी ठहरिन सक्छ र? 3 त्यसले उहाँसँग विवाद गर्न चाह्यो भने त्यसले उहाँलाई हजारौंमा एउटाको पनि जवाफ दिन सक्दैन। 4 उहाँ हृदयमा बुद्धिमान्, र बलमा शक्तिमान् हुनुहुन्छ; कसले आफूलाई उहाँको विरोधमा कठोर पारेर उन्नति गरेको छ र? 5 उहाँले पहाड़हरू हटाउनुहुन्छ, र तिनीहरूले त्यो थाहै पाउँदैनन्; उहाँले आफ्नो क्रोधमा तिनीहरूलाई पल्टाइदिनुहुन्छ। 6 उहाँले पृथ्वीलाई त्यसको ठाउँबाट हल्लाउनुहुन्छ, र त्यसका खाँबाहरू डगमगाउँछन्। 7 उहाँले सूर्यलाई आज्ञा गर्नुहुन्छ, र त्यो झुल्किँदैन; अनि ताराहरूमा उहाँ मोहरछाप लगाउनुहुन्छ। 8 उहाँले मात्र आकाश-मण्डल फैलाउनुहुन्छ, र समुद्रका अग्ला-अग्ला छालहरूमाथि टेक्नुहुन्छ। 9 उहाँले नै सप्तर्षि, मृगशिरा, कृत्तिका नक्षत्रहरू र दक्षिणका कोठाहरू बनाउनुहुन्छ। 10 उहाँले अगम्य महान् कार्यहरू र अनगन्ती अचम्मका कामहरू गर्नुहुन्छ।11 हेर, उहाँ मेरै छेउबाट भएर जानुहुन्छ, तर म उहाँलाई देख्दिनँ; अनि उहाँ पार भएर जानुहुन्छ, तर म उहाँलाई थाहा पाउँदिनँ। 12 हेर, उहाँले खोसेर लैजानुहुन्छ; कसले उहाँलाई रोक्न सक्छ? कसले उहाँलाई भन्ला: ‘तपाईंले के गर्दै हुनुहुन्छ?’ 13 परमेश्वरले आफ्नो रिस नथाम्नुभएको भए घमण्डी सहायकहरू उहाँका पाउमुनि झुक्नेथिए। 14 तब म झन् कसरी उहाँलाई जवाफ दिऊँ, र उहाँसँग तर्क गर्नलाई आफ्ना शब्दहरू चुनूँ? 15 म धर्मी भएको भए तापनि मैले उहाँलाई जवाफ दिनेथिइनँ, तर बरु म मेरा न्यायकर्तालाई विन्ती चढ़ाउनेथिएँ। 16 मैले पुकार्दा उहाँले मलाई जवाफ दिनुभएको भए तापनि उहाँले मेरो सोरतिर कान लगाउनुभयो भनी म विश्वास गर्नेथिइनँ। 17 किनकि उहाँले मलाई आँधीबेह्रीले तोड़्नुहुन्छ, र विनाकारण मेरा चोटहरू बढ़ाइदिनुहुन्छ। 18 उहाँले मलाई मेरो सास फेर्न पनि दिनुहुनेछैन, तर मलाई तीतोपनाले भरिदिनुहुन्छ। 19 बलको कुरा गरूँ भने हेर, उहाँ बलवान् हुनुहुन्छ; न्यायको विषयमा कुरा गरूँ भने कसले मेरा निम्ति मुद्दा लड़्ने समय तोकिदिन्छ? 20 मैले आफूलाई धर्मी ठहराएँ भने मेरै मुखले मलाई दोषी ठहऱ्याउनेछ; ‘म सिद्ध छु’ भनें भने उहाँले मेरो टेढ़ापना साबित गर्नुहुनेछक।
21 म सिद्ध भए तापनि मैले आफ्नो मनलाईख जान्नेथिइनँ; मैले आफ्नो जीवन तुच्छ ठान्नेथिएँ। 22 कुरा एउटै हो; यसैले मैले भनें: ‘उहाँले सिद्ध र दुष्ट दुवैलाई नाश गर्नुहुन्छ।’ 23 कोर्राले एक्कासि मार्यो भने निर्दोषहरूको परीक्षा भएकोमा उहाँ हाँस्नुहुनेछ। 24 पृथ्वी दुष्टको हातमा दिइएको छ; उहाँले यसका न्यायकर्ताहरूका अनुहारहरू छोपिदिनुहुन्छ; उहाँ गर्नुहुन्न भने तब यसो गर्ने को होला त?
25 अनि मेरा दिनहरू त दगुर्नेभन्दाग छिटो दगुर्छन्घ; ती भाग्छन्; तिनीहरूले कुनै भलाइ देख्दैनन्। 26 ती बितेर जान्छन्, तेज जहाजहरूजस्तै, शिकारमाथि हानिएर आइलाग्ने चीलजस्तै। 27 ‘म मेरो दुखेसो बिर्सनेछुङ, मेरो चेहराको उदासीपन उतार्नेछु र सान्त्वना पाउनेछु’ भनी मैले भनें भने, 28 मेरा सबै कष्टहरूदेखि म डराउँछु; म जान्दछु, तपाईंले मलाई निर्दोष ठहऱ्याउनुहुनेछैन।
29 म दुष्टच छु भने म किन व्यर्थमा परिश्रम गरूँ? 30 मैले आफूलाई हिउँको पानीमा नुहाएँ भने पनि, र आफ्ना हातहरू बिलकुलछ सफा पारें भने पनि, 31 तपाईंले मलाई खाड़लभित्र चोप्नुहुनेछ, र मेरा लुगाहरूले समेत मलाई घृणा गर्नेछन्। 32 किनकि उहाँ मजस्तो मानिस हुनुहुन्न, कि म उहाँलाई जवाफ दिन सकूँ, र हामी आपसमा मुद्दा लड़्न सकौं; 33 न ता हाम्रो बीचमा कुनै निर्णायक छन्, जसले हामी दुवैमाथि आफ्नो हात राख्न सक्छन्। 34 उहाँले आफ्नो डण्डाज मबाट हटाऊन्, र उहाँको डरले मलाई भयभीत नपारोस्; 35 तब म बोल्नेथिएँ, र उहाँसँग डराउनेथिइनँ; तर मसित यस्तो स्थिति छैन।”