यहूदामा योसियाहको शासन र धार्मिक जागृति
34
राज्य गर्न शुरु गर्दा योसियाह आठ वर्षका थिए; अनि तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। 2 अनि तिनले परमप्रभुको दृष्‍टिमा जे ठीक थियो, त्यही गरे, र आफ्ना पिता दाऊदका चालहरूमा हिँड़े, अनि दाहिनेदेब्रे कतैपट्टि पनि लागेनन्।
3 किनकि तिनको शासनकालको आठौं वर्षमा, तिनी अझै जवान हुँदै तिनले आफ्ना पिता दाऊदका परमेश्‍वरको खोजी गर्न थाले। अनि बाह्रौं वर्षमा तिनले यहूदा र यरूशलेमलाई उच्‍च स्थानहरूबाट, अनि अशेराका मूर्तिहरू, खोपिएका मूर्तिहरू र ढालिएका मूर्तिहरूबाट शुद्ध पार्न शुरु गरे। 4 अनि उनीहरूले तिनको सामु बाल देवताहरूका वेदीहरू भत्काइदिए; अनि ती वेदीभन्दा माथि उच्‍चमा राखिएका मूर्तिहरू तिनले काटेर ढालिदिए; अनि ती अशेराका मूर्तिहरू, ती खोपिएका मूर्तिहरू र ती ढालिएका मूर्तिहरू काटेर तिनले टुक्रा-टुक्रा पारे, र तिनलाई धूलोपीठो पारेर तिनीहरूलाई बलि चढ़ाउने मानिसहरूका चिहानहरूमाथि छरिदिए। 5 अनि तिनले पूजाहारीहरूका हड्डीहरू ती मूर्तिहरूका वेदीहरूमाथि जलाइदिए, र यहूदा र यरूशलेमलाई शुद्ध पारे। 6 अनि त्यसै गरी मनस्से, एप्रैम र शिमोनका शहरहरूमा मात्र होइन, तर तिनले नप्‍तालीसम्म पनि चारैतिर तोड़फोड़ गर्ने घनहरू चलाए। 7 अनि जब तिनले ती वेदीहरू र ती अशेराका मूर्तिहरू भत्काइसके, ती खोपिएका मूर्तिहरू धूलोपीठो पारिसके र इस्राएल देशभरि भएका ती सबै मूर्तिहरू काटिसके, तब तिनी यरूशलेममा फर्के।
8 तब तिनको शासनकालको अठारौं वर्षमा, देश र भवनलाई शुद्ध पारेपछि तिनले अजलियाहका छोरा शापान, शहरका राज्यपाल मासेयाह र योआहाजका छोरा योआहलाई, जो इतिहास लेखक थिए, परमप्रभु आफ्ना परमेश्‍वरको भवन मर्मत गर्न पठाए। 9 अनि उनीहरू महापूजाहारी हिल्कियाहकहाँ गए, र जुन पैसा परमेश्‍वरको भवनमा ल्याइएको थियो अर्थात् ढोकामा पहरा दिने लेवीहरूले मनस्से, एप्रैम र इस्राएलको बाँकी रहेको सारा भागबाट, साथै सारा यहूदा, बिन्यामिन र यरूशलेमका बासिन्दाहरूबाट जम्मा गरेका थिए, त्यो पैसा यिनीहरूले तिनलाई सुम्पिदिए। 10 अनि उनीहरूले त्यो पैसा यो काम गर्नेहरूको हातमा दिए, जो परमप्रभुको भवनको देखरेख गर्थे; अनि यिनीहरूले त्यो पैसा ती काम गर्नेहरूलाई दिए, जसले त्यो भवन मर्मत गर्न र बलियो पार्नलाई परमप्रभुको भवनमा काम गरिरहेका थिए। 11 अनि तिनीहरूले त्यो पैसा काटेका ढुङ्गाहरू, साथै जोर्नीहरूका निम्ति अनि यहूदाका राजाहरूले नाश गरेका ती घरहरूलाई छाप्‍ने निदालहरूका निम्ति काठपात किन्‍नलाई सिकर्मीहरू र डकर्मीहरूलाई दिए। 