वेदीको पुनर्निर्माण
3
अनि जब सातौं महिना आयो, र इस्राएलीहरू शहर-शहरमा बसिसकेका थिए, तब मानिसहरू एउटै मानिसझैं भएर यरूशलेममा भेला भए। 2 तब योजादाकका छोरा येशूअ र उनका पूजाहारी दाजुभाइहरू, साथै शाल्तिएलका छोरा जरूबाबेल र तिनका दाजुभाइहरू उठे, र परमेश्वरका जन मोशाको व्यवस्थामा लेखिएअनुसार वेदीमाथिक होमबलिहरू चढ़ाउनलाई तिनीहरूले इस्राएलका परमेश्वरको वेदी बनाए।3 अनि तिनीहरूले त्यो वेदी त्यसका आधारहरूमाथि बसाले; किनभने ती देशका मानिसहरूको कारणले डरले तिनीहरूलाई छोप्यो; अनि तिनीहरूले त्यसमाथि परमप्रभुका निम्ति होमबलिहरू, अँ, बिहान र बेलुकी होमबलिहरू चढ़ाए। 4 अनि जसरी लेखिएको छ, त्यसरी नै तिनीहरूले झुपड़ीहरूको चाड़ पनि मनाए, र हरेक दिनको आवश्यकताअनुसार, नियममुताबिक गन्ती गरेर दैनिक होमबलि चढ़ाए। 5 अनि त्यसपछि तिनीहरूले नित्य होमबलिहरू, अनि औंसीहरूमा र जति चाड़हरू पवित्र ठहराइएका थिए, परमप्रभुका सबै तोकिएका ती चाड़हरूमा होमबलि चढ़ाए, र हरेकले स्वेच्छापूर्वक परमप्रभुलाई चढ़ाएको स्वेच्छा-दान पनि चढ़ाए। 6 सातौं महिनाको पहिलो दिनदेखि तिनीहरूले परमप्रभुका निम्ति होमबलिहरू चढ़ाउन थाले। तर परमप्रभुको मन्दिरको जग अझ बसालिएको थिएन। 7 अनि तिनीहरूले डकर्मीहरू र सिकर्मीहरूलाईख पैसा दिए, साथै फारसका राजा कोरेसले तिनीहरूलाई दिएको अनुदानअनुसार लबानोनबाट जोप्पाको समुद्रमा देवदारका रूखहरू ल्याउनलाई सिडोनकाहरूलाई र टायरकाहरूलाई खानेकुरा, पिउने कुराहरू र तेल दिए।
परमप्रभुको भवनको जगको स्थापना
8 अनि तिनीहरू यरूशलेममा परमेश्वरको भवनमा आएको दोस्रो वर्षको दोस्रो महिनामा शाल्तिएलका छोरा जरूबाबेल, योजादाकका छोरा येशूअ, उनीहरूका बाँकी पूजाहारी र लेवी दाजुभाइहरूले, साथै ती सबैले, जो कैदबाट यरूशलेममा आएका थिए, काम शुरु गरे; अनि तिनीहरूले बीस वर्ष र त्यसभन्दा माथिका लेवीहरूलाई परमप्रभुको भवनको काम देखरेख गर्नलाई नियुक्त गरे। 9 तब येशूअ, अनि उनका छोराहरू र उनका दाजुभाइहरू, कद्मिएल र तिनका छोराहरू अर्थात् यहूदाका छोराहरू परमेश्वरको भवनमा काम गर्नेहरूमाथि अर्थात् हेनादादका छोराहरू, तिनीहरूका छोराहरू र तिनीहरूका लेवी दाजुभाइहरूमाथि देखरेख गर्न एकसाथ खड़ा भए।
10 अनि जब कारिगरहरूले परमप्रभुको मन्दिरको जग बसाले, तब उनीहरूले पूजाहारीहरूलाई तिनीहरूको वस्त्र पहिरेको अवस्थामा तुरहीहरू लिएर र आसाफवंशी लेवीहरूलाई झ्यालीहरू लिएर इस्राएलका राजा दाऊदको नियमअनुसार परमप्रभुको प्रशंसा गर्न नियुक्त गरे। 11 अनि परमप्रभुको प्रशंसा गर्दै र धन्यवाद चढ़ाउँदै तिनीहरूले पालो-पिलो हुने गरीग गीत गाए; किनभने उहाँ भलो हुनुहुन्छ; किनकि इस्राएलप्रति उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ। अनि तिनीहरूले परमप्रभुको प्रशंसा गर्दा सबै मानिसहरू ठूलो चिच्च्याहटले चिच्च्याए; किनभने परमप्रभुको भवनको जग बसालिएको थियो। 12 तर पूजाहारीहरू, लेवीहरू र पितापुर्खाहरूका प्रधानहरूमध्ये धेरैजना, जो वृद्ध मानिसहरू थिए, जसले पहिलेको भवन देखेका थिए, आफ्ना आँखाहरूको सामु त्यस भवनको जग बसालिँदा ठूलो सोरले रोए; अनि धेरैजनाचाहिँ हर्षले सोर उचालेर चिच्च्याए; 13 यसैले मानिसहरूले हर्षले चिच्च्याएको आवाज र मानिसहरूको रुवाइको आवाज छुट्ट्याउन सकेनन्; किनभने मानिसहरू ठूलो चिच्च्याहटले चिच्च्याएका थिए, र त्यो आवाज टाढ़ासम्म सुनियो।