गरिब इस्राएली दाजुभाइहरू शोषणमुक्त
5
अनि मानिसहरू र तिनीहरूका पत्‍नीहरूको ठूलो चिच्च्याहट आफ्ना यहूदी दाजुभाइहरूको विरोधमा उठ्यो। 2 किनकि कतिले यसो भन्दैथिए: “हामी, हाम्रा छोराहरू र हाम्रा छोरीहरू धेरै छौं; यसकारण हामीहरूले तिनीहरूका निम्ति अन्‍न पाऔं, र खाएर हामी बाँच्‍न सकौं!” 3 अनि अरू कतिले यसो भन्दैथिए: “अनिकालको कारणले हामीले अन्‍न पाऔं भनेर आफ्ना खेतबारीहरू, दाखबारीहरू र घरहरू बन्धक राखेका छौं।” 4 अनि अरू कतिले यसो भन्दैथिए: “आफ्ना खेतबारीहरू र आफ्ना दाखबारीहरू बन्धक राखेर हामीले राजाको कर तिर्नलाई पैसा लिएका छौं। 5 तरै पनि अब हाम्रो शरीर हाम्रै दाजुभाइहरूको शरीरजस्तै हो; हाम्रा छोराछोरीहरू तिनीहरूकै छोराछोरीहरूजस्ता हुन्; अनि हेर, हामीले आफ्ना छोराहरू र आफ्ना छोरीहरूलाई कमारा तुल्याउँदैछौं, र हाम्रा छोरीहरूमध्ये कोही-कोही त कमारीहरू भइसके; अनि तिनीहरूलाई छुटाउने हाम्रो सामर्थ्य छैन; किनकि हाम्रा खेतबारीहरू र हाम्रा दाखबारीहरू अरूका भइसकेका छन्।”
6 अनि जब मैले तिनीहरूको चिच्च्याहट र यी शब्दहरू सुनें, तब म साह्रै रिसाएँ। 7 तब मैले मनमनमा सोचविचार गरें; अनि मैले भारदारहरू र शासकहरूलाई हप्काएँ, र उनीहरूलाई भनें: “तिमीहरू हरेकले आ-आफ्नै भाइबाट ब्याज लिन्छौ; कसरी?” अनि मैले उनीहरूको विरोधमा ठूलो सभा राखें। 8 अनि मैले उनीहरूलाई भनें: “हामीले त अन्यजातिहरूको हातमा बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई हाम्रो औकातअनुसार दाम तिरेर छुटाएका छौं; अनि के तिमीहरूचाहिँ आफ्ना दाजुभाइहरूलाई बेच्छौ? अथवा के तिनीहरू हामीकहाँ नै बिक्री गरिऊन् त?” तब उनीहरू चुप लागे, र केही पनि जवाफ दिन सकेनन्। 9 अनि मैले भनें: “तिमीहरू जे गरिरहेका छौ, सो ठीक छैन; हाम्रा अन्यजाति शत्रुहरूको निन्दाको कारणले के तिमीहरू हाम्रा परमेश्‍वरको डरमा हिँड़्नुपर्दैन र? 10 यसरी नै मैले, मेरा दाजुभाइहरूले र मेरा सेवकहरूले तिनीहरूलाई पैसा र अन्‍न पैंचोको रूपमा दिन्छौं; म तिमीहरूलाई आग्रह गर्दछु: यस्तो ब्याज लिने काम बन्द गरौं! 11 म तिमीहरूलाई आग्रह गर्दछु: आजको दिनमै तिनीहरूका खेतबारीहरू, तिनीहरूका दाखबारीहरू, तिनीहरूका जैतुनबारीहरू र तिनीहरूका घरहरू तिनीहरूलाई फर्काइदेओ; साथै तिमीहरूले तिनीहरूबाट लिएका पैसा, अन्‍न, दाखमद्य र तेलको एक प्रतिशत फर्काइदेओ!” 12 तब उनीहरूले भने: “हामी ती थोकहरू फर्काइदिनेछौं, र तिनीहरूबाट अरू केही माग्‍नेछैनौं; यसरी नै हामी तपाईंले भन्‍नुभएजस्तै गर्नेछौं।” तब मैले पूजाहारीहरूलाई बोलाएँ, र उनीहरूले यही प्रतिज्ञाअनुसार गरून् भनेर उनीहरूलाई शपथ खान लगाएँ; 13 अनि मैले आफ्नो खास्टोको आँचल टकटक्याएर भनें: “यसरी नै परमेश्‍वरले यो प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसलाई त्यसको घरबाट र त्यसको परिश्रमबाट टकटक्याइदिऊन्; अँ, यसरी नै त्यो टकटक्याइएको र रित्तो पारिएको होस्!” अनि भेला भएका सबै मानिसहरूले “आमेन!” भने र परमप्रभुको प्रशंसा गरे। अनि ती मानिसहरूले यही प्रतिज्ञाअनुसार गरे।
शोषणको सम्बन्धमा नहेम्याहको असल नमुना
14 त्यसबाहेक यहूदा देशमा म तिनीहरूको राज्यपाल नियुक्त भएको दिनदेखि, अर्थात् राजा अर्तक्जर्जेसको बीसौं वर्षदेखि बत्तीसौं वर्षसम्म, यी बाह्र वर्षसम्म, मैले र मेरा दाजुभाइहरूले राज्यपालले पाउनुपर्ने भोजन खाएका थिएनौं। 15 तर मभन्दा पहिलेका राज्यपालहरूले यस प्रजामाथि गह्रौं भारीहरू लदाउँथे, अनि चालीस चाँदीको शेकेलबाहेक तिनीहरूबाट रोटी र दाखमद्य पनि लिन्थे; अँ, उनीहरूका नोकरहरूले पनि यस प्रजामाथि शासन गर्थे; तर मैले चाहिँ परमेश्‍वरको डरको कारणले यस्तो गरिनँ। 16 अँ, यस पर्खाल बनाउने काममा पनि म लागिरहें; अनि हामीले कुनै जमिन किनेनौं; अनि मेरा सबै सेवकहरू यस कामका निम्ति त्यहाँ भेला हुन्थे। 17 अनि हाम्रो वरिपरिका अन्यजातिहरूको बीचबाट हामीकहाँ आएका मानिसहरूबाहेक मेरो टेबलमा एक सय पचासजना यहूदीहरू, र शासकहरू पनि खान बस्थे 18 अनि दिनहुँ मेरा निम्ति तयार गरिन्थे: एउटा गोरु र छवटा छानिएका भेड़ाहरू; साथै पक्षीहरू पनि तयार गरिन्थे, अनि दस-दस दिनमा सबै किसिमका दाखमद्य प्रशस्त हुने गरी दिइन्थे; यस्तो भए तापनि राज्यपालले पाउनुपर्ने भोजन मैले खाइनँ; किनभने यस प्रजामाथि दासत्वको गह्रौं भारी थियो।
19 “हे मेरा परमेश्‍वर! मैले यस प्रजाका निम्ति जे गरेको छु, त्यस सारा कामअनुसार मेरो भलाइका निम्ति मलाई सम्झनुहोस्!”