अय्यूबको जवाफ: मेरो शिकायत न्यायसङ्गत छ
6
तर अय्यूबले जवाफ दिएर भने: 2 “मेरो शोक पूरै तौलिइएको भए त, र मेरो विपत्ति एकसाथ तराजुमा हालिएको भए त! 3 किनकि अब त यो समुद्रको बालुवाभन्दा पनि गह्रौं हुनेथियो; यसैले मेरा वचनहरू हतारमा निस्के 4 किनकि सर्वशक्तिमान्‌का काँड़हरू मभित्र भासिएका छन्, जसको विष मेरो आत्माले पिउँछ; परमेश्‍वरका आतङ्कहरूले मेरो विरोधमा मोर्चा बाँधेका छन्। 5 के घाँस पाउँदा जङ्गली गधा हिनहिनाउँछ र? वा दाना पाउँदा गोरु डुक्रन्छ र? 6 जसमा स्वाद छैन, के त्यो नुनविना खान सकिन्छ र? अथवा के अन्डाको सेतो भागमा स्वाद हुन्छ र? 7 जुन कुरा मेरो मनले छुनधरि मान्दैनथियो, ती कुरा नै मेरो दिगमिग लाग्‍ने भोजन भएका छन्। 8 मेरो विन्‍ती पूरा भए त, अँ, परमेश्‍वरले मैले चाहना गरेको कुरा दिनुभए त! 9 अँ, मलाई नाश गर्नु नै परमेश्‍वरलाई असल लागे त! आफ्नो हात छोड़ेर मलाई नष्‍ट गरिदिनुभए त हुनेथियो! 10 तब मैले अझ सान्‍त्‍वना पाउँथें, र कष्‍टमा पनि म आनन्दित हुन्थें; उहाँले बाँकी नराखून्, किनकि मैले पवित्र जनका वचनहरू लुकाएको छैनँ। 11 मेरो बल के हो, र म आशा गरूँ? अनि मेरो अन्त के हो, र म मेरो जीवन लम्याऊँ? 12 के मेरो बल ढुङ्गाको बल हो र? के मेरो शरीर पित्तलको हो र? 13 ममा मेरो कुनै सहायता छैन; अनि बुद्धि मबाट धपाइएको छ, होइन र? 14 कष्‍ट भोग्‍ने व्यक्तिलाई आफ्नो साथीबाट दया देखाइनुपर्थ्यो; तर त्यसले सर्वशक्तिमान्‌को भयलाई त्याग्छ।
15 मेरा दाजुभाइहरूले त्यस खोलाले झैं, ती बितेर जाने खहरे खोलाहरूको नालाले झैं विश्‍वासघात गरे, 16 जुन खोलाहरू बरफको कारणले काला-काला छन्, जसभित्र हिउँ लुकेको हुन्छ; 17 न्यानो हुने बेलामा ती हराउँछन्; जब गरम चढ़्छ, तब ती आफ्नो ठाउँबाट मेटिन्छन्। 18 यात्री-दलहरू आफ्नो बाटोमा यताउता घुम्छन्; तिनीहरू उजाड़स्थानभित्र पस्छन्, र नष्‍ट हुन्छन्। 19 तेमाका यात्री-दलहरूले हेरे, शबाका दलहरूले तिनीहरूको बाटो हेरे। 20 यिनीहरूले भरोसा राखेका हुनाले लज्जित भए; यिनीहरू त्यहाँ आए, र शर्ममा परे। 21 यसकारण अब तिमीहरू केही पनि होइनौ; तिमीहरू भयभीत पार्ने कुरा देख्छौ, र डराउँछौ। 22 के मैले ‘मलाई देओ’ वा ‘मेरा निम्ति तिमीहरूको सम्पत्तिबाट एउटा उपहार देओ’ भनें र? 23 अथवा ‘मलाई शत्रुको हातबाट छुटकारा देओ’ वा ‘मलाई शक्तिशालीहरूको हातबाट छुटाओ’ भनें र?
24 मलाई सिकाओ, र म चुप रहुँला; अनि मैले कहाँ बिराएको छु, सो मलाई बुझ्ने तुल्याओ! 25 ठीक वचनहरू कति प्रभावशाली हुन्छन्! तर तिमीहरूको तर्कवितर्कले केलाई कायल गराउँछ र? 26 के तिमीहरू निराश भएको मानिसका शब्दहरू र वचनहरूमा दोष देखाउने विचार गर्छौ, जुन वचनहरू हावाजस्ता छन्? 27 अँ, तिमीहरू टुहुरालाई लड़ाउँछौ, र आफ्नै साथीका निम्ति खाड़ल खन्छौ। 28 यसकारण अब राजी होओ, मतिर हेर; किनकि तिमीहरूका मुखको सामु म झूट बोल्नेछैनँ नै। 29 म तिमीहरूलाई विन्‍ती गर्दछु, फर्क! कुनै अधर्म नहोस्; अँ, अझ फर्क! मेरो धार्मिकता यही कुरामा छ। 30 के मेरो जिब्रोमा कुनै अधर्म छ? के मेरो तालुले हानिकारक कुराहरू छुट्टाउन सक्दैन र?”