एलिपजको पहिलो जवाफ: अय्यूबले पाप गरे, परमेश्‍वरको दृष्‍टिमा उनी दोषी छन्
4
तब तेमानी एलिपजले जवाफ दिएर भने: 2 “कसैले तिमीसित एक शब्द बोल्ने आँट गर्‍यो भने के तिमी दुःखी हुन्छौ? तर कसले आफूलाई बोल्नदेखि रोक्न सक्छ र? 3 हेर, तिमीले धेरैजनालाई शिक्षा दिएका छौ; अनि तिमीले लुला हातहरू बलिया बनाएका छौ। 4 लड़्दै गरेकोलाई तिम्रा वचनहरूले सम्हालेका छन्; दुर्बल घुँड़ाहरू तिमीले बलिया तुल्याएका छौ। 5 तर अहिले यो तिमीमाथि आइपरेको छ, र तिमी निराश हुन्छौ; यसले तिमीलाई छोएको छ, र तिमी घबराउँछौ। 6 के यो तिम्रो डर, तिम्रो भरोसा, तिम्रो आशा र तिम्रा मार्गहरूको इमानदारी होइन र? 7 याद गर, म तिमीलाई विन्‍ती गर्छु! निर्दोष भएर कोचाहिँ कुनै समयमा नाश भयो र? वा धर्मी जनहरू कहाँ नाश भएका छन् र? 8 मैले देखेअनुसार – जसले अधर्म जोत्छन्, र दुष्‍टता छर्छन्, तिनीहरूले त्यही कटनी गर्छन्। 9 परमेश्‍वरको झोक्‍काले तिनीहरू नष्‍ट हुन्छन्, र उहाँको नाकको फुत्कारले तिनीहरू भस्म हुन्छन्। 10 सिंहको गर्जन, हिंस्रक सिंहको सोर बन्द हुन्छ, र जवान सिंहहरूका दाँत भाँचिन्छन्। 11 शिकारको अभावले बूढ़ो सिंह नष्‍ट हुन्छ, र सिंहनीका डमरुहरू तितरबितर हुन्छन्।
12 अब गुप्‍त रूपले एउटा कुरा मकहाँ ल्याइयो, र मेरो कानले त्यसको एक छेउ मात्र सुन्यो 13 रातका दर्शनहरूबाट पैदा भएका चिन्ताहरूमा, जब मानिसहरू मस्त निद्रामा परेका हुन्छन्, 14 तब डर र थरथरीले मलाई पक्र्यो, जसले मेरा सबै हड्डीहरू लगलग पार्‍यो। 15 तब एउटा आत्मा मेरो सम्मुखबाट भएर पार गयो; मेरो शरीरको रौं ठाड़ो भयो। 16 त्यो अड़िरह्‍यो; तर मैले त्यसको आकार ठम्याउन सकिनँ; मेरा आँखाको सामु एउटा आकृति थियो; सन्‍नाटा छायो; अनि मैले एउटा यसो भन्‍ने सोर सुनें:
17 ‘के मरणशील मानिस परमेश्‍वरभन्दा धर्मी हुन सक्छ? के मानिस आफ्नो सृष्‍टिकर्ताभन्दा शुद्ध हुन सक्छ?’ 18 हेर, उहाँले आफ्नै दासहरूमाथि भरोसा राख्‍नुहुन्‍न र आफ्ना दूतहरूलाई मूर्खताको दोष लाउनुभयो भने 19 माटाका घरहरूमा बस्‍नेहरू त झन् कति बढ़ी कम छन्, जसको जग धूलोमा हुन्छ, जो पुतलीभन्दा पहिल्यै कुल्चिइन्छन्। 20 तिनीहरू बिहानदेखि बेलुकासम्म नाश गरिन्छन्; तिनीहरू सधैंभरि नष्‍ट हुन्छन्; कसैले वास्ता गर्दैन। 21 के तिनीहरूभित्र तिनीहरूको बाँकी भाग उखेलिँदैन र? तिनीहरू मर्छन्, तर बुद्धिसित होइन।”