राजा दाराले परमप्रभुको भवन बनाउने आदेश दिन्छन्
6
तब राजा दाराले हुकुम गरे, र पुस्तकहरू राख्ने घरमा खोजतलाश गरियो, जहाँ बाबेलका मूल्यवान् वस्तुहरू राखिएका थिए। 2 अनि अक्मतामाक, मादीहरूको प्रान्तमा भएको दरवारमा एउटा पुस्तकको मुठा पाइयो, जसमा एक विवरण थियो, जुन विवरण यस प्रकारले लेखिएको थियो: 3 ‘कोरेस राजाको पहिलो वर्षमा, यी कोरेस राजाले यरूशलेममा भएको परमेश्वरको भवनको सम्बन्धमा हुकुम गरे: “त्यो भवन बनियोस्, त्यही ठाउँ, जहाँ तिनीहरूले बलिदानहरू चढ़ाउने गर्थे; अनि त्यसका जगहरू बलियो गरी बसालिऊन्; त्यसको उचाइ साठी हात, र त्यसको चौड़ाइ साठी हात होस्; 4 ठूला-ठूला ढुङ्गाहरूका तीनवटा लहर होऊन्, र एक लहरचाहिँ नयाँ काठको होस्; अनि खर्चहरूचाहिँ राजभवनबाट दिइयोस्! 5 अनि परमेश्वरको भवनका सुन र चाँदीका जुन भाँड़ाकुँड़ाहरू नबूकद्नेस्सरले यरूशलेममा भएको मन्दिरबाट निकालेर लगेका थिए र बाबेलमा ल्याएका थिए, ती भाँड़ाकुँड़ाहरू पनि फिर्ता दिइऊन् र यरूशलेममा भएको मन्दिरमा तिनीहरूको आ-आफ्नो ठाउँमा लगिऊन्; अनि ती परमेश्वरको भवनमा राखिऊन्!” ’ 6 “यसकारण अब नदीपारिका राज्यपाल तत्त्नै, शतर-बोज्नै र तिमीहरूका सङ्गी अफर्सकीहरू, जो नदीको पारिपट्टि छौ, तिमीहरू त्यहाँबाट टाढ़ा बस! 7 परमेश्वरको त्यस भवनको कामलाई छोड़िदेओ! यहूदीहरूका राज्यपाल र यहूदीहरूका बूढ़ा प्रधानहरूले परमेश्वरको त्यो भवन त्यसकै ठाउँमा निर्माण गरून्! 8 साथै परमेश्वरको त्यस भवनको बनाउने कामका निम्ति तिमीहरूले ती यहूदीहरूका बूढ़ा प्रधानहरूलाई के-के गर्नुपर्ने हो, सो म हुकुम गर्दैछु: राजाको सम्पत्तिबाट अर्थात् नदीपारिको करबाट झट्टै ती मानिसहरूलाई खर्च दिइयोस्, र उनीहरूले रोकिनु नपरोस्! 9 अनि तिनीहरूलाई जुन कुराहरूको आवश्यकता पर्छ, अर्थात् स्वर्गका परमेश्वरका होमबलिहरूका निम्ति जवान बहरहरू, भेड़ाहरूख र भेड़ाका पाठाहरू, अँ, गहुँ, नुन, दाखमद्य र तेल यरूशलेममा भएका पूजाहारीहरूको मागअनुसार तिनीहरूलाई दिनहुँ नबिराई दिइयोस्, 10 र तिनीहरूले स्वर्गका परमेश्वरका निम्ति मीठो बास्नाका बलिहरू चढ़ाऊन्, अनि राजा र उनका छोराहरूको जीवनका निम्ति प्रार्थना गरिदिऊन्! 11 अनि मैले एउटा हुकुम दिएको छु: हरेक जसले यो वचन बदली गर्ला, त्यसको घरबाट काठ उखालियोस्, र खड़ा पारेर त्यो त्यसैमाथि झुन्ड्याइयोस्; अनि यस अपराधको कारणले त्यसको घर एउटा घुरानग बनाइयोस्! 