अय्यूबले आफ्नो जन्म-दिनलाई धिक्‍कार्छन्
3
त्यसपछि अय्यूबले आफ्नो मुख खोलेर आफ्नो दिनलाई धिक्‍कारे 2 अनि अय्यूबले जवाफ दिए र भने: 3 “त्यो दिन, जसमा म जन्में, नाश होस्! र त्यो रात, जसमा ‘एउटा छोराको गर्भधारण भयो’ भनियो, त्यो पनि नष्‍ट होस्! 4 त्यो दिन अँध्यारो होस्; परमेश्‍वरले माथिबाट त्यसको वास्ता नराखून्, न ता त्यसमाथि कुनै उज्यालो नै चम्कोस्! 5 अन्धकार र मृत्युको छायाले त्यसलाई कलङ्कित पारून्; एउटा बादल त्यसमाथि रहिरहोस्; दिनको घोर अन्धकारले त्यसलाई भयभीत पारोस्! 6 त्यो रात – अन्धकारले त्यसलाई पक्रोस्; वर्षका दिनहरूमा त्यो नजोड़ियोस्; महिनाहरूको गन्तीमा त्यो नआओस्! 7 हेर, त्यो रात सुनसान होस्; त्यसमा कुनै आनन्दको सोर नसुनियोस्! 8 दिनलाई सराप्‍नेहरू जो आफ्नो बिलौना उठाउन तयार छन्, तिनीहरूले त्यसलाई धिक्‍कारून्! 9 त्यसको साँझका ताराहरू अँध्यारा होऊन्; त्यसले उज्यालो खोजोस्, तर केही नपाओस्; न ता त्यसले दिनको उज्यालो खसेको देखोस्! 10 किनभने त्यसले न मेरी आमाको गर्भका ढोकाहरू बन्द गर्‍यो, न कष्‍ट नै मेरा आँखाहरूबाट लुकायो। 11 किन म गर्भैदेखि मरिनँ? पेटबाट निस्किँदा-निस्किँदै मैले किन प्राण त्यागिनँ? 12 किन घुँड़ाहरू मेरो सामुन्‍ने आए? अथवा म चुस्‍न पाऊँ भनेर किन मसँग स्तनहरूको भेट भयो?
13 किनकि यति बेला म सुत्‍नेथिएँ र शान्त रहनेथिएँ; म निदाउनेथिएँ; तब मैले विश्राम पाउनेथिएँ, 14 पृथ्वीका राजाहरू र सल्‍लाहकारहरूको साथमा, जसले आफ्ना निम्ति उजाड़ ठाउँहरू बनाए; 15 अथवा शासकहरूको साथमा, जससँग सुन थियो, जसले आफ्ना घरहरू चाँदीले भरे। 16 अथवा गुप्‍तमा तुहेको गर्भजस्तो मेरो अस्तित्व हुनेथिएन, वा ती बालबच्‍चाहरूको जस्तो, जसले कहिल्यै उज्यालो देखेनन्। 17 त्यहाँ दुष्‍टहरूले दुःख दिन छोड़्छन्; अनि त्यहाँ थाकेकाहरूले विश्राम पाउँछन्। 18 त्यहाँ कैदीहरूले एकसाथ विश्राम लिन्छन्; तिनीहरूले बेगारीमा जोताउनेहरूको सोर सुन्दैनन्। 19 सानो र ठूलो त्यहाँ हुन्छन्; अनि दास आफ्नो मालिकबाट स्वतन्‍त्र भएको हुन्छ।
20 कष्‍ट भोग्‍नेलाई ज्योति, र तीतो मन भएकोलाई जीवन किन दिइन्छ? 21 तिनीहरूले मृत्युको बाटो हेर्छन्, तर त्यो आउँदैन; अनि तिनीहरूले त्यसलाई लुकाइराखिएको धनभन्दा बढ़ी खन्छन्; 22 चिहान भेट्टाउँदा तिनीहरू खूबै रमाउँछन् र आनन्दित हुन्छन्; 23 जसको बाटो लुकिएको छ, र जसको वरिपरि परमेश्‍वरले बार हालिदिनुभएको छ, त्यस मानिसलाई ज्योति किन दिइन्छ? 24 किनकि मेरो खानेकुराको सामु मलाई सुस्केरा आउँछ; अनि मेरा ऐया-आत्थाहरू पानीझैं पोखिन्छन्। 25 किनकि जुन कुरासँग म डराउँथें, त्यही कुरा ममाथि आइपरेको छ; अनि जुन कुरादेखि मलाई डर लाग्थ्यो, त्यही कुरा मकहाँ आइपुगेको छ। 26 न मलाई चैन थियो, न मलाई शान्ति थियो, न मलाई आराम थियो, तैपनि दु:खकष्‍ट आइपर्‍यो।”