राजा हिजकियाहले देशमा ल्याएको धार्मिक सुधार
31
अनि यी सब कुरा भइसकेपछि उपस्थित भएका सबै इस्राएलीहरू यहूदाका शहरहरूतिर निस्केर गए; अनि तिनीहरूले सारा यहूदा र बिन्यामिनबाट, अनि एप्रैम र मनस्सेमा पनि ती चीजहरू नाश नपारेसम्म मूर्तिहरू टुक्राटुक्रा पारे, अशेराका मूर्तिहरू काटेर ढालिदिए अनि उच्‍च स्थानहरू र वेदीहरू भत्काइदिए। तब सबै इस्राएलीहरू आफ्ना शहरहरूमा – हरेक आ-आफ्नो अधिकारको भागमा फर्के।
2 अनि हिजकियाहले परमप्रभुका छाउनीहरूका मूलढोकाहरूमा होमबलिहरू र मेलबलिहरू चढ़ाउन, सेवा गर्न, धन्‍यबाद चढ़ाउन र स्तुति गर्न पूजाहारीहरू र लेवीहरूका दलहरूलाई आ-आफ्‍ना दलहरूअनुसार, चाहे पूजाहारीहरू चाहे लेवीहरू, हरेकलाई आ-आफ्नो सेवाअनुसार नियुक्त गरे। 3 अनि तिनले आफ्नो सम्पत्तिबाट होमबलिहरूका निम्ति अर्थात् परमप्रभुको व्यवस्थामा लेखिएबमोजिम बिहानबेलुकीका होमबलिहरू, साथै विश्रामदिनहरू, औंसीका दिनहरू र तोकिएका चाड़हरूका होमबलिहरूका निम्ति राजाको भाग खटाइदिए। 4 अनि उनीहरूले परमप्रभुको व्यवस्थामा लागिरहने प्रोत्साहन पाऊन् भनेर तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई पूजाहारीहरू र लेवीहरूको भाग दिने आज्ञा गरे। 5 अनि यो आज्ञा फैलिनेबित्तिकै इस्राएलीहरूले अन्‍न, दाखमद्य, तेल, मह, अँ, खेतबारीको सबै उब्जनीको पहिलोफल प्रशस्त गरी ल्याए, साथै प्रशस्त मात्रामा सबै थोकहरूको दसौं अंश पनि ल्याए। 6 अनि यहूदाका शहरहरूमा बस्‍ने इस्राएलीहरू र यहूदीहरूले पनि गाईबस्तु र भेड़ाबाख्राहरूको दसौं अंश र परमप्रभु आफ्ना परमेश्‍वरका निम्ति अर्पण गरिएका पवित्र वस्तुहरूको दसौं अंश ल्याए, र थाक-थाक लगाए। 7 तेस्रो महिनामा उनीहरूले थाकहरू लगाउन शुरु गरे र सातौं महिनामा सिद्ध्याए। 8 अनि जब हिजकियाह र शासकहरू आए, र ती थाकहरू देखे, तब उनीहरूले परमप्रभुलाई र उहाँको प्रजा इस्राएललाई धन्‍यबाद चढ़ाए 9 तब हिजकियाहले पूजाहारीहरू र लेवीहरूबाट ती थाकहरूको विषयमा सोधखोज गरे। 10 अनि प्रधान पूजाहारी अजर्याहले, जो सादोकको घरानाका थिए, तिनलाई जवाफ दिएर भने: “मानिसहरूले परमप्रभुको भवनमा भेटीहरू ल्याउन थालेदेखि हामीले तृप्‍त हुने गरी खान पाइरहेका छौं, र थुप्रै उबारेका पनि छौं; किनभने परमप्रभुले आफ्ना जनहरूलाई आशिष्‌ दिनुभएको छ, र जे उब्रेको छ, त्यो यो धनराशि हो।”
