प्रार्थनामा परमेश्वरका जनहरूसँग उहाँको प्रेममय व्यवहारको सम्झना
9
अनि यही महिनाको चौबीसौं दिनमा इस्राएलीहरू उपवास बसेर भाङ्ग्राका लुगाहरू लाएर आफूमाथि धूलो हालेर भेला भए। 2 अनि इस्राएलको वंशले आफूलाई सबै परदेशीहरूबाट अलग गरे, अनि उभिएर आफ्ना पापहरू र आफ्ना पितापुर्खाहरूका अधर्महरू स्वीकार गरे। 3 अनि तिनीहरू आफ्नो ठाउँमा खड़ा भए, र दिनको एक पहरक तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको व्यवस्थाको पुस्तकबाट पढ़ेर सुनाए; अनि अर्को पहरचाहिँ तिनीहरूले पाप स्वीकार गरे, र परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गरे।4 तब लेवीहरूको मञ्चमा येशूअ, बानी, कद्मिएल, शबन्याह, बुन्नी, शेरेब्याह, बानी र कनानी खड़ा भए, अनि ठूलो सोरले परमप्रभु आफ्ना परमेश्वरलाई पुकारे। 5 तब यी लेवीहरू येशूअ, कद्मिएल, बानी, हशब्न्याह, शेरेब्याह, होदियाह, शबन्याह र पतहियाहले भने: “खड़ा होओ! परमप्रभु आफ्ना परमेश्वरलाई सदा-सर्वदाख धन्यको भन!, र तिनीहरूले तपाईंको महिमित नामलाई धन्यको भनून्, जुन नाम सारा धन्यवाद र प्रशंसाभन्दा उच्च छ! 6 तपाईं, अँ, तपाईं मात्र परमप्रभु हुनुहुन्छ; तपाईंले नै आकाश, सर्वोच्च आकाश, त्यसको जम्मै गण, पृथ्वी र त्यसमाथि भएका सबै थोकहरू, समुद्रहरू र तिनमा भएका सबै थोकहरू बनाउनुभएको हो; अनि तपाईंले नै ती सबैलाई जोगाएर राख्नुहुन्छ; अनि स्वर्गको सेनालेग तपाईंलाई दण्डवत् गर्दछ। 7 तपाईं नै परमप्रभु परमेश्वर हुनुहुन्छ; तपाईंले अब्रामलाई चुन्नुभयो, तिनलाई कल्दीहरूको ऊरबाट निकालेर ल्याउनुभयो, र तिनलाई अब्राहाम भन्ने नाम दिनुभयो; 8 अनि तपाईंको सामु तिनको हृदय विश्वासयोग्य भेट्टाउनुभयो, अनि ‘कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, यबूसीहरू र गिर्गाशीहरूको देश दिनेछु, अँ, त्यो देश तिनको वंशलाई दिनेछु’ भनी तिनीसित वाचा बाँध्नुभयो, अनि आफ्ना वचनहरू पूरा गर्नुभएको छ; किनभने तपाईं धर्मी हुनुहुन्छ।
9 अनि तपाईंले मिस्र देशमा हाम्रा पितापुर्खाहरूको कष्ट देख्नुभयो, र लाल समुद्रमा उनीहरूको पुकार सुन्नुभयो; 10 अनि तपाईंले फाराओ, तिनका सबै सेवकहरू र तिनको देशका सबै मानिसहरूमाथि चिन्हहरू र अचम्मका कामहरू देखाउनुभयो; किनकि तिनीहरूले उनीहरूको विरुद्ध घमण्डसाथ व्यवहार गर्थे, सो तपाईंले थाहा पाउनुभयो। यसरी तपाईंले आफ्ना निम्ति एउटा नाम कमाउनुभयो, जस्तो आजको दिनमा छँदैछ। 