यहूदीहरूका शत्रुहरूबाट उठेको वाधा
4
अनि जब यहूदा र बिन्यामिनका शत्रुहरूले कैदमा लगिएकाहरूका सन्तानहरूले परमप्रभु इस्राएलका परमेश्‍वरका निम्ति मन्दिर बनाइरहेका छन् भन्‍ने सुने; 2 तब तिनीहरू जरूबाबेल र पितापुर्खाहरूका प्रधानहरूकहाँ आए, र उनीहरूलाई भने: “हामी पनि तपाईंहरूसँगै मिलेर बनाऔं; किनभने जसरी तपाईंहरू गर्नुहुन्छ, त्यसरी नै हामी पनि तपाईंहरूका परमेश्‍वरको खोजी गर्दछौं; अनि हामीलाई यहाँ ल्याउने अश्शूरका राजा एसर-हद्दोनका दिनहरूदेखि नै हामी उहाँका निम्ति बलि चढ़ाउँदै आएका छौं।” 3 तर जरूबाबेल, येशूअ र इस्राएलका पितापुर्खाहरूका बाँकी प्रधानहरूले तिनीहरूलाई भने: “हाम्रा परमेश्‍वरका निम्ति भवन बनाउने विषयमा हामीसँग तपाईंहरूको केही काम छैन; हामी आफै एकजुट भएर परमप्रभु इस्राएलका परमेश्‍वरका निम्ति बनाउनेछौं, जस्तो फारसका राजा कोरेसले हामीलाई आज्ञा गर्नुभएको छ।” 4 तब त्यस देशका मानिसहरूले यहूदाका मानिसहरूका हातहरू कमजोर पारिदिए, र उनीहरूलाई त्यस बनाउने काममा कष्‍ट दिए; 5 र फारसका राजा कोरेसको समयभरि, फारसका राजा दाराको शासनकालसम्म नै तिनीहरूले उनीहरूको उद्देश्य विफल तुल्याउनलाई उनीहरूको विरोधमा सल्‍लाहकारहरूलाई भाड़ामा लिए।
6 अनि अहासूरसको शासनकालमा, तिनको शासनकालको शुरुमा तिनीहरूले तिनलाई यहूदाका बासिन्दाहरू र यरूशलेमको विरोधमा एउटा दोष-पत्र लेखे। 7 अनि अर्तक्जर्जसका दिनहरूमा बिश्‍लाम, मित्रदात, ताबेल र तिनीहरूका बाँकी साथीहरूले फारसका राजा अर्तक्जर्जसलाई लेखे; अनि त्यो लेखेको पत्र अरामी भाषामा लेखिएको थियो, अँ, अरामी भाषामा अनुवाद गरिएको थियो। 8 मन्‍त्री रहूम र सचिव शिम्शाइले राजा अर्तक्जर्जसलाई यरूशलेमको विरोधमा यस प्रकारले पत्र लेखे। 9 तब मन्‍त्री रहूम, सचिव शिम्शाइ र तिनीहरूका बाँकी साथीहरू अर्थात् दिनाईहरू, अफर्सत्कीहरू, तर्पेलीहरू, अफार्सीहरू, अर्केवीहरू, बेबिलोनीहरू, सुसानकीहरू, देहवीहरू र एलामीहरूले लेखे; 10 साथै ती बाँकी जातिहरूले, जसलाई ती महान् र माननीय ओस्‍नप्परले कैद गरेर ल्याएका थिए र तिनीहरूलाई सामरियाका शहरहरूमा बसाएका थिए, अनि नदीको यतापट्टिका बाँकी मानिसहरूले लेखे। अनि अब, 11 तिनीहरूले तिनलाई अर्थात् राजा अर्तक्जर्जसलाई पठाएको पत्रको नकल यही हो: “तपाईंका दासहरू अर्थात् नदीको यतापट्टि बस्‍ने मानिसहरू, अनि अब 12 राजालाई यो थाहा होस्, ती यहूदीहरू जो तपाईंकहाँबाट यहाँ हामीकहाँ माथि आए, तिनीहरू यरूशलेममा आएका छन्; तिनीहरूले त्यो राजद्रोही र खराब शहर बनाउँदैछन्; अनि तिनीहरूले त्यसका पर्खालहरू खड़ा गरिरहेका छन् र जगहरू जोड़ेका छन्। 