11 तब हिजकियाहले परमप्रभुको भवनमा कोठाहरू तयार गर्ने आज्ञा गरे; अनि उनीहरूले ती तयार गरे, 12 र विश्‍वासयोग्यतासाथ भेटीहरू, दसौं अंशहरू र अर्पण गरिएका वस्तुहरू भित्र ल्याए, जसमाथि लेवी कोनन्याह अधिकारी थिए, अनि तिनका भाइ शिमीचाहिँ दोस्रा थिए। 13 अनि राजा हिजकियाह र परमेश्‍वरको भवनका अधिकारी अजर्याहको आज्ञाअनुसार कोनन्याह र तिनका भाइ शिमीको अधीनतामा यहिएल, अजज्याह, नहत, असाहेल, यरिमोत, योजाबाद, एलिएल, यिस्मक्याह, महत र बनायाहचाहिँ देखरेख गर्ने अफिसरहरू थिए। 14 अनि लेवी यिम्‍नाका छोरा कोरे पूर्वपट्टि द्वारपाल थिए; तिनीचाहिँ परमप्रभुका भेटीहरू र परमपवित्र वस्तुहरू बाँड़्नलाई परमेश्‍वरका स्वेच्छा-दानहरूमाथिका अधिकारी थिए। 15 अनि तिनको अधीनतामा एदेन, मिन्यामिन, येशूअ, शमायाह, अमर्याह र शकन्याह थिए, जो पूजाहारीहरूका शहरहरूमा दल-दल हुने गरी आफ्ना ठूला-साना दाजुभाइहरूलाई बाँड़्नलाई विश्‍वासयोग्य रहेका थिए; 16 तिनीहरूको त्यस वंशावलीमा ती पुरुषहरू छोड़िए, जो तीन वर्ष र त्यसभन्दा माथिका थिए, अर्थात् ती सबै पुरुष छोड़िए, जो उनीहरूका दलहरूअनुसार उनीहरूलाई सुम्पिएका कार्यभारहरूमा उनीहरूको सेवाका निम्ति हरेक दिनको आवश्यकताअनुसार परमप्रभुको भवनभित्र पस्थे; 17 अनि उनीहरूका पितापुर्खाहरूको घरानाअनुसार वंशावलीमा उल्‍लेख गरिएका पूजाहारीहरूलाई अनि बीस वर्ष र त्यसभन्दा माथिका लेवीहरूलाई पनि भाग दिइन्थ्यो, जो उनीहरूका दलहरूअनुसार उनीहरूलाई सुम्पिएका कार्यभारहरूमा रहेका थिए; 18 साथै त्यस वंशावलीमा उल्‍लेख गरिएका उनीहरूका सबै बालबच्‍चाहरू, उनीहरूका पत्‍नीहरू र उनीहरूका छोराहरू र उनीहरूका छोरीहरूलाई, अँ, त्यस सारा समुदायलाई भाग दिइन्थ्यो; किनकि उनीहरूले विश्‍वासयोग्यतासाथ पवित्रतामा आफूलाई पवित्र पारेका थिए। 19 अनि तिनीहरूका शहरहरूबाहिरका खुला जमिनहरूका खेतबारीहरूमा बस्‍ने हारूनवंशी पूजाहारीहरूलाई – पूजाहारीहरूमध्ये सबै पुरुषहरूलाई र लेवीहरूको बीचमा वंशावलीअनुसार उल्‍लेख गरिएका सबैलाई भागहरू बाँड़्नलाई एक-एक शहरमा नाम तोकिएका मानिसहरू थिए। 20 अनि हिजकियाहले सारा यहूदाभरि यस्तै गरे, अनि परमप्रभु आफ्ना परमेश्‍वरको सामु जे असल, ठीक र सत्य थियो, त्यही गरे। 21 अनि आफ्ना परमेश्‍वरको खोजी गर्नलाई परमेश्‍वरको भवनको सेवा, व्यवस्था र आज्ञाहरूको सम्बन्धमा आफूले शुरु गरेको हरेक काम तिनले आफ्नो सम्पूर्ण हृदयले गरे, र सफल पनि भए।