12 अनि ती मानिसहरूले विश्‍वासयोग्यतासाथ काम गरे। निरीक्षण गर्नलाई तिनीहरूका देखरेख गर्ने अधिकारीहरूचाहिँ लेवीहरू यहत र ओबद्याह थिए, जो मरारीका सन्तानहरूबाट थिए; अनि कहातीहरूका सन्तानबाट जकर्याह र मशुल्‍लाम थिए; अनि ती सबै लेवीहरू बाजाहरू बजाउनमा निपुण थिए। 13 अनि उनीहरू भारी बोक्नेहरूका अधिकारीहरू र सबै प्रकारको सेवामा काम गर्नेहरू सबैका निरीक्षकहरू थिए। अनि लेवीहरूमध्ये कतिजना सचिवहरू, अफिसरहरू र द्वारपालहरू थिए।
व्यवस्थाको पुस्तक पाइयो
14 अनि जब उनीहरूले परमप्रभुको भवनभित्र ल्याइएको त्यो पैसा निकाले, तब पूजाहारी हिल्कियाहले मोशाद्वारा दिइएको परमप्रभुको व्यवस्थाको पुस्तक भेट्टाए। 15 अनि हिल्कियाहले जवाफ दिएर सचिव शापानलाई भने: “मैले परमप्रभुको भवनमा व्यवस्थाको पुस्तक भेट्टाएको छु।” तब हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए। 16 अनि शापानले त्यो पुस्तक राजाकहाँ ल्याए, र अझ राजालाई यसो भन्‍ने समाचार फर्काएर ल्याए: “तपाईंका दासहरूको हातमा सुम्पिएको सबै काम उनीहरूले गरिरहेका छन्। 17 अनि उनीहरूले परमप्रभुको भवनमा भेट्टाइएको त्यो पैसा जम्मा पारे, र त्यो देखरेख गर्नेहरूको हातमा र यो काम गर्नेहरूको हातमा सुम्पिदिएका छन्।” 18 त्यसपछि सचिव शापानले राजालाई भने: “पूजाहारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” अनि शापानले राजाको सामु त्यो पढ़े।
19 अनि यस्तो भयो: जब राजाले व्यवस्थाका वचनहरू सुने, तब तिनले आफ्ना वस्त्रहरू च्याते। 20 तब राजाले हिल्कियाह, शापानका छोरा अहिकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका सेवक असायाहलाई यसो भन्‍ने आज्ञा गरे: 21 “जाओ, र यस भेट्टाइएको पुस्तकका वचनहरूको विषयमा मेरा निम्ति, साथै इस्राएल र यहूदामा बाँकी रहेकाहरूका निम्ति परमप्रभुबाट सोधखोज गर; किनभने हामीमाथि खनिएको परमप्रभुको क्रोध ठूलो छ; किनकि हाम्रा पितापुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुराहरूअनुसार गर्नलाई परमप्रभुको वचन पालन गरेनन्।” 22 तब हिल्कियाह र राजाले खटाएका मानिसहरू भविष्यवक्तिनी हुल्दाकहाँ गए, जो वस्त्रहरूको हेरचाह गर्ने हस्राका नाति, तिक्वाका छोरा शल्‍लूमकी पत्‍नी थिइन्। (अनि तिनीचाहिँ यरूशलेमको दोस्रो टोलमा बस्थिन्); अनि उनीहरूले तिनीसँग त्यही सम्बन्धमा कुरा गरे।
योशियाहका निम्ति परमेश्‍वरको वाणी
