सन्बलत र तोब्याहको खिसी र विरोध
4
तर यस्तो भयो: हामीले त्यो पर्खाल निर्माण गरिरहेको कुरा जब सन्बलतले सुने, तब तिनी क्रोधित भए, र साह्रै रिसाए; अनि तिनले यहूदीहरूलाई खिसी गरेर हाँसे। 2 अनि तिनले आफ्ना दाजुभाइहरू र सामरियाको सेनाको सामु बोलेर यसो भने: “यी निर्बल यहूदीहरूले के गरिरहेका छन्? के तिनीहरूले आफैलाई बलियो तुल्याउनेछन् र? के तिनीहरूले बलि चढ़ाउनेछन्? के तिनीहरूले एकै दिनमा सिद्ध्याउनेछन्? के तिनीहरूले जलिसकेको यस धूलोमैलाका थाकहरूबाट ढुङ्गाहरू निकाली पुनर्जीवित पार्नेछन्?” 3 अनि तिनको छेउमा अम्मोनी तोब्याह थियो, जसले भन्यो: “तिनीहरूले जेसुकै बनाइरहे तापनि त्यसमाथि एउटा स्याल चढ्‍यो भने पनि तिनीहरूको ढुङ्गाको पर्खाल भत्किनेछ।” 4 “हे हाम्रा परमेश्‍वर, सुन्‍नुहोस्; किनकि हामी तुच्छ ठानिएका छौं! अनि तिनीहरूको निन्दा तिनीहरूकै टाउकोमाथि फर्काइदिनुहोस्, र कैदको देशमा तिनीहरूलाई लुटको मालको रूपमा दिइहाल्नुहोस्! 5 अनि तिनीहरूको अपराधलाई नढाक्नुहोस्, र तिनीहरूको पाप तपाईंको नजरबाट नमेटियोस्; किनभने तिनीहरूले निर्माण गर्नेहरूको सामु तपाईंको रिस उठाएका छन्।” 6 तब हामीले त्यो पर्खाल निर्माण गर्दैरह्‍यौं; अनि सारा पर्खाल त्यसको आधा उचाइसम्म जोड़ियो; किनकि मानिसहरूमा काम गर्ने मन थियो।
7 तर यस्तो भयो: जब सन्बलत र तोब्याह, अनि अरबीहरू, अम्मोनीहरू र अशदोदीहरूले यरूशलेमका पर्खालहरूको बनाउने कामले उन्‍नति गरिरहेको, र धाँदाहरू पनि पुरिन थालेको कुरा सुने, तब तिनीहरू साह्रै रिसाए। 8 अनि तिनीहरू सबैले एकसाथ आएर यरूशलेमको विरोधमा लड़ाइँ गर्ने र त्यसमा बाधा दिने षड़्यन्‍त्र रचे। 9 तर हामीले आफ्ना परमेश्‍वरलाई प्रार्थना चढ़ायौं, र तिनीहरूको कारणले दिनरात तिनीहरूको विरोधमा पहरा राख्यौं। 10 अनि यहूदाले भने: “भारी बोक्नेहरूको बल घटिसक्यो, र धूलोमैला धेरै छ; यसैले हामी यो पर्खाल बनाउन सक्दैनौं।” 11 अनि हाम्रा विरोधीहरू भन्थे: “हामी तिनीहरूको बीचमा पुगेर तिनीहरूलाई नमारुन्जेल र त्यो काम बन्द नगरुन्जेल तिनीहरूले चाल पाउनेछैनन्, न ता देख्‍ने नै छन्।” 12 अनि यस्तो भयो: जब तिनीहरूका छेउछाउमा बस्‍ने यहूदीहरू आए, तब उनीहरूले हामीलाई दसपल्ट यसो भने: “तिमीहरू जता फर्के पनि, ती सबै ठाउँहरूबाट तिनीहरू हामीमाथि आइलाग्‍नेछन्।” 13 यसकारण पर्खालको पछाड़िपट्टि तल्‍ला ठाउँहरूमा भएका खुला ठाउँहरूमा मैले मानिसहरूलाई राखें; अँ, मैले मानिसहरूलाई तिनीहरूका घरानाअनुसार तिनीहरूका तरवारहरू, तिनीहरूका भालाहरू र तिनीहरूका धनुहरूसहित राखें। 14 अनि मैले हेरें, र उठें, अनि भारदारहरू, शासकहरू र बाँकी मानिसहरूलाई भनें: “तिनीहरूसँग नडराओ! महान् र भययोग्य प्रभुको सम्झना गर! अनि आफ्ना दाजुभाइहरू, आफ्ना छोराहरू र आफ्ना छोरीहरू, आफ्ना पत्‍नीहरू र आफ्ना घरहरूका निम्ति लड़ाइँ गर!”
15 अनि यस्तो भयो: यो कुरा हामीलाई थाहा भयो, र परमेश्‍वरले तिनीहरूको युक्ति विफल पार्नुभयो भन्‍ने कुरा जब हाम्रा शत्रुहरूले सुने, तब हामी सबै पर्खालमा, हरेक आ-आफ्नो काममा फर्क्यौं। 16 अनि त्यस दिनदेखि उसो यस्तो भयो: मेरा आधा सेवकहरू काममा लागिरहे, र तिनीहरूको अर्को आधा भागले चाहिँ भालाहरू, ढालहरू, धनुहरू र कवचहरू पक्रेर बसे; अनि यहूदाको सारा घरानाको पछाड़ि शासकहरू थिए। 17 पर्खाल बनाउनेहरू र भारी बोक्नेहरू साथै भारी लदाउनेहरूले एक हातले काम गर्थे, र अर्को हातले हतियार पक्रन्थे। 18 किनकि बनाउनेहरू हरेकको कम्मरमा उसको तरवार बाँधिएको हुन्थ्यो; र यसरी नै तिनीहरूले बनाउँथे। अनि तुरही फुक्नेचाहिँ मेरो छेउमा हुन्थ्यो। 19 अनि मैले भारदारहरू, शासकहरू र बाँकी मानिसहरूलाई भनें: “कामचाहिँ ठूलो र फराकिलो छ; अनि हामीचाहिँ पर्खालमाथि एक-अर्कोबाट अलग, टाढ़ा-टाढ़ामा छौं। 20 यसैले जुन ठाउँमा तिमीहरूले तुरहीको आवाज सुन्छौ, त्यही ठाउँमा तिमीहरू हामीकहाँ भेला होओ! हाम्रा परमेश्‍वर हाम्रा निम्ति लड़्नुहुनेछ।”
21 यसरी नै हामी काम गर्दैरह्‍यौं; अनि आधी मानिसहरूचाहिँ दिनको उज्यालो खस्‍ने बेलादेखि ताराहरू देखा परुन्जेल भालाहरू पक्रेर बस्थे। 22 अँ, त्यही बेला मैले मानिसहरूलाई भनें: “हरेक मानिस आफ्नो नोकरको साथमा यरूशलेमभित्र वास बसोस्, र रातको समयमा तिनीहरूले हाम्रो रक्षा गरून्, र दिनमा चाहिँ काम गरून्!” 23 यसरी न मैले, न मेरा दाजुभाइहरूले, न मेरा सेवकहरूले, न मेरो पछि-पछि हिँड़्‍ने पहरेदारहरूले, अँ, हामीमध्ये कसैले पनि आफ्ना लुगाहरू फुकालेनौं; पानीका निम्ति जाँदा पनि हरेकसँग आफ्नो हतियार हुन्थ्यो।