13 अनि राजालाई यो थाहा होस्, यो शहर बनियो र ती पर्खालहरू बनिसके भने तिनीहरूले महसुल, कर र भन्सार तिर्नेछैनन्, र तपाईंले राजाहरूको आम्दानीमा हानि ल्याउनुहुनेछ। 14 अब हाम्रो पालनपोषण राजाको दरवारबाट भएको हुनाले, र राजाको अपमान हेर्नु हाम्रा निम्ति उचित नभएको हुनाले हामीले पठाएका छौं र राजालाई जानकारी दिएका छौं: 15 तपाईंका पितापुर्खाहरूका ऐतिहासिक घटनाहरूका विवरणको पुस्तकमा खोजतलाश गरियोस्; तब तपाईंले ऐतिहासिक घटनाहरूका विवरणको पुस्तकमा पाउनुहुनेछ र जान्‍नुहुनेछ, कि यो शहर राजद्रोही शहर हो, अनि राजाहरू र प्रान्तहरूका निम्ति हानिकारक छ; अनि उहिलेदेखि नै यसभित्र तिनीहरूले राजद्रोह मच्‍चाएका थिए; जसको कारणले यो शहर नष्‍ट गरिएको थियो। 16 हामी राजालाई यो जानकारी दिन्छौं: यो शहर फेरि बनियो भने, र यसका पर्खालहरू खड़ा गरिए भने, यही कारणले नदीको यतापट्टि तपाईंको कुनै हिस्‍सा रहनेछैन।”
17 तब मन्‍त्री रहूम, सचिव शिम्शाइ र सामरियामा बस्‍ने तिनीहरूका बाँकी साथीहरूलाई, साथै नदीको यतापट्टि भएका बाँकी मानिसहरूलाई राजाले जवाफ पठाए: “शान्ति! अनि अब 18 जुन पत्र तिमीहरूले हामीलाई पठायौ, त्यो पत्र मेरो सामु सफासँग पढ़ियो। 19 अनि मैले हुकुम गरें, अनि खोजतलाश गरियो र यो पाइयो, कि त्यो शहर उहिलेदेखि नै राजाहरूको विरोधमा उठेको रहेछ, अनि त्यसभित्र विद्रोह र राजद्रोह मच्‍चाइएका रहेछन्। 20 अनि यरूशलेममाथि शक्तिशाली राजाहरू रहेछन्, जसले नदीपारिका सबै देशहरूमाथि शासन गरेका रहेछन्; अनि तिनीहरूलाई महसुल, कर र भन्सार तिरिएको रहेछ। 21 अब यी मानिसहरूलाई रोक्न लाउने आज्ञा देओ, र मबाट अर्को हुकुम नदिइएसम्म त्यो शहर नबनिओस्! 22 अब होशियार, नत्र यो काम गर्न तिमीहरू कतै चुकौला! राजाहरूको क्षतिका निम्ति यो हानि किन बढ़ोस्?” 23 अनि जब राजा अर्तक्जर्जसको पत्रको नकल रहूम, सचिव शिम्शाइ र तिनीहरूका साथीहरूको सामु पढ़ियो, तब तिनीहरू हतार-हतार यरूशलेममा यहूदीहरूकहाँ गए, अनि जबरजस्ती र बल प्रयोग गरेर तिनीहरूले उनीहरूलाई रोक्न लगाए।
24 तब यरूशलेममा भएको परमेश्‍वरको भवनको काम रोकियो। अनि फारसका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म यो रोकियो।