नहेम्याहलाई गिराउने सन्बलतको युक्ति
6
अनि यस्तो भयो: जब सन्बलत, तोब्याह र अरबी गेशेम, साथै हाम्रा बाँकी शत्रुहरूले मैले त्यो पर्खाल बनाइसकेको, र त्यसमा एउटै चिरा पनि बाँकी नरहेको सुने; (यद्यपि त्यस बेलासम्म मैले मूलढोकाहरूमा खापाहरू खड़ा गरेको थिइनँ); 2 तब सन्बलत र गेशेमले मलाई यसो भन्दै बोलाइपठाए: “आऊ, र ओनोको मैदानमा, गाउँहरूमा हामी आपसमा भेट गरौं!” तर तिनीहरूले मलाई हानि पुर्याउने विचार गरेका थिए। 3 अनि मैले तिनीहरूकहाँ यसो भन्दै दूतहरू पठाएँ: “म एउटा ठूलो काम गर्दैछु; यसैले म तल आउन सक्दिनँ; यस कामलाई छोड़ेर म तल तिमीहरूकहाँ आउँदा यो काम किन रोकियोस्?” 4 तैपनि तिनीहरूले मलाई यही प्रकारले चारपल्ट बोलाइपठाए; अनि मैले तिनीहरूलाई यही प्रकारले नै जवाफ दिएँ। 5 तब यही प्रकारले सन्बलतले पाँचौं पल्ट मकहाँ आफ्नो नोकरलाई त्यसको हातमा एउटा खुला पत्रसित पठाए। 6 त्यसमा यस्तो लेखिएको थियो: “अन्यजातिहरूको बीचमा यो सुनिँदैछ, र गेशेमले यो भन्दैछन्: तिमी र यहूदीहरूले विद्रोह गर्ने योजना रच्दैछौ रे; यही कारणले तिमीले त्यो पर्खाल बनाइरहेका छौ रे, र यी वचनहरूअनुसार तिमीचाहिँ तिनीहरूको राजा हुने रहेछौ। 7 अनि तिमीले आफ्नो विषयमा यसो भन्दै प्रचार गर्न यरूशलेममा भविष्यवक्ताहरूलाई पनि नियुक्त गरेका रहेछौ; अनि अब यी वचनहरूअनुसार राजालाई खबर दिइनेछ; यसकारण अब आऊ, र हामी एकसाथ सल्लाह गरौं!” 8 तब मैले यसो भन्दै तिनीकहाँ जवाफ पठाएँ: “तिमीले भनेजस्ता कुनै कामकुराहरू गरिएका छैनन्, तर यी कुराहरू तिमीले आफ्नै मनमा उब्जाउँदैछौ।” 9 किनकि ‘यो काम पूरा गर्नलाई तिनीहरूका हातहरू कमजोर होऊन्, र यो काम नगरिओस्!’ भन्दै तिनीहरू सबैले हामीलाई डर देखाउँदैथिए; “यसकारण अब हे परमेश्वर, मेरा हातहरू बलियो तुल्याइदिनुहोस्!”10 त्यसपछि म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ, जो थुनामा थिए; अनि तिनले भने: “हामी परमेश्वरको भवनमा, मन्दिरभित्र भेट गरौं, र मन्दिरका ढोकाहरू बन्द गरौं; किनभने तिनीहरू तपाईंलाई मार्न आउनेछन्; अँ, राति तिनीहरू तपाईंलाई मार्न आउनेछन्।” 11 अनि मैले भनें: “के मजस्तो मानिस भाग्छ र? अनि कुनचाहिँ मानिस होला, जो मजस्तो भएर आफ्नो प्राण बचाउन मन्दिरभित्र जान्छ? म भित्र जानेछैनँ।” 12 अनि हेर, परमेश्वरले तिनलाई पठाउनुभएको होइन रहेछ, तर तिनले त्यो भविष्यवाणी मेरो विरोधमा भनेका रहेछन् भनी मैले चाल पाएँ; किनकि तोब्याह र सन्बलतले तिनलाई भाड़ामा लिएका थिए। 13 म डराऊँ, र त्यस्तै गरेर पाप गरूँ भन्ने हेतुले तिनलाई भाड़ामा लिइयो; तब तिनीहरूले मेरो बदनाम गर्ने कुरा पाउनेथिए र मेरो निन्दा गर्नेथिए। 14 “हे मेरा परमेश्वर, तिनीहरूका कामहरूअनुसार तोब्याह र सन्बलतलाई सम्झनुहोस्! साथै भविष्यवक्तिनी नोअद्याह र बाँकी भविष्यवक्ताहरूलाई पनि सम्झनुहोस्, जसले मलाई डरत्रासमा पार्न चाहेका थिए!”
यरूशलेमको पर्खाल सिद्धियो
15 यसरी यो पर्खालको काम एलूलक महिनाको पचीसौं दिनमा, बाउन्न दिनभित्र सिद्धियो। 16 अनि यस्तो भयो: जब हाम्रा सबै शत्रुहरूले यो कुरा सुने, र हाम्रो वरिपरिका सबै अन्यजातिहरूले यी सबै कुराहरू देखे, तब तिनीहरू आफ्नो दृष्टिमा धेरै तल खसे; किनभने यो काम हाम्रा परमेश्वरद्वारा पूरा भएको हो भनी तिनीहरूले थाहा पाए।
17 यसबाहेक ती दिनहरूमा यहूदाका भारदारहरूले तोब्याहलाई धेरै पत्रहरू पठाउँथे, र तोब्याहका पत्रहरू उनीहरूकहाँ आउँथे। 18 किनभने यहूदाका धेरैजनाले त्यससित शपथ खाएका थिए; किनकि त्यो आरहका छोरा शकन्याहका जुवाइँ थियो; अनि त्यसका छोरा यहोहानानले बेरेक्याहका छोरा मशुल्लामकी छोरीलाई विवाह गरेकोख थियो; 19 साथै तिनीहरूले तोब्याहकाग असल कामहरू मेरो सामु सुनाउने पनि गर्थे र मेरा कुराहरू त्यसलाई सुनाउँथे। अनि तोब्याहले मलाई भयभीत पार्न पत्रहरू पठाउने गर्थ्यो।