11 अनि तपाईंले उनीहरूको अघि समुद्रलाई दुई भाग पारिदिनुभयो, र उनीहरू समुद्रको बीचबाट भएर सुक्खा जमिनैजमिन पार भए; अनि तपाईंले उनीहरूलाई खेद्नेहरूलाई शक्तिशाली सागरमाघ ढुङ्गा फ्याँकेझैं गरी गहिराइहरूमा फालिदिनुभयो। 12 अनि तपाईंले दिनमा उनीहरूलाई बादलको खाँबाद्वारा, र रातमा उनीहरूलाई उनीहरू हिँड़्नुपर्ने बाटोमा उज्यालो दिनलाई आगोको खाँबाद्वारा डोर्याउनुभयो। 13 अनि तपाईं सिनाई पर्वतमाथि ओर्लनुभयो, स्वर्गबाट उनीहरूसित बोल्नुभयो र उनीहरूलाई ठीक न्यायहरू, सत्य व्यवस्थाहरू, असल विधिहरूङ र आज्ञाहरू दिनुभयो; 14 साथै उनीहरूलाई आफ्नो पवित्र विश्रामदिन जान्ने तुल्याउनुभयो, र उनीहरूलाई आफ्ना दास मोशाको हातद्वारा आज्ञाहरू, विधिहरूङ र व्यवस्थाहरू आज्ञा गर्नुभयो। 15 अनि उनीहरूको भोक मार्न तपाईंले उनीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, र उनीहरूको तिर्खा मेटाउन उनीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो; अनि तपाईंले उनीहरूलाई ‘त्यो देश अधिकार गर्न भित्र जानू’ भन्नुभयो, जसको विषयमा तपाईंले उनीहरूलाई ‘दिन्छु’ भनी शपथ खानुभएको थियोच।
16 तर उनीहरूले र हाम्रा पितापुर्खाहरूले घमण्डसाथ व्यवहार गरे, आफ्ना गर्दनहरू कड़ा पारे र तपाईंका आज्ञाहरू पालन गरेनन्। 17 अनि उनीहरूले आज्ञापालन गर्न इन्कार गरे, र तपाईंले उनीहरूको बीचमा गर्नुभएका अचम्मका कामहरूको सम्झना गरेनन्, तर आफ्ना गर्दनहरू कड़ा पारे, र आफ्नो विद्रोहमा, आफ्नो दासत्वतिर फर्किजानलाई एउटा अगुवा नियुक्त गरे; तर तपाईं क्षमावान् परमेश्वर हुनुहुन्छ, जो अनुग्रहकारी, दयालु, रिसाउनमा ढिलो र अति करुणामय हुनुहुन्छ; यसैले तपाईंले उनीहरूलाई त्याग्नुभएन। 18 अँ, उनीहरूले आफ्ना निम्ति ढालेर एउटा बाछो बनाए, र भने: ‘यही तिम्रो ईश्वर हो, जसले तिमीलाई मिस्रबाट निकालेर ल्यायो’, र ठूला-ठूला रिस उठाउने कामहरू गरे; 19 तापनि तपाईंले आफ्ना अपार कोमल कृपाले गर्दा उनीहरूलाई उजाड़स्थानमा त्याग्नुभएन; उनीहरूलाई बाटोमा डोर्याउनलाई दिनमा बादलको खाँबा उनीहरूबाट हटेन, अनि उनीहरूलाई उज्यालो दिनलाई र उनीहरू हिँड़्नुपर्ने बाटो देखाउनलाई रातमा आगोको खाँबा हटेन। 20 अनि उनीहरूलाई शिक्षा दिन तपाईंले आफ्नो भलो आत्मा दिनुभयो, र उनीहरूको मुखबाट तपाईंको मन्ना रोक्नुभएन, तर उनीहरूको तिर्खा मेटाउन उनीहरूलाई पानी दिनुभयो। 21 अँ, चालीस वर्षसम्म तपाईंले उनीहरूलाई उजाड़स्थानमा पालनपोषण गर्नुभयो; उनीहरूलाई कुनै कुराको घटी भएन; उनीहरूका लुगाहरू पुराना भएनन्, र उनीहरूका पाउहरू सुनिएनन्। 