योसियाहले यरूशलेममा मनाएको निस्तार चाड़
35
अनि योसियाहले यरूशलेममा परमप्रभुका निम्ति निस्तार चाड़ मनाए। अनि पहिलो महिनाको चौधौं दिनमा उनीहरूले निस्तार चाड़को पाठो मारे। 2 अनि तिनले पूजाहारीहरूलाई आ-आफ्ना जिम्मेवारी खटाए, र उनीहरूलाई परमप्रभुको भवनको सेवा गर्नलाई उत्साह दिए; 3 अनि तिनले सारा इस्राएललाई शिक्षा दिने लेवीहरूलाई, जो परमप्रभुका निम्ति पवित्र थिए, भने: “पवित्र सन्दुकलाई इस्राएलका राजा दाऊदका छोरा सुलेमानले निर्माण गरेको भवनभित्र राखिदेओ! त्यो अब तिमीहरूको काँधमा बोझ हुनेछैन। अब तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको र उहाँको प्रजा इस्राएलको सेवा गर! 4 अनि इस्राएलका राजा दाऊदको लेखअनुसार र उनका छोरा सुलेमानको लेखअनुसार आ-आफ्ना पितापुर्खाहरूका घरानाहरूअनुसार, आ-आफ्नो दलमा तयार रहो! 5 अनि मानिसहरू अर्थात् तिमीहरूका दाजुभाइहरूका पितापुर्खाहरूका घरानाहरूका विभागहरूअनुसार र लेवीहरूका घरानाहरूको भागअनुसार पवित्रस्थानमा खड़ा होओ! 6 अनि निस्तारको पाठो मार, आफूलाई शुद्ध गर, र मोशाद्वारा दिइएको परमप्रभुको वचनअनुसार गर्नलाई आफ्ना दाजुभाइहरूका निम्ति तयार गर!” 7 अनि योसियाहले मानिसहरूका निम्ति, अँ, उपस्थित रहेका सबैजनाका निम्ति निस्तारका बलिहरूको रूपमा सबै कुराहरू अर्थात् तिनको बगालबाट गन्तीअनुसार तीस हजार भेड़ाका पाठा र बाख्राका पाठाहरू, साथै तीन हजार बहर पनि भेटीको रूपमा दिए। यी पशुहरू राजाको सम्पत्तिबाट दिइए। 8 अनि तिनका शासकहरूले इच्छापूर्वक मानिसहरू, पूजाहारीहरू र लेवीहरूका निम्ति दान दिए। परमेश्वरको भवनका शासकहरू हिल्कियाह, जकर्याह र यहिएलले पूजाहारीहरूलाई निस्तारका बलिहरूको रूपमा दुई हजार छ सय भेड़ाबाख्रा र तीन सय बहर दिए। 9 अनि कोनन्याहले, साथै तिनका भाइहरू शमायाह र नतनेल, अनि लेवीहरूका प्रधानहरू हशब्याह, यइएल र योजाबादले लेवीहरूका निम्ति निस्तारका बलिहरूको रूपमा पाँच हजार भेड़ाबाख्रा र पाँच सय बहर भेटीको रूपमा दिए।10 यसरी सेवा तयार गरियो; अनि राजाको आज्ञाअनुसार पूजाहारीहरू आफ्नो ठाउँमा, र लेवीहरू आ-आफ्ना दलहरूमा खड़ा भए। 11 अनि उनीहरूले निस्तारको पाठो मारे; अनि पूजाहारीहरूले उनीहरूका हातबाट लिएको रगत छर्के; अनि लेवीहरूले ती बलिहरूका छाला काढ़े। 12 अनि मोशाको पुस्तकमा लेखिएअनुसार परमप्रभुका निम्ति चढ़ाउनलाई उनीहरूले मानिसहरूका घरानाहरूका विभाग-विभागअनुसार दिन सकौं भनेर तिनीहरूका निम्ति होमबलिहरू अलग गरे। अनि बहरहरूसित पनि उनीहरूले त्यस्तै गरे। 13 अनि उनीहरूले विधिअनुसार निस्तारका बलिको मासु आगोमा पोले; तर अरू पवित्र बलिहरूको मासु उनीहरूले भाँड़ाहरू, कराहीहरू र तावाहरूमा पकाएर तिनलाई हतार-हतार सबै मानिसहरूको बीचमा बाँड़िदिए। 