बिल्ददको पहिलो जवाफ: अय्यूबले पश्‍चात्ताप गर्नुपर्छ
8
तब शूही बिल्ददले जवाफ दिएर भने: 2 “कहिलेसम्म तिमी यी कुराहरू बोल्छौ? कहिलेसम्म तिम्रा मुखका वचनहरू प्रचण्ड आँधीबतासझैं भइरहन्छन्? 3 के परमेश्‍वरले न्याय बिगार्नुहुन्छ? अनि के सर्वशक्तिमान्‌ले धार्मिकता टेढ़ा पार्नुहुन्छ? 4 तिम्रा छोराछोरीहरूले उहाँको विरोधमा पाप गरे नि, यसैले उहाँले तिनीहरूलाई तिनीहरूकै अपराधको हातमा सुम्पिदिनुभएको छ। 5 तिमीले चाहिँ परमेश्‍वरलाई यत्‍नपूर्वक खोज्यौ भने, र सर्वशक्तिमान्‌लाई आफ्नो विन्‍ती चढ़ायौ भने, 6 तिमी शुद्ध, र सीधा चालका भयौ भने, निश्‍चय अहिले नै उहाँ तिम्रा निम्ति जाग्‍नुहुनेथियो, र तिम्रो धार्मिकताको वासस्थानलाई उन्‍नतिशील तुल्याउनुहुनेथियो। 7 अनि तिम्रो शुरुआत सानो भए तापनि तिम्रो अन्तको वृद्धि ठूलो हुनेथियो। 8 किनकि म तिमीलाई विन्‍ती गर्दछु, अघिल्‍लो पुस्ताबाट सोधखोज गर! र तिनीहरूका पितापुर्खाहरूको खोजतलाश गर्नका निम्ति तयार होऊ! 9 (किनकि हामी त हिजोका मात्र हौं, र केही जान्दैनौं; किनभने पृथ्वीमाथि हाम्रा दिनहरू छायाजस्ता छन्।) 10 के तिनीहरूले तिमीलाई सिकाउँदैनन्, तिमीलाई भन्दैनन् र आफ्ना हृदयबाट शब्दहरू निकाल्दैनन् र?
11 दलदल नभए के पटेर बढ़्छ र? के पानीविना निगालो बढ़्छ र? 12 यो हरियो हुँदै, नकाटीकनै अरू कुनै पनि घाँसभन्दा पहिल्यै ओइलिहाल्छ। 13 परमेश्‍वरलाई बिर्सने सबैका बाटाहरू यस्तै हुन्छन्; अनि कपटीको आशा नष्‍ट हुनेछ, 14 जसको आशा काटिनेछ र जसको भरोसा माकुराको जालजस्तो हुनेछ। 15 त्यो आफ्नो घरमा अड़ेस लाग्छ, तर यो खड़ा रहनेछैन; त्यसले यसलाई बलियो गरी समात्छ, तर यो टिक्नेछैन। 16 घाम पाएर त्यो हरियो हुन्छ, र त्यसको बगैंचामा त्यसको हाँगा पलाउँछ। 17 त्यसका जराहरू ढुङ्गाको राशको वरिपरि जेलिएका हुन्छन्; त्यसले ढुङ्गाहरूको ठाउँ देख्दछ। 18 यदि कसैले त्यसलाई त्यसको ठाउँबाट नाश गर्‍यो भने यस ठाउँले यसो भनेर त्यसलाई इन्कार गर्नेछ: ‘मैले तिमीलाई देखेकै छैनँ’। 19 हेर, यो त्यसको मार्गको आनन्द हो; अनि माटोबाट अरू उम्रनेछन्।
20 हेर, परमेश्‍वरले सिद्ध मानिसलाई कहिल्यै त्याग्‍नुहुनेछैन, न ता कुकर्म गर्नेहरूलाई साथ दिनुहुनेछ; 21 जब उहाँले तिम्रो मुखलाई हाँसोले, र तिम्रा ओठहरूलाई रमाहटको नाराले भरिदिनुहुन्छ। 22 जसले तिमीलाई घृणा गर्छन्, तिनीहरूलाई शर्मको वस्त्र पहिराइनेछ; अनि दुष्‍टहरूको वासस्थान रहनेछैन।”