12 अनि जुन परमेश्वरले त्यहाँ आफ्नो नाम बसाउनुभएको छ, ती सबै राजाहरू र जातिहरूलाई नाश गरून्, जसले यो उर्दी बदली गरेर यरूशलेममा भएको परमेश्वरको त्यो भवन नष्ट गर्न आफ्नो हात बढ़ाउलान्, म दाराले नै यो हुकुम दिएको हुँ; यो काम झट्टै गरियोस्!”13 तब नदीवारिका राज्यपाल तत्त्नै, शतर-बोज्नै र तिनीहरूका साथीहरूले तुरुन्तै राजा दाराले पठाएको अनुसारै गरे।
14 अनि यहूदीहरूका बूढ़ा प्रधानहरूले निर्माण गर्दैरहे; अनि भविष्यवक्ता हाग्गै र इद्दोका छोरा जकर्याहको भविष्यवाणीद्वारा उनीहरूले उन्नति गरे। अनि इस्राएलका परमेश्वरको आज्ञाअनुसार, अनि कोरेस्, दारा र फारसको राजा अर्तक्जर्जेसको हुकुमअनुसार उनीहरूले निर्माण गरे, र समाप्त गरे। 15 अनि अदार महिनाको तेस्रो दिनमा त्यो भवन बनेर सिद्धियो; यो दारा राजाको शासनकालको छैटौं वर्ष थियो।
16 अनि इस्राएलीहरू, पूजाहारीहरू र लेवीहरू, साथै कैदमा लगिएकाहरूका बाँकी सन्तानहरूले आनन्दको साथ परमेश्वरको त्यो भवन समर्पण गरे; 17 अनि परमेश्वरको त्यस भवनको समर्पणमा उनीहरूले एक सय बहरहरू, दुई सय भेड़ाहरूख र चार सय भेड़ाका पाठाहरू, साथै इस्राएलका कुलहरूको संख्याअनुसार सारा इस्राएलको पापबलिका निम्ति बाह्रवटा बोकाहरू चढ़ाए। 18 अनि मोशाको पुस्तकमा लेखिएअनुसार उनीहरूले परमेश्वरको सेवाका निम्ति, जुन सेवा यरूशलेममा गरिन्छ, पूजाहारीहरूलाई तिनीहरूका विभागहरूमा, र लेवीहरूलाई तिनीहरूका दलहरूमा नियुक्त गरे।
19 अनि पहिलो महिनाको चौधौं दिनमा कैदमा लगिएकाहरूका सन्तानहरूले निस्तार चाड़ मनाए। 20 किनभने पूजाहारीहरू र लेवीहरूले एकसाथ आफूलाई शुद्ध पारे; तिनीहरू सबै शुद्ध थिए; अनि तिनीहरूले सबै कैदबाट फर्केकाहरूका सन्तानहरूका निम्ति, आफ्ना पूजाहारी दाजुभाइहरूका निम्ति र आफ्नै निम्ति निस्तारको पाठो मारे। 21 अनि कैदबाट फर्केका इस्राएलीहरूले, र परमप्रभु इस्राएलका परमेश्वरको खोजी गर्नलाई त्यस देशका अन्यजातिहरूको अशुद्धताबाट आफैलाई अलग राखेर उनीहरूकहाँ आउनेहरू सबैले खाए; 22 अनि आनन्दको साथ उनीहरूले सात दिनसम्म अखमिरे रोटीहरूको चाड़ मनाए; किनभने परमप्रभुले उनीहरूलाई आनन्दित तुल्याउनुभएको थियो, र परमेश्वर, अँ, इस्राएलका परमेश्वरको भवनको काममा उनीहरूका हातहरू बलियो पार्नलाई अश्शूरका राजाको हृदयलाई उनीहरूतर्फ फर्काउनुभएको थियो।