14 अनि त्यसपछि उनीहरूले आफ्ना निम्ति र पूजाहारीहरूका निम्ति तयार गरे; किनभने हारूनवंशी पूजाहारीहरूचाहिँ रातिसम्म होमबलिहरू र बोसो चढ़ाउनमा व्यस्त थिए; यसकारण लेवीहरूले आफ्ना निम्ति र हारूनवंशी पूजाहारीहरूका निम्ति तयार गरे। 15 अनि आसाफवंशी गायकहरू दाऊद, आसाफ, हेमान र राजाका दर्शी यदूतूनका आज्ञाअनुसार आ-आफ्नो ठाउँमा बसे। अनि द्वारपालहरूले ढोका-ढोकामा पहरा दिइरहेका थिए। उनीहरूले आफ्नो सेवा छोड़ेर जानुपर्दैनथियो; किनकि उनीहरूका लेवीय दाजुभाइहरूले उनीहरूका निम्ति तयार गरेका थिए।
16 यसरी राजा योसियाहको आज्ञाअनुसार निस्तार चाड़ मनाउन र परमप्रभुको वेदीमाथि होमबलिहरू चढ़ाउनका निम्ति परमप्रभुको सबै सेवा त्यसै दिन तयार गरियो। 17 अनि उपस्थित भएका इस्राएलीहरूले त्यस बेला निस्तार चाड़, साथै सात दिनसम्म अखमिरे रोटीहरूको चाड़ पनि मनाए। 18 अनि योसियाहले, साथै पूजाहारीहरू, लेवीहरू , सारा यहूदा र उपस्थित भएको इस्राएल अनि यरूशलेमका बासिन्दाहरूले जो प्रकारले निस्तार चाड़ मनाए, त्यस प्रकारको निस्तार चाड़ भविष्यवक्ता शमूएलको समयदेखि यता इस्राएलमा कहिल्यै मनाइएको थिएन, न ता इस्राएलका अरू कुनै राजाले नै मनाएका थिए। 19 योसियाहको शासनकालको अठारौं वर्षमा यो निस्तार चाड़ मनाइएको थियो।
योसियाहको मृत्यु
20 यी सबै कुराहरूपछि, जब योसियाहले त्यो भवन तयार गरे, तब मिस्रका राजा नेको यूफ्रेटिस नदीको छेउमा अवस्थित भएको कर्कमिशको विरुद्ध लड़ाइँ गर्न माथि आए; अनि योसियाह उनलाई सामना गर्न निस्के। 21 तर नेकोलेक तिनीकहाँ राजदूतहरू यसो भन्न पठाए: “हे यहूदाका राजा, तिमीसित मेरो के सरोकार छ र? आजको दिन म तिम्रो विरोधमा आएको होइनँ; तर त्यस घरानाको विरोधमा आएको हुँ, जुन घरानासित मेरो लड़ाइँ छ; किनभने परमेश्वरले मलाई हतार गर्ने आज्ञा गर्नुभएको छ। जो परमेश्वर मेरो साथमा हुनुहुन्छ, उहाँको काममा हात हाल्नदेखि आफूलाई रोक, नत्र उहाँले तिमीलाई नाश गर्नुहुनेछ।” 22 तर योसियाहले उनीदेखि आफ्नो अनुहार फर्काउन मानेनन्; तर उनीसित लड़ाइँ गर्नलाई तिनले आफ्नो भेष बदली गरे, र परमेश्वरको मुखबाट निस्केका नेकोका वचनहरूमा ध्यान नदिईकन तिनी मगिद्दोको बेंसीमा लड़ाइँ गर्न आए। 23 अनि धनुर्धारीहरूले राजा योसियाहलाई हाने। तब राजाले आफ्ना सेवकहरूलाई भने: “मलाई लैजाओ; किनकि म साह्रै घाइते भएँ!” 24 तब तिनका सेवकहरूले तिनलाई त्यस रथबाट निकाले, तिनलाई तिनको दोस्रो रथमा चढ़ाए र तिनलाई यरूशलेममा ल्याए; अनि तिनी मरे, र तिनका पितापुर्खाहरूका चिहानहरूमध्ये एउटामा गाड़िए। अनि सारा यहूदा र यरूशलेमले योसियाहका निम्ति शोक गरे। 25 अनि यर्मियाले योसियाहका निम्ति विलाप गरे। अनि सबै गायकहरू र गायिकाहरूले आजको दिनसम्म आफ्ना विलाप-गीतहरूमा योसियाहको चर्चा गर्दछन्; अनि उनीहरूले इस्राएलमा यी गीतहरू एउटा विधि ठहऱ्याए; अनि हेर, यी गीतहरू विलापहरूमा लेखिएका छन्।