अन्यजातिहरूसँगको वैवाहिक सम्बन्धबाट उठेको समस्या
9
“अनि यी कुराहरू गरिएपछि शासकहरू मकहाँ यसो भन्दै आए: ‘इस्राएलका मानिसहरू, पूजाहारीहरू र लेवीहरूले यी देश-देशका जातिहरूबाट आफूलाई अलग राखेका छैनन्, तर यिनीहरूका अर्थात् कनानीहरू, हित्तीहरू, परिज्जीहरू, अम्मोनीहरू, मोआबीहरू, मिस्रीहरू र अमोरीहरूका घिनलाग्दा कामहरूअनुसार गरिरहेका छन्। 2 किनभने उनीहरूले आफ्ना निम्ति र आफ्ना छोराहरूका निम्ति यिनीहरूका छोरीहरूबाट ल्याएका छन्; यसैले उनीहरूले यस पवित्र वंशलाई यी देश-देशका जातिहरूसँग मिसाएका छन्; अँ, यस अपराधमा मुख्य हात अगुवाहरू र शासकहरूको नै भएको छ।’ 3 अनि जब मैले यो कुरा सुनें, तब मैले आफ्नो वस्त्र र आफ्नो खास्टो च्यातें, अनि मेरो कपालको र मेरो दाह्रीको केश उखेलें, अनि आकुल भएर बसें। 4 तब कैदमा लगिएकाहरूको अपराधको कारणले इस्राएलका परमेश्वरको वचन सुनेरक काम्नेहरू सबै मकहाँ भेला भए; अनि म बेलुकीको बलिदानको समयसम्म आकुल भएर बसिरहें।”एज्राको पाप-स्वीकार
5 “अनि बेलुकीको बलिदानको समयमा म आफ्नो व्याकुलताबाट उठें; अनि आफ्नो वस्त्र र आफ्नो खास्टो च्यातेर मैले आफ्ना घुँड़ा टेकें, र परमप्रभु मेरा परमेश्वरतर्फ आफ्ना हातहरू फैलाएँ, 6 र भनें: ‘हे मेरा परमेश्वर, म लज्जित छु; हे मेरा परमेश्वर, मेरो अनुहार तपाईंतर्फ उठाउँदा म शर्मले रातो हुन्छु; किनभने हाम्रा अधर्महरूले संख्यामा बढ़ेर हाम्रो शिर नाघेका छन्, र हाम्रा अपराधहरू स्वर्गसम्म बढ़ेर गएका छन्। 7 हाम्रा पितापुर्खाहरूका दिनहरूदेखि आजको दिनसम्म हामी ठूलो अपराधमा थियौं; अनि हाम्रा अपराधहरूले गर्दा हामीचाहिँ – हामी, हाम्रा राजाहरू र हाम्रा पूजाहारीहरू देश-देशका राजाहरूको हातमा तरवार, कैद, लुट र चेहराको शर्मका निम्ति सुम्पिइएका थियौं, जस्तो आजको दिनमा छ। 8 अनि अब थोरै समयका निम्ति हाम्रा लागि एउटा बाँकी रहेको भागलाई उम्कन दिएर, र उहाँको पवित्रस्थानमा हामीलाई एउटा कीला दिएर परमप्रभु हाम्रा परमेश्वरबाट अनुग्रह देखाइएको छ; यसबाट हाम्रा परमेश्वरले हाम्रा आँखाहरू उज्यालो पार्नुभएको छ, र हाम्रो बन्धनमा हामीलाई थोरै विश्रान्ति दिनुभएको छ। 9 किनभने हामी दासहरू थियौं; तैपनि हाम्रा परमेश्वरले हामीलाई हाम्रो बन्धनमा छोड़्नुभएको छैन, तर हामीलाई विश्रान्ति दिनलाई, हाम्रा परमेश्वरको भवन खड़ा गर्नख र त्यसका उजाड़ ठाउँहरू मर्मत गर्नग, साथै यहूदा र यरूशलेममा हामीलाई एउटा पर्खाल दिनलाई फारसका राजाहरूको दृष्टिमा हामीमाथि दया देखाउनुभएको छ। 10 अनि अब हे हाम्रा परमेश्वर, यो भएपछि हामी के भनौं? किनभने हामीले तपाईंका आज्ञाहरूलाई त्यागेका छौं, 11 जुन आज्ञाहरू तपाईंले तपाईंका दासहरू अर्थात् भविष्यवक्ताहरूद्वारा यसो भन्दै आज्ञा गर्नुभएको थियो: “जुन देशलाई अधिकार गर्न जहाँ तिमीहरू जाँदैछौ, त्यो देश देश-देशका जातिहरूको फोहोरीपनालेघ गर्दा, तिनीहरूका घिनलाग्दा थोकहरूले गर्दा फोहोर भएकोघ देश हो, जुन जातिहरूले त्यसलाई एक छेउदेखि अर्को छेउसम्म आफ्ना अशुद्धताले भरिदिएका छन्। 12 यसकारण अब तिमीहरूका छोरीहरू तिनीहरूका छोराहरूलाई नदेओ, न ता तिनीहरूका छोरीहरू आफ्ना छोराहरूका निम्ति लेओ! अनि तिनीहरूको उन्नति र तिनीहरूको भलाइ कहिल्यै नखोज! तब तिमीहरू बलिया हुनेछौ, देशको उत्तम थोक खानेछौ र यो सधैंका निम्ति पैतृक सम्पत्तिको रूपमा आफ्ना छोराछोरीहरूलाई छोड़्नेछौ।” 13 अनि हाम्रा दुष्ट कामहरूको कारणले, र हाम्रो ठूलो अपराधको कारणले यो सबै हामीमाथि आइपरेपछि पनि, (किनकि तपाईं हाम्रा परमेश्वरले हामीलाई हाम्रा अधर्महरूलाई सुहाउँदोभन्दा कम दण्ड दिनुभएको छ, र हामीलाई योजस्तो छुटकारा दिनुभएको छ), 14 के हामी फेरि तपाईंका आज्ञाहरू भङ्ग गरौं, र यी घिनलाग्दा कामहरू गर्ने जातिहरूसित वैवाहिक सम्बन्ध जोड़ौं? त के तपाईं हामीसँग, हामीलाई सखाप पार्नुभएसम्म रिसाउनुहुनेथिएन र, यहाँसम्म कि कोही बाँकी रहनेथिएन, र कुनै छुटकारा हुनेथिएन? 15 हे परमप्रभु इस्राएलका परमेश्वर, तपाईं धर्मी हुनुहुन्छ; किनकि हामी अझ उम्केर रहेका छौं, जस्तो आजको दिनमा छँदैछ। हेर्नुहोस्, हामी तपाईंको सामु आफ्ना अपराधहरूमा छौं; किनकि यसले गर्दा हामी तपाईंको सामु खड़ा रहन सक्दैनौं।’ ”