अश्शूरका राजा सनहेरिबको आक्रमण
32
यी कुराहरू र यिनीहरूको स्थापना भएपछि अश्शूरका राजा सनहेरिब आए, यहूदामा पसे र पर्खालले घेरिएका शहरहरूको विरोधमा छाउनी हाले, अनि तिनलाई आफ्ना निम्ति कब्जा गर्ने विचार गरे। 2 अनि जब हिजकियाहले सनहेरिबले आएर यरूशलेमको विरोधमा लड़ाइँ गर्ने निश्‍चय गरेको कुरा थाहा पाए, 3 तब तिनले आफ्ना शासकहरू र आफ्ना शूरवीर मानिसहरूसित शहरबाहिरका धाराहरूको पानी बन्द गरिदिने सल्‍लाह लिए; अनि उनीहरूले तिनलाई सहायता गरे। 4 तब धेरै मानिसहरू भेला भए; अनि उनीहरूले ‘अश्शूरका राजाहरूले आएर किन प्रशस्त पानी भेट्टाऊन्?’ भन्दै सबै धाराहरू र देशको बीचबाट भएर बग्‍ने खोला थुनिदिए। 5 अनि तिनले आफूलाई बलियो पारे, अनि सारा भत्किएको पर्खाल बनाए, र त्यसलाई माथि धराहराहरूसम्म उठाए; अनि बाहिरपट्टि तिनले अर्को पर्खाल खड़ा गरे र दाऊदको शहरको मिल्‍लो मर्मत गरे; अनि तिनले प्रशस्त मात्रामा हतियारहरू र ढालहरू बनाए। 6 अनि तिनले मानिसहरूमाथि सेनापतिहरूलाई नियुक्त गरे, र उनीहरूलाई शहरको मूलढोकाको सड़कमा आफूकहाँ भेला गरे, र उनीहरूसित सान्‍त्‍वना दिँदै यसो बोले: 7 “बलिया होओ र साहसी होओ! अश्शूरको राजादेखि र त्यससित भएको सारा भीड़देखि नडराओ, र हताश नहोओ; किनभने त्यससित भएकाहरूभन्दा हामीसित भएकाहरू बढ़ी छन्। 8 त्यससित मासुको पाखुरा छ, तर हामीसित हामीलाई सहायता गर्ने र हाम्रा लड़ाइँहरू लड़िदिनुहुने परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ।” अनि यहूदाका राजा हिजकियाहले भनेका कुराहरूमा मानिसहरूले भरोसा राखे।
हिजकियाहलाई राजा सनहेरिबको धम्की
9 त्यसपछि अश्शूरका राजा सनहेरिबले, (तिनी आफैचाहिँ लाकीशमाथि चढ़ाइ गरिरहेका थिए; अनि तिनको सारा सेना तिनको साथमा थियो), यरूशलेममा यहूदाका राजा हिजकियाह र यरूशलेममा भएको सारा यहूदाकहाँ आफ्ना कर्मचारीहरूलाई यसो भन्‍न पठाए: 10 “अश्शूरका राजा सनहेरिब यसो भन्‍नुहुन्छ, के कुरामा भरोसा राखेर तिमीहरू यस घेरा हालिएको यरूशलेमभित्र बस्दछौ? 11 के हिजकियाहले ‘परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भन्दै तिमीहरूलाई, अनिकाल र तिर्खाले मर्नलाई तिमीहरूले आफूलाई दिइहाल्न भनी सुर्‍याएका त होइनन्? 12 के यिनै हिजकियाहले उहाँका उच्‍च स्थानहरू र उहाँका वेदीहरू हटाएर यहूदा र यरूशलेमलाई, ‘एउटै वेदीको सामु तिमीहरूले दण्‍डवत्‌ गर्नू, र यसैमाथि तिमीहरूले धूप बाल्नू’ भन्दै आज्ञा गरेका होइनन्? 13 मैले र मेरा पितापुर्खाहरूले अरू देशहरूका सबै मानिसहरूलाई के-के गर्‍यौं, के तिमीहरूलाई थाहा छैन? के ती देशका जातिहरूका देवताहरूले आफ्ना देशहरूलाई कहीं मेरो हातबाट छुटाउन सके त? 14 मेरा पितापुर्खाहरूले पूरै रूपले नाश गरिदिएका ती जातिहरूका सबै देवताहरूमध्ये कुनचाहिँ थियो, जसले आफ्ना जनहरूलाई मेरो हातबाट छुटाउन सक्यो? तब के तिमीहरूको ईश्‍वरले तिमीहरूलाई मेरो हातबाट छुटाउन सक्ला? 15 यसकारण अब हिजकियाहले यसरी तिमीहरूलाई धोका दिन र तिमीहरूलाई सुर्‍याउन नपाऊन्! अनि तिमीहरूले तिनलाई विश्‍वासै नगर; किनभने कुनै जाति वा राज्यको कुनै पनि देवताले आफ्ना जनहरूलाई मेरो हातबाट र मेरा पितापुर्खाहरूको हातबाट छुटाउन सकेन; तब तिमीहरूको ईश्‍वरले त झन् के तिमीहरूलाई मेरो हातबाट के छुटाउन सक्ला र?”
