राजा हिजकियाहको आज्ञाअनुसार मानिसहरूले निस्तार चाड़ मनाए
30
अनि ‘परमप्रभु इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड़ मनाउनलाई यरूशलेममा परमप्रभुको भवनमा आओ’ भनेर हिजकियाहले सारा इस्राएल र यहूदाकहाँ खबर पठाए, अनि एप्रैम र मनस्सेलाई पत्रहरू पनि लेखे। 2 किनभने दोस्रो महिनामा निस्तार चाड़ मनाऔं भनेर राजा, तिनका शासकहरू र यरूशलेममा भएको सारा समुदायले सरसल्लाह गरेका थिए। 3 किनकि त्यति बेला उनीहरूले त्यो चाड़ मनाउन सकेनन्; किनभने पर्याप्त मात्रामा पूजाहारीहरूले आफूलाई पवित्र पारेका थिएनन्, र मानिसहरू पनि यरूशलेममा भेला भएका थिएनन्। 4 अनि त्यो कुरा राजालाई र सारा समुदायलाई असल लाग्यो। 5 तब ‘तिमीहरू यरूशलेममा परमप्रभु इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड़ मनाउन आउनुपर्छ’ भन्ने घोषणा उनीहरूले बेरशेबादेखि लिएर दानसम्म सारा इस्राएलभरि प्रचारप्रसार गर्ने कुरा निश्चय गरे; किनकि धेरै समयदेखि नै उनीहरूले लेखिएबमोजिम यसो गरेका थिएनन्। 6 तब राजा र तिनका शासकहरूबाट पत्रहरू लिएर अनि राजाको आज्ञाअनुसार समाचारवाहकहरू सारा इस्राएल र यहूदाभरि यसो भन्दै घुमिहिँड़े: “हे इस्राएलीहरूहो, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वरकहाँ फर्क! र उहाँ पनि अश्शूरका राजाहरूको हातबाट उम्केर बाँकी रहेको भागकहाँ अर्थात् तिमीहरूकहाँ फर्कनुहुनेछ। 7 अनि तिमीहरू आफ्ना पितापुर्खाहरू र आफ्ना दाजुभाइहरूजस्ता नहोओ, जसले परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्वरको विरोधमा अपराधक गरे; यही कारणले उहाँले तिनीहरूलाई उजाड़ पारिदिनुभयो, जसरी तिमीहरूले देख्दैछौ। 8 अब तिमीहरू आफ्ना पितापुर्खाहरूले जस्तो आफ्नो गर्दन कठोर नपार; तर परमप्रभुकहाँ आफूलाई सुम्प, उहाँले सदा-सर्वदाका निम्ति पवित्र तुल्याउनुभएको उहाँको पवित्रस्थानभित्र आओ र परमप्रभु आफ्ना परमेश्वरको सेवा गर, यस हेतुले कि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्! 9 किनभने तिमीहरू परमप्रभुकहाँ फर्क्यौ भने तिमीहरूका दाजुभाइहरू र तिमीहरूका छोराछोरीहरूले उनीहरूलाई कैद गरेर लैजानेहरूको सामु दया पाउनेछन्, र उनीहरू यही देशमा फर्केर आउनेछन्; किनकि परमप्रभु तिमीहरूका परमेश्वर अनुग्रहकारी र कृपालु हुनुहुन्छ, र तिमीहरू उहाँकहाँ फर्क्यौ भने उहाँले तिमीहरूदेखि आफ्नो मुख फर्काउनुहुनेछैन।” 10 तब ती समाचारवाहकहरू एप्रैम र मनस्सेको देशबाट भएर एक शहरदेखि अर्को शहर हुँदै जबूलूनसम्म पुगे, तर तिनीहरूले उनीहरूलाई खिसी गरेर हाँसे, र उनीहरूलाई गिल्ला गरे। 11 तर आशेर र मनस्सेबाट, अनि जबूलूनबाट कतिपय मानिसहरूले आफूलाई नम्र तुल्याए, र यरूशलेममा आए। 12 यहूदामा पनि परमप्रभुको वचनअनुसार राजा र शासकहरूको आज्ञा मान्नका निम्ति उनीहरूलाई एउटै मन दिनुमा परमेश्वरको हात थियो।13 अनि धेरै मानिसहरू – एउटा अत्यन्तै ठूलो समुदाय नै – दोस्रो महिनामा अखमिरे रोटीहरूको चाड़ मनाउनलाई यरूशलेममा भेला भए। 14 अनि तिनीहरू उठे, यरूशलेममा भएका वेदीहरू हटाए, सबै धूप-वेदीहरू हटाए र तिनलाई किद्रोन खोलामा फ्याँकिदिए।
