यहूदामा आहाजको शासन
28
राज्य गर्न शुरु गर्दा आहाज बीस वर्षका थिए; अनि तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे; तर तिनले आफ्ना पिता दाऊदले झैं गरेनन्, परमप्रभु आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे ठीक थियो, त्यो गरेनन्। 2 किनकि तिनी इस्राएलका राजाहरूका चालहरूमा हिँड़े, र बाल देवताहरूका ढालिएका मूर्तिहरू पनि बनाए। 3 अनि तिनले हिन्‍नोमको छोराको बेंसीमा धूप बाले; अनि जुन जातिहरूलाई परमप्रभुले इस्राएलीहरूको सामुबाट निकालिदिनुभएको थियो, ती जातिहरूका घिनलाग्दा कामहरूअनुसार तिनले आफ्ना छोराछोरीहरूलाई आगोमा होम गरे 4 तिनले उच्‍च स्थानहरूमा, डाँड़ाहरूहुँदो र हरेक हरियो रूखमुनि बलि चढ़ाउँथे र धूप बाल्थे। 5 यसकारण परमप्रभु तिनका परमेश्‍वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो; अनि तिनीहरूले तिनलाई प्रहार गरे, र तिनीबाट एउटा ठूलो भीड़ कैद गरेर लगे, र उनीहरूलाई दमस्‍कसमा ल्याए। अनि तिनी इस्राएलका राजाको हातमा पनि सुम्पिए, जसले तिनलाई ठूलो काटमारले प्रहार गरे। 6 किनकि रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदामा एक लाख बीस हजार मानिसहरूलाई मारे, जो सबै शूरवीर थिए; किनभने उनीहरूले परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागेका थिए। 7 अनि एप्रैमका शूरवीर मानिस जिक्रीले राजाका छोरा मासेयाहलाई, राजभवनका अधिकारी अज्रिकाम र राजापछि दोस्रो हुने एल्कानालाई मारे। 8 अनि इस्राएलीहरूले आफ्ना यहूदी दाजुभाइहरूबाट दुई लाख स्त्रीहरू, छोराहरू र छोरीहरूलाई कैद गरेर लगे, अनि उनीहरूबाट धेरै लुटको माल लगे र त्यो लुटको माल सामरियामा पुर्‍याए।
9 तर त्यहाँ परमप्रभुका भविष्यवक्ता थिए, जसको नाम ओबेद थियो; अनि तिनी सामरियामा आएको त्यस सेनालाई भेट्न निस्के, र तिनीहरूलाई भने: “हेर, परमप्रभु तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वर यहूदासित क्रोधित हुनुभएको हुनाले उहाँले उनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुभयो, र तिमीहरूले उनीहरूलाई यस्तो रिसको झोंकमा मार्‍यौ; त्यो स्वर्गसम्म पुगेको छ। 10 अनि अहिले तिमीहरूले यहूदाका र यरूशलेमकाहरूलाई आफ्ना निम्ति कमाराहरू र कमारीहरू बनाएर अधीनतामा राख्‍ने विचार गर्दैछौ। तर के तिमीहरूसँग, अँ, तिमीहरूसित परमप्रभु आफ्ना परमेश्‍वरको विरोधमा पापहरू छैनन् र? 11 यसकारण अब मेरो कुरा सुन, र ती कैदीहरूलाई फर्काइदेओ, जसलाई तिमीहरूले आफ्ना दाजुभाइहरूबाट कैद गरेर ल्याएका छौ; किनभने परमप्रभुको भयानक क्रोध तिमीहरूमाथि परेको छ।” 12 तब एप्रैमीहरूका प्रधानहरूका कति मानिसहरू अर्थात् योहानानका छोरा अजर्याह, मशिल्‍लेमोतका छोरा बेरेक्याह, शल्‍लूमका छोरा यहिज्कियाह र हद्लैका छोरा अमासा ती लड़ाइँबाट फर्केर आउनेहरूको विरोधमा खड़ा भए, 13 र तिनीहरूलाई भने: “ती कैदीहरूलाई यहाँ नल्याओ; किनकि हामीले परमप्रभुको विरोधमा अपराध गरिसकेका छौं; त के तिमीहरू हाम्रा पापहरू र हाम्रो अपराधमाथि अझै थप्‍न चाहन्छौ? किनभने हाम्रो अपराध ठूलो छ, र इस्राएलमाथि भयानक क्रोध परेको छ।” 