यहूदामा मनस्सेको शासन र धार्मिक भ्रष्‍टाचार
33
राज्य गर्न शुरु गर्दा मनस्से बाह्र वर्षका थिए; अनि तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे। 2 तर जुन जातिहरूलाई परमप्रभुले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएको थियो, ती जातिहरूकै घिनलाग्दा कामहरूअनुसार तिनले परमप्रभुको दृष्‍टिमा जे खराबी थियो, त्यही गरे। 3 किनकि तिनले आफ्ना बुबा हिजकियाहले भत्काएका ती उच्‍च स्थानहरू फेरि बनाए; अनि तिनले बाल देवताहरूका निम्ति वेदीहरू खड़ा गरे र अशेराका मूर्तिहरू बनाए; अनि तिनले आकाशको सारा गणलाई दण्‍डवत्‌ गरे र तिनको पूजा गरे। 4 अनि परमप्रभुको भवनमा तिनले वेदीहरू बनाए, जसको विषयमा परमप्रभुले भन्‍नुभएको थियो: ‘यरूशलेममा मेरो नाम सदा-सर्वदा रहिरहनेछ।’ 5 अनि परमप्रभुको भवनका दुईवटा चोकहरूमा तिनले आकाशको सारा गणका निम्ति वेदीहरू बनाए। 6 अनि तिनले अफ्ना छोराहरूलाई हिन्‍नोमको छोराको बेंसीमा आगोमा होम गरे। अँ, तिनले शकुन हेर्थे, मन्‍त्रतन्‍त्र गर्थे, जादु गर्थे, भूतप्रेत खेलाउनेहरू र टुनामुना गर्नेहरूलाई चलाउँथे; तिनले परमप्रभुलाई रिस उठाउन उहाँको दृष्‍टिमा धेरै दुष्‍ट काम गरे 7 अनि तिनले आफूले बनाएको त्यो मूर्ति, त्यो खोपेको मूर्ति परमेश्‍वरको त्यस भवनमा खड़ा गरे, जुन भवनको विषयमा परमेश्‍वरले दाऊद र उनका छोरा सुलेमानलाई भन्‍नुभएको थियो: ‘यस भवनमा र यरूशलेममा – जसलाई मैले इस्राएलका सबै कुलहरूबाट चुनेको छु – म आफ्नो नाम सदा-सर्वदा राख्‍नेछु, 8 र तिमीहरूका पितापुर्खाहरूका निम्ति मैले ठहऱ्याएको देशबाट म फेरि इस्राएलको पाउ हटाउनेछैनँ; तर उनीहरूले सारा व्यवस्था, नियमहरू र विधिहरूअनुसार मैले मोशाद्वारा उनीहरूलाई आज्ञा गरेका सबै कुराहरू होशियारसाथ पालन गरे त!’ 9 यसरी मनस्सेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई भड़्काएर ती जातिहरूले गरेका भन्दा बढ़ी खराबी गर्न लाए, जुन जातिहरूलाई परमप्रभुले इस्राएलीहरूको सामुबाट नाश गर्नुभएको थियो।
राजा मनस्सेको पश्‍चात्ताप
10 अनि परमप्रभु मनस्से र तिनका मानिसहरूसँग बोल्नुभयो, तर उनीहरूले मानेनन् 11 यसैकारण परमप्रभुले उनीहरूमाथि अश्शूरका राजाका सेनापतिहरूलाई ल्याउनुभयो; अनि तिनीहरूले मनस्सेलाई अङ्कुसेहरूले पक्रे, तिनलाई पित्तलका नेलहरूले कसे र तिनलाई बाबेलमा लगे।
12 अनि जब तिनलाई कष्‍ट पर्‍यो, तब तिनले परमप्रभु आफ्ना परमेश्‍वरसित विन्‍ती गरे, र आफ्ना पितापुर्खाहरूका परमेश्‍वरको सामु आफूलाई साह्रै नम्र तुल्याए, 13 र उहाँलाई प्रार्थना गरे; अनि उहाँले तिनको प्रार्थना ग्रहण गरेर तिनको विन्‍ती सुन्‍नुभयो र तिनलाई यरूशलेममा तिनको राज्यमा फर्काएर ल्याउनुभयो। तब मनस्सेले परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनी जाने।