15 तब तिनीहरूले दोस्रो महिनाको चौधौं दिनमा निस्तार चाड़को पाठो मारे; अनि पूजाहारीहरू र लेवीहरू लज्जित भए, आफूलाई पवित्र गरे र होमबलिहरू परमप्रभुको भवनभित्र ल्याए। 16 अनि परमेश्वरको जन मोशाको व्यवस्थाअनुसार उनीहरू आफ्नो रीतिअनुसार आफ्नो स्थानमा खड़ा भए। पूजाहारीहरूले लेवीहरूको हातबाट लिएको रगत छर्के। 17 किनभने समुदायमा आफूलाई पवित्र नपारेकाहरू धेरैजना थिए; यसकारण शुद्ध नभएकाहरू सबैका निम्ति, तिनलाई परमप्रभुका निम्ति पवित्र गराउनलाई निस्तार चाड़का पाठाहरू मार्ने जिम्मेवारी लेवीहरूको भयो। 18 किनकि धेरैजसो मानिसहरूले अर्थात् एप्रैम, मनस्से, इस्साकार र जबूलूनका धेरैजनाले आफूलाई शुद्ध पारेका थिएनन्, र पनि तिनीहरूले लेखिएअनुसार नहुने गरी निस्तार चाड़को मासु खाए। तर हिजकियाहले तिनीहरूका निम्ति यसो भन्ने प्रार्थना गरिदिए: “हे कल्याणकारीख परमप्रभु, हरेकलाई क्षमा गर्नुहोस्, 19 जसले परमेश्वरको, अँ, परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्वरको खोजी गर्नलाई आफ्नो हृदय तयार पारेको छ, चाहे पवित्रस्थानको शुद्धिकरणअनुसार त्यो शुद्ध नभएको किन नहोस्!” 20 अनि परमप्रभुले हिजकियाहको प्रार्थना सुन्नुभयो, र मानिसहरूलाई निको पार्नुभयो। 21 अनि यरूशलेममा उपस्थित भएका इस्राएलीहरूले सात दिनसम्म बड़ो आनन्दको साथ अखमिरे रोटीहरूको चाड़ मनाए; अनि लेवीहरू र पूजाहारीहरूले परमप्रभुका निम्ति चर्को आवाजमा बाजाहरू बजाउँदै दिनहुँ परमप्रभुको स्तुति गरे। 22 अनि हिजकियाहले परमप्रभुको असल ज्ञानको शिक्षा दिने सबै लेवीहरूसित सान्त्वना दिँदैग बोले; अनि तिनीहरूले मेलबलिहरू चढ़ाउँदै र परमप्रभु आफ्ना पितापुर्खाहरूको परमेश्वरलाई धन्यबाद चढ़ाउँदै यस चाड़भरि सात दिनसम्म खाइरहे।
23 अनि सारा समुदायले अर्को सात दिन चाड़ मनाउने सल्लाह गरे; अनि तिनीहरूले अझै सात दिनसम्म आनन्दको साथ चाड़ मनाए। 24 किनकि यहूदाका राजा हिजकियाहले समुदायलाई एक हजार बहर र सात हजार भेड़ा दिए; अनि शासकहरूले समुदायलाई एक हजार बहर र दस हजार भेड़ा दिए। अनि पूजाहारीहरूले ठूलो संख्यामा आफूलाई पवित्र गरे। 25 अनि यहूदाको सारा समुदाय, पूजाहारीहरू र लेवीहरू, साथै इस्राएलबाट आएको सारा समुदाय र इस्राएल देशबाट आएका र यहूदामा बसोबास गर्ने परदेशीहरूले आनन्द मनाए। 26 अनि यरूशलेममा ठूलो रमाहट भयो; किनभने इस्राएलका राजा दाऊदका छोरा सुलेमानको समयदेखि यता यरूशलेममा यस्तो कहिल्यै भएको थिएन। 27 तब लेवीय पूजाहारीहरू उठे, र मानिसहरूलाई आशीर्वाद दिए; अनि उनीहरूको सोर सुनियो, र उनीहरूको प्रार्थना उहाँको पवित्र वासस्थानसम्म, स्वर्गैसम्म पुग्यो।