14 तब ती हतियार भिरेका मानिसहरूले शासकहरू र सारा समुदायको सामु ती कैदीहरू र त्यो लुटको माल छोड़िदिए। 15 अनि ती नाम तोकिएका मानिसहरू उठे, र ती कैदीहरूलाई लगेर उनीहरूमध्ये जो-जो नाङ्गा थिए, यिनीहरू सबैलाई लुटको मालबाट पहिराइदिए; अँ, तिनीहरूले उनीहरूलाई पहिराइदिए, उनीहरूलाई जुत्ता लगाइदिए, उनीहरूलाई खान र पिउन दिए, उनीहरूलाई तेल लगाइदिए र उनीहरूमध्ये जो-जो कमजोर थिए, यिनीहरू सबैलाई गधाहरूमाथि चढ़ाएर खजुरको शहर येरिहोमा उनीहरूका दाजुभाइहरूकहाँ पुर्‍याइदिए। त्यसपछि तिनीहरू सामरियामा फर्के।
16 त्यस बेला राजा आहाजले अश्शूरका राजाहरूकहाँ, तिनीहरूले उनलाई सहायता दिऊन् भनी दूत पठाए। 17 किनकि एदोमीहरू फेरि आएका थिए, यहूदालाई प्रहार गरेर कैदीहरूलाई लिएर गएका थिए। 18 अनि पलिस्तीहरूले तराई र यहूदाको दक्षिण भागका शहरहरूमाथि चढ़ाइ गरेर बेत-शेमेश, अय्यालोन र गदेरोत, अनि सोको र त्यसका गाउँहरू, तिम्‍ना र त्यसका गाउँहरू अनि गिम्जो र त्यसका गाउँहरू कब्जा गरेका थिए; अनि तिनीहरू त्यहाँ बसोबास गर्न लागे। 19 किनकि इस्राएलका राजा आहाजको कारणले परमप्रभुले यहूदालाई तल झारिदिनुभयो; किनकि आहाजले यहूदालाई नाङ्गै पारे, र परमप्रभुको विरोधमा घोर अपराध गरे। 20 अनि अश्शूरका राजा तिल्गत-पिल्नेसर त तिनीकहाँ आए, र तिनलाई दुःख दिए, तर तिनलाई बलियो पारेनन्। 21 किनकि आहाजले परमप्रभुको भवनबाट, राजभवनबाट र शासकहरूबाट भाग निकालेर अश्शूरका राजालाई दिए; तर उनले तिनलाई सहायता गरेनन्।
22 अनि तिनको कष्‍ट परेको समयमा तिनले, अँ, यी राजा आहाजले परमप्रभुको विरोधमा झन् बढ़ी अपराध गरे। 23 किनभने तिनले आफूलाई प्रहार गर्ने दमस्कसका देवताहरूलाई बलि चढ़ाए; किनकि तिनले भने: “अरामका राजाहरूका देवताहरूले उनीहरूलाई सहायता गरे; यसकारण तिनीहरूले मलाई पनि सहायता गरून् भनेर म तिनीहरूका निम्ति बलि चढ़ाउनेछु।” तर ती तिनको, साथै सारा इस्राएलको विनाशको कारण बने। 24 अनि आहाजले परमेश्‍वरको भवनका भाँड़ाकुँड़ाहरू जम्मा गरे, र परमेश्‍वरको भवनका ती भाँड़ाकुँड़ाहरू काटेर टुक्रा-टुक्रा पारे, परमप्रभुको भवनका ढोकाहरू बन्द गरे र यरूशलेमको हरेक कुनामा आफ्ना निम्ति वेदीहरू बनाए। 25 अनि यहूदाका शहरैपिच्छे अन्य देवताहरूलाई धूप बाल्नका निम्ति उच्‍च स्थानहरू बनाए र परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई रिस उठाए।
26 अनि शुरुदेखि अन्तसम्म तिनका बाँकी कामकुराहरू र तिनका सबै चालहरू – हेर, ती कुराहरू यहूदा र इस्राएलका राजाहरूको पुस्तकमा लेखिएका छन्। 27 अनि आहाज आफ्ना पितापुर्खाहरूसित सुते; अनि उनीहरूले तिनलाई यरूशलेम शहरमा गाड़े, तर उनीहरूले तिनलाई इस्राएलका राजाहरूका चिहानहरूमा ल्याएनन्। अनि तिनको सट्टामा तिनका छोरा हिजकियाहले राज्य गरे।