यरूशलेमको पर्खालमा कस-कसले कुन-कुन भाग बनाउँछन्
3
तब महापूजाहारी एल्याशिब आफ्ना पूजाहारी दाजुभाइहरूसित उठे; अनि उनीहरूले भेड़ाको मूलढोका निर्माण गरे; उनीहरूले त्यसलाई पवित्र गरे, र त्यसका खापाहरू खड़ा गरे; अँ, उनीहरूले त्यसलाई मेआको धरहरा र हननेलको धरहरासम्म पवित्र गरे। 2 अनि तिनको छेउमा यरिहोका मानिसहरूले निर्माण गरे। अनि तिनीहरूको छेउमा इम्रीका छोरा जक्‍कूरले निर्माण गरे।
3 तर माछाको मूलढोका हस्सनाआका छोराहरूले निर्माण गरे, जसले त्यसका निदालहरू लगाए र त्यसका खापाहरू त्यसका तालाहरू र त्यसका आग्लाहरूसमेत खड़ा गरे। 4 अनि तिनीहरूको छेउमा ऊरियाहका छोरा, हक्‍कोजका नाति मरेमोतले मर्मत गरे। अनि तिनीहरूको छेउमा बेरेक्याहका छोरा, मशेजबेलका नाति मशुल्‍लामले मर्मत गरे। अनि तिनीहरूको छेउमा बानाका छोरा सादोकले मर्मत गरे। 5 अनि तिनीहरूको छेउमा टेकोईहरूले मर्मत गरे; तर तिनीहरूका भारदारहरूले आफ्ना प्रभुको काममा आफ्ना गर्दनहरू हालेनन्।
6 अनि पासेहका छोरा योयादा र बसोद्याहका छोरा मशुल्‍लामले पुरानो मूलढोका मर्मत गरे; तिनीहरूले त्यसका निदालहरू लगाए, र त्यसका खापाहरू त्यसका तालाहरू र त्यसका आग्लाहरूसमेत खड़ा गरे। 7 अनि तिनीहरूको छेउमा गिबोनी मलत्याह र मेरोनोती यादोन, अँ, गिबोन र मिस्पाका मानिसहरूले नदीवारिका राज्यपालको राज-आसनसम्म मर्मत गरे। 8 तिनको छेउमा सुनारहरूमध्ये एकजना हर्हयाहका छोरा उज्जिएलले मर्मत गरे। अनि तिनको छेउमा सुगन्धित अत्तर बनाउनेहरूमध्ये एकजनाका छोरा हनन्याहले मर्मत गरे; अनि तिनीहरूले चौड़ा पर्खालसम्म नै यरूशलेमलाई बलियो तुल्याइछोड़े। 9 अनि तिनीहरूको छेउमा यरूशलेमको आधा भागका शासक हूरका छोरा रपायाहले मर्मत गरे। 10 अनि तिनीहरूको छेउमा हरूमापका छोरा यदायाहले आफ्नै घरको सामु मर्मत गरे। अनि तिनको छेउमा हशब्न्याहका छोरा हत्तूशले मर्मत गरे। 11 हारिमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले अर्को भाग र भट्टीहरूको धरहरा मर्मत गरे। 12 अनि तिनको छेउमा यरूशलेमको आधा भागका शासक हल्‍लोहेशका छोरा शल्‍लूमले – तिनले र तिनका छोरीहरूले मर्मत गरे।
13 हानून र जानोहका बासिन्दाहरूले बेंसीको मूलढोका मर्मत गरे; तिनीहरूले त्यसलाई निर्माण गरे, र त्यसका खापाहरू त्यसका तालाहरू र त्यसका आग्लाहरूसमेत खड़ा गरे, अनि घुरानको मूलढोकासम्म एक हजार हात लामो पर्खाल पनि मर्मत गरे।
14 तर घुरानको मूलढोकाचाहिँ बेत-हक्‍केरेम जिल्‍लाका शासक रेकाबका छोरा मल्कियाहले मर्मत गरे; तिनले त्यसलाई निर्माण गरे, र त्यसका खापाहरू त्यसका तालाहरू र त्यसका आग्लाहरूसमेत खड़ा गरे।