23 अनि तिनले उनीहरूलाई जवाफ दिइन्: “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भनिदेओ! 24 ‘परमप्रभु यसो भन्‍नुहुन्छ: हेर, म यस ठाउँमाथि र यसका बासिन्दाहरूमाथि विपत्ति, अँ, ती सबै श्रापहरू ल्याउनेछु, जुन श्रापहरू तिनीहरूले राजाको सामु पढ़िदिएको पुस्तकमा लेखिएका छन्; 25 किनभने तिनीहरूले मलाई त्यागेका छन्, र आफ्ना हातका सबै कामहरूद्वारा मलाई रिस उठाउनलाई अन्य देवताहरूका निम्ति धूप बालेका छन्। यसकारण मेरो क्रोध यस ठाउँमाथि खनिनेछ र निभ्नेछैन।’ 26 अनि तिमीहरूलाई परमप्रभुबाट सोधखोज गर्न पठाउने यहूदाका राजालाई चाहिँ यसो भनिदिनू: ‘तिमीले सुनेका वचनहरूको सम्बन्धमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 27 तिम्रो हृदय कोमल भयो, अनि तिमीले यस ठाउँ र यसका बासिन्दाहरूको विरोधमा उहाँका वचनहरू सुनेर तिमीले परमेश्‍वरको सामु आफूलाई नम्र तुल्यायौ; अँ, तिमीले मेरो सामु आफूलाई नम्र तुल्यायौ, आफ्ना वस्त्रहरू च्यात्यौ र मेरो सामु रोयौ; यसैले मैले पनि तिम्रो विन्‍ती सुनिदिएको छु, परमप्रभु भन्‍नुहुन्छ। 28 हेर, म तिमीलाई तिम्रा पितापुर्खाहरूसित मिलाउनेछु, र तिमी शान्तिसित आफ्नो चिहानमा मिल्न जानेछौ, अनि जुन विपत्ति म यस ठाउँ र यसका बासिन्दाहरूमाथि ल्याउनेछु, त्यो सबै तिम्रा आँखाहरूले देख्‍नेछैनन्।’ ” तब उनीहरूले राजाकहाँ यो समाचार फर्काएर ल्याए।
परमप्रभुसित बाँधिएको योसियाहको वाचा
29 तब राजाले पठाएर यहूदा र यरूशलेमका सबै बूढ़ा प्रधानहरूलाई भेला गरे। 30 अनि राजा, साथै यहूदाका सबै मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पूजाहारीहरू, लेवीहरू र ठूला-साना सबै मानिसहरू माथि परमप्रभुको भवनमा गए; अनि तिनले परमप्रभुको भवनमा भेट्टाइएको वाचाको पुस्तकका सबै वचनहरू उनीहरूले सुन्‍ने गरी पढ़ेर सुनाए। 31 तब राजाले आफ्नो ठाउँमा उभिए, र यस पुस्तकमा लेखिएको त्यस वाचाका वचनहरू पूरा गर्नलाई हामी परमप्रभुको पछि-पछि हिँड़्‍नेछौं, अनि आफ्नो सम्पूर्ण हृदयले र आफ्नो सम्पूर्ण प्राणले उहाँका आज्ञाहरू, उहाँका साक्षी-वचनहरू र उहाँका नियमहरू पालन गर्नेछौं भनी परमप्रभुको सामु एउटा वाचा बाँधे। 32 अनि तिनले यरूशलेम र बिन्यामिनमा उपस्थित भएका सबै मानिसहरूलाई यस वाचाको समर्थन गर्न लगाए। अनि यरूशलेमका बासिन्दाहरूले परमेश्‍वरको, अँ, आफ्ना पितापुर्खाहरूको परमेश्‍वरको वाचाअनुसार गरे। 33 अनि योसियाहले इस्राएलीहरूका सबै देशहरूबाट सबै घिनलाग्दा वस्तुहरू हटाइदिए, र इस्राएलमा भेट्टाइएका सबै मानिसहरूलाई परमप्रभु आफ्ना परमेश्‍वरको सेवा गर्नलाई सेवा गर्न लाए। अनि तिनको जीवनभरि नै उनीहरूले परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्‍वरको पछि लाग्‍न छोड़ेनन्।