भविष्यवक्ताहरूको प्रोत्साहनद्वारा परमप्रभुको भवन बनाउने काम फेरि शुरु भयो
5
तब भविष्यवक्ताहरूले अर्थात् भविष्यवक्ता हाग्गै र इद्‌दोका छोरा जकर्याहले यहूदा र यरूशलेममा भएका यहूदीहरूलाई इस्राएलका परमेश्‍वरको नाममा, जो तिनीहरूमाथि हुनुहुन्थ्यो, भविष्यवाणी गरे; 2 तब शाल्तिएलका छोरा जरूबाबेल र योजादाकका छोरा योशूअ उठे, र उनीहरूले यरूशलेममा भएको परमेश्‍वरको भवन बनाउन शुरु गरे; अनि उनीहरूसँग उनीहरूलाई सहायता गर्ने परमेश्‍वरका भविष्यवक्ताहरू थिए।
3 त्यही समयमा नदीवारिका राज्यपाल तत्त्‍नै, शतर-बोज्‍नै र तिनीहरूका साथीहरू उनीहरूकहाँ आए, र उनीहरूलाई भने: “कसले तिमीहरूलाई यो भवन निर्माण गर्ने, र यो पर्खाल खड़ा गर्ने आदेश दियो?” 4 तब त्यस प्रश्‍नमुताबिक हामीले यो भवन बनाउने मानिसहरूका नाम के-के थिए, सो तिनीहरूलाई बतायौं। 5 तर उनीहरूका परमेश्‍वरको दृष्‍टि यहूदीहरूका बूढ़ा प्रधानहरूमाथि थियो, यसैले त्यो कुरा दाराकहाँ नपुगुन्जेल तिनीहरूले उनीहरूलाई रोक्‍का लाउन सकेनन्; अनि तब यिनीहरूले त्यस कुराको विषयमा पत्रद्वारा जवाफ फिर्ता पठाए।
6 नदीवारिका राज्यपाल तत्त्‍नै र शतर-बोज्नै र नदीको यतापट्टि भएका तिनका सङ्गी अफर्सकीहरूले राजा दारालाई पठाएको पत्रको नकल यो हो: 7 तिनीहरूले उनलाई एउटा पत्र पठाए, जसमा यसरी लेखिएको थियो: “राजा दारालाई नित्य शान्ति रहोस्! 8 राजालाई यो थाहा होस्, कि यहूदियाको प्रान्तमा हामी महान् परमेश्‍वरको त्यस भवनमा गयौं, जसको बनाउने काम ठूला-ठूला ढुङ्गाहरूले भइरहेको छ, र पर्खालहरूमा काठहरू लगाइरहेका छन्, अनि यो काम छिटो-छिटो भइरहेको छ, अनि तिनीहरूको हातमा सफल पनि हुँदैछ। 9 तब हामीले ती बूढ़ा प्रधानहरूलाई सोध्यौं, र तिनीहरूलाई यसो भन्यौं: ‘कसले तिमीहरूलाई यो भवन निर्माण गर्ने र यी पर्खालहरू खड़ा गर्ने आदेश दियो?’ 10 तपाईंलाई जानकारी दिनलाई तिनीहरूका अगुवाहरू को-को रहेछन्, सो मानिसहरूका नाम लेख्‍न सकौं भनी हामीले तिनीहरूलाई तिनीहरूका नामहरू पनि सोध्यौं। 11 अनि तिनीहरूले यसो भन्दै हामीलाई जवाफ दिए: ‘हामी स्वर्ग र पृथ्वीका परमेश्‍वरका सेवकहरू हौं; अनि हामी यो भवन निर्माण गर्दैछौं, जो यी धेरै वर्षअघि बनिएको थियो, जसलाई इस्राएलका एक महान् राजाले निर्माण गरेर त्यसलाई खड़ा गरेका थिए। 12 तर हाम्रा पितापुर्खाहरूले स्वर्गका परमेश्‍वरलाई क्रोधित तुल्याएपछि उहाँले तिनीहरूलाई बाबेलका कल्दी राजा नबूकद्‌नेस्‍सरको हातमा सुम्पिदिनुभयो, जसले यो भवन ध्वंस पारे, र मानिसहरूलाई चाहिँ कैद गरेर बाबेलमा लगे।’ 13 तर बाबेलका राजा कोरेसको पहिलो वर्षमा यिनै राजा कोरेसले परमेश्‍वरको यो भवन निर्माण गर्ने हुकुम दिए। 14 अनि परमेश्‍वरको भवनका सुन र चाँदीका जुन भाँड़ाकुँड़ाहरू नेबूकद्‌नेस्सरले यरूशलेममा भएको मन्दिरबाट निकालेर लगेका थिए र तिनलाई बाबेलको मन्दिरमा पुर्‍याएका थिए, ती भाँड़ाकुँड़ाहरू पनि कोरेस राजाले बाबेलको मन्दिरबाट निकाले, र तिनलाई एकजनाको हातमा सुम्पिदिए, जसको नाम शेश्बस्सर थियो, जसलाई उनले राज्यपाल तुल्याएका थिए। 15 अनि उनले उसलाई भने: ‘यी भाँड़ाकुँड़ाहरू लिएर जाऊ! तिनलाई त्यस मन्दिरमा राखिदेऊ, जो यरूशलेममा छ; अनि परमेश्‍वरको भवन त्यसकै ठाउँमा बनियोस्!’ 16 तब यी शेश्बस्सर आए, र परमेश्‍वरको भवनको जग बसाले, जो यरूशलेममा छ; अनि त्यस समयदेखि अहिलेसम्म नै यो बनिँदैछ, र अझै सकिएको छैन। 17 यसकारण अब, राजालाई असल लाग्यो भने यरूशलेममा परमेश्‍वरको यो भवन निर्माण गर्ने हुकुम राजा कोरेसद्वारा दिइएको थियो कि थिएन भनेर राजाको भण्डार-गृहमा खोजतलाश गरियोस्, जो बाबेलमा छ; अनि यस कुराको विषयमा राजाले आफ्नो इच्छा हामीकहाँ पठाऊन्!”