14 अनि त्यसपछि गिहोनको पश्‍चिमपट्टि तिनले बेंसीमा माछाको मूलढोकाको मुखसम्म दाऊदको शहरको बाहिरपट्टि एउटा पर्खाल बनाए र ओपेललाई घेरे; अनि तिनले त्यस पर्खाललाई धेरै अग्ल्याए; अनि यहूदाका पर्खालले घेरिएका सबै शहरहरूमा तिनले सेनापतिहरूलाई राखे। 15 अनि तिनले परमप्रभुको भवनबाट पराई देवताहरू र त्यो मूर्ति निकाले, अनि जुन वेदीहरू तिनले परमप्रभुको भवनको डाँड़ामा र यरूशलेममा बनाएका थिए, ती सबै वेदीहरू तिनले हटाए र तिनलाई शहरबाहिर फ्याँकिदिए। 16 अनि तिनले परमप्रभुको वेदी मर्मत गरे, र त्यसमाथि मेलबलिहरू र धन्‍यबादका बलिहरू चढ़ाए, अनि यहूदालाई परमप्रभु इस्राएलका परमेश्‍वरको सेवा गर्ने आज्ञा गरे। 17 तर मानिसहरूले अझै उच्‍च स्थानहरूमा बलि चढ़ाउँथे, तर परमप्रभु आफ्ना परमेश्‍वरका निम्ति मात्र चढ़ाउँथे।
18 अनि मनस्सेका बाँकी कामकुराहरू, आफ्ना परमेश्‍वरलाई चढ़ाएको तिनको प्रार्थना र परमप्रभु इस्राएलका परमेश्‍वरको नाममा तिनीसँग बोलेका दर्शीहरूका वचनहरू – हेर, ती कुराहरू इस्राएलका राजाहरूको पुस्तकमा लेखिएका छन्। 19 अनि तिनको प्रार्थना र परमेश्‍वरले तिनको प्रार्थना सुनिदिनुभएको कुरा, अनि तिनले आफूलाई नम्र तुल्याउनुभन्दा पहिलेका तिनका सबै पापहरू, तिनको अपराध र ती ठाउँहरू, जसमा तिनले उच्‍च स्थानहरू बनाए, अनि अशेराका मूर्तिहरू र खोपिएका मूर्तिहरू खड़ा गरे – ती सबै कुराहरू दर्शीहरूको पुस्तकमा लेखिएका छन्। 20 अनि मनस्से आफ्ना पितापुर्खाहरूसित सुते; अनि उनीहरूले तिनलाई तिनको घरमा गाड़े; अनि तिनको सट्टामा तिनका छोरा आमोनले राज्य गरे।
यहूदामा आमोनको शासन र तिनको हत्या
21 राज्य गर्न शुरु गर्दा आमोन बाइस वर्षका थिए; अनि तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। 22 तर तिनका बुबा मनस्सेले गरेझैं तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे; किनभने आमोनले आफ्ना बुबा मनस्सेले बनाएका ती सबै खोपिएका मूर्तिहरूलाई बलि चढ़ाए, र तिनीहरूको पूजा गरे, 23 अनि जसरी तिनका बुबा मनस्सेले आफूलाई नम्र तुल्याएका थिए, त्यसरी तिनले आफूलाई परमप्रभुको सामु नम्र तुल्याएनन्; तर आमोनले झन्-झन् अपराध गरे। 24 अनि तिनका सेवकहरूले तिनको विरोधमा एउटा षड़्यन्‍त्र रचे, र तिनलाई तिनको घरमा हत्या गरे। 25 तर देशका मानिसहरूले ती सबैलाई मारे, जसले राजा आमोनको विरोधमा षड़्यन्‍त्र रचेका थिए; अनि देशका मानिसहरूले तिनको सट्टामा तिनका छोरा योसियाहलाई राजा तुल्याए।