यहूदामा उज्जियाहको शासन
26
तब यहूदाका सबै मानिसहरूले सोह्र वर्षका उज्जियाहलाई लिए, र तिनलाई तिनका बुबाको सट्टामा राजा बनाए। 2 तिनले एलोत निर्माण गरे, र त्यसलाई यहूदामा फिर्ता ल्याए; त्यसपछि राजा आफ्ना पितापुर्खाहरूसित सुते। 3 राज्य गर्न शुरु गर्दा उज्जियाह सोह्र वर्षका थिए। अनि तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम यकोल्याह थियो, जो यरूशलेमबाटकी थिइन्। 4 अनि तिनले सबै कुरामा तिनका पिता अमस्याहले गरेजस्तै परमप्रभुको दृष्‍टिमा जे ठीक थियो, त्यही गरे। 5 अनि परमेश्‍वरका दर्शनहरूको विषयमा समझ भएका मानिस जकर्याहको समयमा तिनले परमेश्‍वरको खोजी गरे; अनि जबसम्म तिनले परमप्रभुको खोजी गरे, तबसम्म परमेश्‍वरले तिनलाई सफल गराइदिनुभयो। 6 अनि तिनी निस्केर गए, र पलिस्तीहरूसँग लड़ाइँ गरे, अनि गातको पर्खाल, यब्नेको पर्खाल र अश्दोदको पर्खाल भत्काइदिए, अनि अश्दोदको वरिपरि र पलिस्तीहरूको बीचमा शहरहरू निर्माण गरे। 7 अनि परमेश्‍वरले तिनलाई पलिस्तीहरूको विरोधमा, अनि गुर-बालमा बस्‍ने अरबीहरू र मऊनीहरूको विरोधमा सहायता गर्नुभयो। 8 अनि अम्मोनीहरूले उज्जियाहकहाँ सौगातहरू ल्याउँथे; अनि तिनको सुनाम मिस्रको पस्‍ने ठाउँसम्म फैलियो; किनकि तिनी अत्यन्तै शक्तिशाली भएका थिए। 9 अनि उज्जियाहले यरूशलेममा कुने मूलढोका, बेंसीको मूलढोका र पर्खालको घुम्तीमा धरहराहरू बनाए, अनि तिनलाई बलियो पारे। 10 अनि तिनले उजाड़स्थानमा पनि धरहराहरू बनाए, र धेरै इनारहरू खने; किनकि तराईमा र मैदानहरूमा तिनका धेरै गाईबस्तुहरू थिए, साथै पहाड़हरूमा र कर्मेलमा खेतिकिसानहरू र दाखबारीहरूका मालीहरू थिए; किनकि तिनी खेतीपाती मन पराउँथे। 11 अनि उज्जियाहसित योद्धाहरूको सेना थियो, जो राजाका सेनापतिहरूमध्ये एकजना हनन्याहको अधीनतामा, सचिव यइएल र अफिसर मासेयाहद्वारा लिइएको तिनीहरूको गन्तीको संख्याअनुसार, दल-दल गरी लड़ाइँमा निस्केर जान्थे। 12 ती शूरवीर योद्धाहरूका पितापुर्खाहरूका प्रधानहरूको संख्या जम्मा दुई हजार छ सय थियो। 13 अनि शत्रुको विरोधमा राजालाई सहायता गर्नलाई उनीहरूको अधीनतामा ठूलो शक्तिले लड़ाइँ गर्ने तीन लाख सात हजार पाँच सय योद्धाहरूको शक्तिशाली सेना थियो। 14 अनि उज्जियाहले सारा सेनाभरि नै तिनीहरूका निम्ति ढालहरू, भालाहरू, टोपहरू, कवचहरू, धनुहरू र ढुङ्गा हान्‍ने घुँयेत्राहरू बनाइदिए। 15 अनि तिनले यरूशलेममा धरहराहरूमाथि र पर्खालका कुनाहरूमाथि राखेर काँड़हरू र ठूला-ठूला ढुङ्गाहरू हान्‍नलाई निपुण मानिसहरूले रचेका यन्त्रहरू बनाए। अनि तिनको सुनाम टाढ़ा-टाढ़ासम्म फैलियो; किनकि शक्तिशाली होउन्जेल तिनले अद्‌भूत सहायता पाएका थिए।
उज्जियाहको हृदयमा उठेको घमण्ड, र तिनको दु:खद अन्त
16 तर जब तिनी शक्तिशाली भए, तब तिनको विनाशका निम्ति तिनको हृदय घमण्डले फुल्यो; किनभने तिनले परमप्रभु आफ्ना परमेश्‍वरको विरोधमा अपराध गरे, र धूपवेदीमा धूप बाल्न परमप्रभुको मन्दिरभित्र पसे। 17 अनि तिनको पछि-पछि पूजाहारी अजर्याह र उनको साथमा परमप्रभुका अस्सीजना पूजाहारीहरू गए, जो शूरवीर मानिसहरू थिए। 18 अनि उनीहरूले राजा उज्जियाहलाई सामना गरे, र तिनलाई भने: “हे उज्जियाह, परमप्रभुका निम्ति धूप बाल्ने काम तपाईंको होइन; यो हारूनवंशी पूजाहारीहरूको काम हो, जो धूप बाल्नलाई पवित्र गरिएका छन्। पवित्रस्थानबाट निस्कनुहोस्! किनकि तपाईंले अपराध गर्नुभएको छ; र परमप्रभु परमेश्‍वरबाट तपाईंका निम्ति यो महिमाको कारण हुनेछैन।” 19 तब उज्जियाह क्रोधित भए, र धूप बाल्नलाई तिनको हातमा धूपदानी थियो; अनि ती पूजाहारीहरूसित क्रोधित हुँदा-हुँदै ती पूजाहारीहरूको अगाड़ि परमप्रभुको भवनभित्र त्यस धूपवेदीको छेउमा तिनको निधारमा कोर निस्क्यो। 20 अनि महापूजाहारी अजर्याह र सबै पूजाहारीहरूले तिनलाई हेरे; अनि हेर, तिनीचाहिँ, तिनको निधारमा, कोरी रहेछन्! तब उनीहरूले हतार-हतार तिनलाई त्यहाँबाट निकाले; अँ, तिनी आफै पनि हतारसित निस्के; किनकि परमप्रभुले तिनलाई प्रहार गर्नुभएको थियो। 21 अनि राजा उज्जियाह आफ्नो मृत्युको दिनसम्म कोरी भइरहे, र कोरी भएका हुनाले अलग्गै एउटा घरमा बसे; किनभने तिनी परमप्रभुको भवनदेखि बहिष्कृत भएका थिए। अनि तिनका छोरा योताम देशका मानिसहरूको न्याय गर्दै राजघरानामाथि अधिकारी थिए।
22 अनि उज्जियाहका शुरुदेखि अन्तसम्मका बाँकी कामकुराहरूको विषयमा आमोसका छोरा भविष्यवक्ता यशैयाले लेखे। 23 तब उज्जियाह आफ्ना पितापुर्खाहरूसित सुते; अनि उनीहरूले तिनलाई तिनका पितापुर्खाहरूको साथमा राजाहरूलाई गाड़्‍ने जमिनमा गाड़े, जो राजाहरूको थियो; किनकि उनीहरूले ‘यिनी त कोरी हुन्’ भन्थे। अनि तिनको सट्टामा तिनका छोरा योतामले राज्य गरे।