व्यवस्थाको पुस्तकको सामूहिक वाचन
8
अनि सबै मानिसहरू पानीको मूलढोकाको सामु भएको खुला जग्गामा एउटै मानिसझैं गरी भेला भए; अनि तिनीहरूले शास्त्री एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउनू भनी भने, जुन व्यवस्था परमप्रभुले इस्राएललाई आज्ञा गर्नुभएको थियो। 2 अनि पूजाहारी एज्राले सातौं महिनाको पहिलो दिनमा पुरुषहरू, स्त्रीहरू र सुनेको कुरा बुझ्न सक्ने सबैको समुदायको सामु त्यो व्यवस्थाको पुस्तक ल्याए। 3 अनि तिनले त्यसबाट पानीको मूलढोकाको सामु भएको खुला जग्गाको अघि उज्यालो भएको समयदेखि मध्यदिनसम्म यी पुरुषहरू, स्त्रीहरू र बुझ्न सक्नेहरूको सामु पढ़ेर सुनाए; अनि सबै मानिसहरूका कानहरूले व्यवस्थाको पुस्तकमा ध्यान दिए। 4 अनि शास्त्री एज्रा एउटा काठको मञ्चमाथि उभिए, जुन मञ्च तिनीहरूले त्यही कामका निम्ति बनाएका थिए; अनि तिनको छेउमा तिनको दाहिने हातपट्टि मत्तित्याह, शेमा, अनायाह, ऊरियाह, हिल्कियाह र मासेयाह उभिए, र तिनको देब्रे हातपट्टि पदायाह, मिशाएल, मल्कियाह, हाशूम, हश्बदाना, जकर्याह र मशुल्लाम उभिए। 5 अनि एज्राले सबै मानिसहरूका आँखाको सामु त्यो पुस्तक खोले; किनकि तिनी सबै मानिसहरूभन्दा उच्च ठाउँमा थिए; अनि जब तिनले त्यसलाई खोले, तब सबै मानिसहरू खड़ा भए; 6 अनि एज्राले परमप्रभु महान् परमेश्वरलाई धन्यको भने। अनि सबै मानिसहरूले आफ्ना हातहरू उठाएर जवाफ दिए: “आमेन! आमेन!” अनि तिनीहरूले आफ्ना शिरहरू झुकाए, र भुइँतिर मुख फर्काएर परमप्रभुलाई दण्डवत् गरे। 7 अनि येशूअ, बानी, शेरेब्याह, यामिन, अक्कूब, शब्बतै, होदियाह, मासेयाह, कलिता, अजर्याह, योजाबाद, हानान, पलायाह र लेवीहरूले मानिसहरूलाई व्यवस्था बुझाइदिए; अनि मानिसहरू आफ्नो ठाउँमा उभिरहे। 8 यसरी तिनीहरूले त्यस पुस्तकबाट, परमेश्वरको व्यवस्थाबाट स्पष्ट हुने गरी पढ़ेर सुनाए, त्यसको अर्थ लगाइदिए र तिनीहरूलाई पढ़ेको कुरा बुझाइदिए।9 अनि नहेम्याहले, जो तिर्शाताक थिए, अनि पूजाहारी-शास्त्री एज्रा र मानिसहरूलाई बुझाइदिने लेवीहरूले सबै मानिसहरूलाई यसो भने: “आजको दिन परमप्रभु तिमीहरूका परमेश्वरका निम्ति पवित्र छ; विलाप नगर, र नरोओ!” किनकि व्यवस्थाका वचनहरू सुनेर सबै मानिसहरू रोइरहेका थिए। 10 तब नहेम्याहलेख तिनीहरूलाई भने: “आफ्नो बाटो लाग, स्वादिष्ट भोजन खाओ र मीठा-मीठा पिओ! अनि जसका निम्ति केही तयार गरिएको छैन, तिनीहरूलाई भागहरू पठाइदेओ; किनभने आजको दिन हाम्रा परमप्रभुका निम्ति पवित्र छ; उदास नहोओ; किनकि परमप्रभुको आनन्द नै तिमीहरूको बल हो।” 11 तब यी लेवीहरूले सबै मानिसहरूलाई यसो भन्दै शान्त गराए: “चूप लाग; किनभने आजको दिन पवित्र छ; अनि उदास नहोओ!” 12 तब सबै मानिसहरू खान, पिउन, भागहरू पठाइदिन र ठूलो आनन्द मनाउनलाई आफ्नो बाटो लागे; किनकि तिनीहरूलाई सुनाइएका वचनहरू तिनीहरूले बुझेका थिए।
कैदबाट फर्केका इस्राएलीहरूले झुपड़ीहरूको चाड़ मनाउँछन्
13 अनि दोस्रो दिनमा सबै मानिसका पितापुर्खाहरूका घरानाका प्रधानहरू, पूजाहारीहरू र लेवीहरू शास्त्री एज्राकहाँ व्यवस्थाका वचनहरू बुझ्न नै भेला भए। 14 परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको व्यवस्थाको पुस्तकमा तिनीहरूले के लेखिएको भेट्टाए भने, ‘इस्राएलीहरू सातौं महिनाको चाड़मा झुपड़ीहरूमा बस्नुपर्छ; 15 अनि तिनीहरूले आफ्ना सबै शहरहरूमा र यरूशलेममा प्रचार गरेर यसो भन्दै घोषणा गर्नुपर्छ: “बाहिर पहाड़हुँदोग जाओ, र जैतुनका हाँगाहरू, जङ्गली जैतुनका हाँगाहरू, मेहदीका हाँगाहरू, खजूरका हाँगाहरू र झ्याम्म परेका रूखहरूका हाँगाहरू ल्याएर झुपड़ीहरू बनाओ!” ’ 16 तब मानिसहरू निस्केर गए, र ती हाँगाहरू ल्याए, अनि हरेकले आ-आफ्नो घरको छानामा, साथै तिनीहरूका चोकहरूमा, परमेश्वरको भवनका चोकहरूमा, पानीको मूलढोकाको खुला जग्गामा, एप्रेमको मूलढोकाको खुला जग्गामा आफ्ना निम्ति झुपड़ीहरू बनाए। 17 अनि कैदबाट फर्केर आएकाहरूको सारा समुदायले झुपड़ीहरू बनाए, र ती झुपड़ीहरूमा बसे; किनकि नूनका छोरा यहोशूका दिनहरूदेखि लिएर त्यस दिनसम्म इस्राएलीहरूले यसो गरेका थिएनन्। अनि त्यहाँ असाध्यै ठूलो रमाहट भयो।
18 अनि पहिलो दिनदेखि लिएर अन्तिम दिनसम्म एज्रालेख दिनहुँ परमेश्वरको व्यवस्थाको पुस्तकबाट पढ़ेर सुनाए। अनि तिनीहरूले सात दिनसम्म त्यो चाड़ मनाए; अनि आठौं दिनमा रीतिअनुसार एउटा महासभा भयो।