22 अनि तपाईंले उनीहरूलाई राज्यहरू र जातिहरू दिनुभयो, र तिनीहरूलाई हर कुनासम्म बाँड़िदिनुभयो; अनि उनीहरूले सिहोनको देश, अँ, हेश्बोनको राजाको देश, साथै बाशानका राजा ओगको देश अधिकार गरे। 23 अनि तपाईंले उनीहरूका सन्तानहरूलाई आकाशका ताराहरूझैं बढ़ाउनुभयो, र उनीहरूलाई त्यस देशमा ल्याउनुभयो, जसको विषयमा तपाईंले उनीहरूका पितापुर्खाहरूलाई ‘त्यसलाई अधिकार गर्न भित्र जानू’ भनी भन्नुभएको थियो। 24 अनि ती सन्तानहरू भित्र गए, उनीहरूले त्यो देश कब्जा गरे; अनि उनीहरूकै सामु तपाईंले त्यस देशका बासिन्दाहरूलाई अर्थात् कनानीहरूलाई अधीनतामा पारिदिनुभयो, अनि तिनीहरूलाई, साथै तिनीहरूका राजाहरू र त्यस देशका मानिसहरूलाई उनीहरूले तिनीहरूसित आफ्नो इच्छाअनुसार गरून् भनी उनीहरूको हातमा दिनुभयो। 25 अनि उनीहरूले पर्खालले घेरिएका शहरहरू र मलिलो देश कब्जा गरे, र सबै उत्तम थोकहरूले भरिएका घरहरू, खनिएका इनारहरू, दाखबारीहरू, जैतुनबारीहरू र प्रशस्त फल दिने रूखहरू अधिकार गरे; अनि उनीहरूले खाए, र तृप्त भए, अनि मोटा भए; अनि तपाईंको ठूलो भलाइको कारणले उनीहरूले सुख उपभोग गरे।
26 तर उनीहरू अनाज्ञाकारी भए, र उनीहरूले तपाईंको विरुद्ध विद्रोह गरे, अनि तपाईंको व्यवस्था आफ्नो पिठ्यूँको पछिल्तिर फ्याँकिदिए, साथै उनीहरूलाई तपाईंकहाँ फर्काउन भनी उनीहरूको विरोधमा साक्षी दिने तपाईंका भविष्यवक्ताहरूलाई मारे, र ठूला-ठूला रिस उठाउने कामहरू गरे। 27 यसकारण तपाईंले उनीहरूलाई उनीहरूका शत्रुहरूको हातमा सुम्पिदिनुभयो, जसले उनीहरूलाई सताए; अनि उनीहरूको सङ्कष्टको बेलामा उनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट उनीहरूको पुकार सुन्नुभयो; अनि तपाईंका अपार कोमल कृपाहरूअनुसार तपाईंले उनीहरूलाई उद्धारकहरू दिनुभयो, जसले उनीहरूलाई उनीहरूका शत्रुहरूको हातबाट बचाए। 28 तर विश्राम पाएपछि उनीहरूले तपाईंको सामु फेरि खराबी गरे; यसकारण तपाईंले उनीहरूलाई उनीहरूका शत्रुहरूको हातमा छोड़िदिनुभयो; र तिनीहरूले उनीहरूमाथि शासन गरे; तैपनि जब उनीहरू तपाईंकहाँ फर्कन्थे र तपाईंलाई पुकार्थे, तब तपाईंले स्वर्गबाट उनीहरूको पुकार सुन्नुभयो; अनि धेरै पल्ट तपाईंले आफ्ना कोमल कृपाहरूअनुसार उनीहरूलाई छुटकारा दिनुभयो; 29 अनि उनीहरूलाई तपाईंको व्यवस्थामा फर्काएर ल्याउनलाई तपाईंले उनीहरूको विरोधमा साक्षी दिनुभयो; तैपनि उनीहरूले घमण्डसाथ व्यवहार गरे, र तपाईंका आज्ञाहरू पालन गरेनन्, तर तपाईंका न्याय-वचनहरूको विरुद्ध पाप गरे, (कुनै मानिसले ती न्याय-वचनहरू पालन गर्यो भने तिनैको कारणले त्यो जिउनेछ); अनि उनीहरूले तपाईंतर्फ आफ्नो हठी पिठ्यूँछ फर्काए, आफ्नो गर्दन कड़ा पारे र सुनेनन्। 