16 अनि उनका कर्मचारीहरूले परमप्रभु परमेश्‍वरको विरोधमा र उहाँका दास हिजकियाहको विरोधमा झन् बढ़ी बोले। 17 अनि परमप्रभु इस्राएलका परमेश्‍वरको निन्दा गर्न र उहाँको विरोधमा बोल्नलाई उनले यसो भन्‍ने चिट्ठीहरू लेखे: “जसरी अरू देशहरूका जाति-जातिका देवताहरूले आफ्ना जनहरूलाई मेरो हातबाट छुटाएनन्, त्यसरी नै हिजकियाहको ईश्‍वरले पनि आफ्ना जनहरूलाई मेरो हातबाट छुटाउनेछैन।” 18 तब पर्खालमाथि उभिएका यरूशलेमका मानिसहरूलाई भयभीत तुल्याउन र उनीहरूलाई व्याकुल पार्नलाई तिनीहरूले त्यो शहर कब्जा गर्ने उद्देश्यले चर्को स्वरले कराएर हिब्रू भाषामा उनीहरूसँग बोले। 19 अनि तिनीहरूले पृथ्वीका मानिसहरूका देवताहरूको विरोधमा बोलेझैं, जो मानिसका हातहरूको काम मात्र हुन्, यरूशलेमका परमेश्‍वरको विरोधमा बोले।
राजा सनहेरिबको हार र मृत्यु
20 अनि यसले गर्दा राजा हिजकियाह र आमोसका छोरा भविष्यवक्ता यशैयाले प्रार्थना गरे, र स्वर्गलाई पुकारे। 21 अनि परमप्रभुले एकजना स्वर्गदूत पठाउनुभयो, जसले अश्शूरका राजाको छाउनीमा सबै शूरवीर मानिसहरू, अगुवाहरू र कप्‍तानहरूलाई मेटाइदिए। तब लज्जित भएर उनी आफ्नो देशमा फर्के। अनि उनी आफ्नो देवताको मन्दिरभित्र आए; अनि त्यहाँ उनकै शरीरबाट पैदा भएका छोराहरूले उनलाई तरवारले मारे। 22 यसरी परमप्रभुले हिजकियाह र यरूशलेमका बासिन्दाहरूलाई अश्शूरका राजा सनहेरिबको हातबाट र अन्य सबै शत्रुहरूका हातबाट बचाउनुभयो, र उनीहरूलाई चारैतिरबाट अगुवाइ गर्नुभयो। 23 अनि धेरैले यरूशलेममा परमप्रभुलाई भेटीहरू र यहूदाका राजा हिजकियाहलाई उपहारहरू ल्याए; र त्यस बेलादेखि सबै जातिहरूको दृष्‍टिमा तिनी महान् भए
राजा हिजकियाहको बिमारी
24 ती दिनहरूमा हिजकियाह मर्ने गरी बिरामी भए; र तिनले परमप्रभुलाई प्रार्थना गरे। अनि उहाँ तिनीसित बोल्नुभयो, र तिनलाई एउटा चिन्ह दिनुभयो। 25 तर हिजकियाहले आफूप्रति गरिएको त्यस उपकारअनुसार व्यवहार गरेनन्; किनकि तिनको हृदय घमण्डले फुलेको थियो। यसैले तिनीमाथि, साथै यहूदा र यरूशलेममाथि क्रोध आइपर्‍यो। 26 तर पनि हिजकियाहले आफ्नो हृदयको घमण्डका निम्ति आफूलाई नम्र तुल्याए – तिनले र यरूशलेमका बासिन्दाहरूले; यसैले हिजकियाहको समयमा परमप्रभुको क्रोध उनीहरूमाथि परेन।
27 अनि हिजकियाहको अत्यन्तै धेरै धन र मान थियो; अनि तिनले आफ्ना चाँदी, सुन, बहुमूल्य पत्थरहरू, मसलाहरू, ढालहरू र सबै किसिमका बहुमूल्य गहनाहरूका निम्ति भण्डारहरू बनाए; 28 साथै अन्‍न, दाखमद्य र तेलको उब्जनीका निम्ति गोदामहरू, अनि सबै किसिमका पशुहरूका निम्ति तबेलाहरू र भेड़ाबाख्राहरूका निम्ति गोठहरू बनाए। 29 अनि तिनले आफ्ना निम्ति शहरहरू निर्माण गरे, र तिनीसित प्रशस्त भेड़ाबाख्राहरू र गाईबस्तुहरूका बथानहरू थिए; किनभने परमेश्‍वरले तिनलाई अत्यन्तै धेरै धनसम्पत्ति दिनुभएको थियो। 30 अनि यिनै हिजकियाहले गिहोनको माथिल्‍लो पानीको धारालाई थुने, र त्यसलाई सीधा तल दाऊदको शहरको पश्‍चिमपट्टि ल्याए। अनि हिजकियाह आफ्ना सबै कामहरूमा सफल भए। 31 तर बाबेलका शासकहरूले त्यस देशमा घटेको अचम्मको कामको विषयमा सोधखोज गर्नलाई तिनीकहाँ पठाएका ती राजदूतहरूको सम्बन्धमा परमेश्‍वरले तिनलाई जाँचेर तिनको हृदयमा के रहेछ, सो सबै कुरा जान्‍न तिनलाई छोड़िदिनुभयो।
32 अनि हिजकियाहका बाँकी कामकुराहरू र तिनका सुकर्महरू – हेर, ती कुराहरू आमोसका छोरा भविष्यवक्ता यशैयाको दर्शनमा, साथै यहूदा र इस्राएलका राजाहरूको पुस्तकमा लेखिएका हुन्। 33 अनि हिजकियाह आफ्ना पितापुर्खाहरूसित सुते; अनि उनीहरूले तिनलाई दाऊदका छोराहरूका चिहानहरूमध्ये सबैभन्दा उत्तम चिहानमा गाड़े; अनि सारा यहूदा र यरूशलेमका बासिन्दाहरूले तिनको मृत्युमा तिनलाई सम्मान गरे। अनि तिनको सट्टामा तिनका छोरा मनस्सेले राज्य गरे।