15 तर मुहानको मूलढोकाचाहिँ मिस्पा जिल्‍लाका शासक कोलहोजेका छोरा शल्‍लूनले मर्मत गरे; तिनले त्यसलाई निर्माण गरे, त्यसको छाना लगाए र त्यसका खापाहरू त्यसका तालाहरू र त्यसका आग्लाहरूसमेत खड़ा गरे; अनि तिनले राजाको बगैंचाको छेउमा भएको शेलहको दहको पर्खाल पनि दाऊदको शहरबाट तल झर्ने सिँढ़ीसम्म निर्माण गरे।
16 तिनको पछि बेत-सूरको आधा जिल्‍लाका शासक अज्बूकका छोरा नहेम्याहले दाऊदका चिहानहरूको सामुसम्म, अनि त्यो बनाइएको दहसम्म, र शूरवीरहरूको घरसम्म मर्मत गरे।
17 तिनको पछि लेवीहरू, अँ, बानीका छोरा रहूमले मर्मत गरे। तिनको छेउमा कइलाको आधा जिल्‍लाका शासक हशब्याहले आफ्नो भाग मर्मत गरे। 18 तिनको पछि तिनका दाजुभाइहरूले, अँ, कइलाको आधा जिल्‍लाका शासक हेनादादका छोरा बव्वैले मर्मत गरे। 19 अनि तिनको छेउमा मिस्पाका शासक येशूअका छोरा एजेरले पर्खालको घुम्तीमा शस्त्रगृहको उकालोको सामु अर्को भाग मर्मत गरे। 20 तिनको पछि जब्बैका छोरा बारूकले त्यस घुम्तीदेखि महापूजाहारी एल्याशिबको घरको ढोकासम्म अर्को भाग तनमनले मर्मत गरे। 21 तिनको पछि ऊरियाहका छोरा, हक्‍कोजका नाति मेरेमोतले एल्याशिबको घरको ढोकादेखि लिएर एल्याशिबको घरको छेउसम्म अर्को भाग मर्मत गरे। 22 अनि तिनको पछि पूजाहारीहरूले अर्थात् मैदानमा बस्‍ने मानिसहरूले मर्मत गरे। 23 तिनको पछि बिन्यामिन र हश्शूबले आफ्नो घरको सामु मर्मत गरे। तिनको पछि मासेयाहका छोरा, हननियाहका नाति अजर्याहले आफ्नो घरको छेउमा मर्मत गरे। 24 तिनको पछि हेनादादका छोरा बिन्‍नूइले अजर्याहको घरदेखि पर्खालको घुम्ती, अँ, कुनासम्म अर्को भाग मर्मत गरे। 25 ऊजैका छोरा पालालले पर्खालको त्यस घुम्तीको सामुबाट र झ्यालखानाको चोकको छेउमा भएको माथिल्‍लो राजभवनदेखि बाहिर निस्केको धरहरा मर्मत गरे। तिनको पछि परोशका छोरा पदायाहले मर्मत गरे। 26 अनि नतिनिमहरू पूर्वपट्टि पानीको मूलढोका र बाहिर निस्केको त्यस धरहराको सामुसम्म ओपेलमा बस्थे। 27 तिनीहरूको पछि टेकोईहरूले बाहिर निस्केको त्यस ठूलो धरहराको सामुदेखि ओपेलको पर्खालसम्म अर्को भाग मर्मत गरे। 28 घोड़ाको मूलढोकाको मास्तिरदेखि पूजाहारीहरू हरेकले आ-आफ्नो घरको सामु मर्मत गरे। 29 तिनीहरूको पछि इम्मेरका छोरा सादोकले आफ्नो घरको सामु मर्मत गरे। अनि तिनको छेउमा पूर्वी मूलढोकाको पहरेदार शकन्याहका छोरा शमायाहले मर्मत गरे। 30 तिनको पछि शेलेम्याहका छोरा हनन्याह र सालापका छैटौं छोरा हानूनले अर्को भाग मर्मत गरे। तिनको पछि बेरेक्याहका छोरा मशुल्‍लामले आफ्नो कोठाको सामु मर्मत गरे। 31 तिनको पछि सुनारका छोरा मल्कियाहले मिप्कादको मूलढोकाको सामु भएको नतिनिमहरू र व्यापारीहरूको ठाउँसम्म र कुनाको उकालोसम्म मर्मत गरे। 32 अनि कुनाको उकालोदेखि लिएर भेड़ाको मूलढोकासम्म सुनारहरू र व्यापारीहरूले मर्मत गरे।