30 तर धेरै वर्षसम्म तपाईंले उनीहरूसित धीरज धर्नुभयो, र आफ्ना भविष्यवक्ताहरूद्वारा तपाईंको आत्माले उनीहरूको विरोधमा साक्षी दिनुभयो; तैपनि उनीहरूले कान लगाएनन्; यसैकारण तपाईंले उनीहरूलाई देश-देशका मानिसहरूको हातमा सुम्पिदिनुभयो। 31 तैपनि आफ्ना अपार कोमल कृपाहरूको कारणले तपाईंले उनीहरूलाई पूरै नाश पार्नुभएन, र उनीहरूलाई त्याग्नुभएन; किनभने तपाईं अनुग्रहकारी र दयालु परमेश्वर हुनुहुन्छ।
32 यसकारण अब हे हाम्रा परमेश्वर, महान्, पराक्रमी र भययोग्य परमेश्वर! तपाईं, जसले आफ्नो वाचा र करुणा कायम राख्नुहुन्छ, अश्शूरका राजाहरूका समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा शासकहरू, हाम्रा पूजाहारीहरू, हाम्रा भविष्यवक्ताहरू, हाम्रा पितापुर्खाहरू र तपाईंको सारा प्रजामाथि परिआएको सारा क्लेश तपाईंको सामु सानो देखा नपरोस्! 33 तर हामीमाथि जे-जति आइपरेको छ, यसको सम्बन्धमा तपाईं धर्मी हुनुहुन्छ; किनकि तपाईंले सठीकज काम गर्नुभएको छ, तर हामीले चाहिँ दुष्ट काम गरेका छौं। 34 अनि हाम्रा राजाहरूले, हाम्रा शासकहरूले, हाम्रा पूजाहारीहरूले र हाम्रा पितापुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेनन्, अनि तपाईंका आज्ञाहरू र तपाईंका साक्षी-वचनहरू मानेनन्झ, जसद्वारा तपाईंले उनीहरूको विरोधमा साक्षी दिनुभएको थियो। 35 किनभने उनीहरूले न आफ्नो राज्यमा, न तपाईंले उनीहरूलाई देखाउनुभएको ठूलो भलाइमा, न तपाईंले उनीहरूको सामु राखिदिनुभएको त्यस फराकिलो र मलिलो देशमा नै तपाईंको सेवा गरे, न ता उनीहरू आफ्ना दुष्ट कामहरूबाट फर्के। 36 हेर्नुहोस्, आजको दिनमा हामी कमाराहरू भएका छौं; अनि जुन देश तपाईंले हाम्रा पितापुर्खाहरूलाई त्यसको फल र त्यसको उत्तम थोक खान पाऊन् भनी दिनुभएको थियो, हेर्नुहोस्, हामी त्यही देशमा कमाराहरू भएका छौं। 37 अनि तपाईंले हाम्रा पापहरूको कारणले हामीमाथि खटाउनुभएका राजाहरूका निम्ति त्यसले प्रशस्त उब्जनी दिन्छ; अनि तिनीहरूले हाम्रा शरीरहरूमाथि र हाम्रा पशुहरूमाथि पनि आफ्नो इच्छाअनुसार शासन गर्छन्; र हामीचाहिँ ठूलो सङ्कष्टमा छौं। 38 अनि यो सबै कारणले गर्दा हामी एउटा पक्का वाचा बाँध्दैछौं, र लेख्छौं; अनि हाम्रा शासकहरू, लेवीहरू र पूजाहारीहरूले यसमा सही-छाप लाउँछन्।”