यहूदामा योआशको शासन
24
राज्य गर्न शुरु गर्दा योआश सात वर्षका थिए; अनि तिनले यरूशलेममा चालीस वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम सिब्या थियो, जो बेरशेबाकी थिइन्। 2 अनि पूजाहारी यहोयादाको जीवनकालभरि नै योआशले परमप्रभुको दृष्‍टिमा जे ठीक थियो, त्यही गरे। 3 अनि यहोयादाले तिनलाई दुई पत्‍नीहरू विवाह गराइदिए; अनि तिनले छोराहरू र छोरीहरू जन्माए।
4 अनि त्यसपछि यस्तो भयो: योआशको मनमा परमप्रभुको भवन मर्मत गर्ने चाहना भयो। 5 अनि तिनले पूजाहारीहरू र लेवीहरूलाई भेला गरेर उनीहरूलाई भने: “यहूदाका शहरहरूतिर निस्केर जाओ, र सारा इस्राएलबाट तिमीहरूका परमेश्‍वरको भवन मर्मत गर्नलाई हरेक वर्ष पैसा जम्‍मा गर! तिमीहरूले यो काम झट्टै गरिहाल!” तर लेवीहरूले हतार गरेनन्। 6 तब राजाले प्रधान यहोयादालाई बोलाए, र उनलाई भने: “तपाईंले किन साक्षीको निवासस्थानका निम्ति परमप्रभुका दास मोशा र इस्राएलको समुदायको आज्ञाअनुसार यहूदा र यरूशलेमबाट दान भित्र ल्याउनलाई लेवीहरूबाट लेखा लिनुभएको छैन? 7 किनभने त्यो दुष्‍ट स्त्री अतल्याहका छोराहरूले परमप्रभुको भवन फोरेका थिए, अनि परमप्रभुको भवनका सबै अर्पण गरिएका वस्तुहरू पनि बाल देवताहरूलाई चढ़ाइदिएका थिए।” 8 अनि राजाको आज्ञाअनुसार उनीहरूले एउटा सन्दुक बनाए, र त्यसलाई परमप्रभुको भवनको ढोकाबाहिर राखे। 9 अनि परमेश्‍वरका दास मोशाले उजाड़स्थानमा इस्राएलीहरूका निम्ति ठहऱ्याएको दान परमप्रभुकहाँ ल्याओ भनी उनीहरूले यहूदा र यरूशलेमभरि घोषणा गरे। 10 तब सबै शासकहरू र सबै मानिसहरू रमाए, भित्र ल्याए र दिइनसकुन्जेल त्यस सन्दुकभित्र हालिरहे। 11 अब यस्तो हुन्थ्यो: जब लेवीहरूद्वारा त्यो सन्दुक राजाको कार्यालयमा ल्याइन्थ्यो, र उनीहरूले त्यसमा धेरै पैसा भएको देख्थे, तब राजाका मुन्सी र महापूजाहारीका अफिसर आएर त्यो सन्दुक खाली गर्थे, त्यसलाई उठाउँथे र फेरि त्यसको ठाउँमा लगिदिन्थे। दिनहुँ उनीहरूले त्यसै गरे, र प्रशस्त पैसा संग्रह गरे। 12 अनि राजा र यहोयादाले त्यो पैसा परमप्रभुको भवनको सेवाको काम गर्नेहरूलाई दिए, र उनीहरूले परमप्रभुको भवन मर्मत गर्नलाई डकर्मीहरू र सिकर्मीहरूलाई, साथै परमप्रभुको भवन मर्मत गर्नलाई फलाम र पित्तलका कारिगरहरूलाई ज्यालामा लगाए 13 यसरी ती काम गर्नेहरूले काम गरे, र उनीहरूद्वारा मर्मतको काम अघि बढ़ेर सिद्ध्याइयो; अनि उनीहरूले परमेश्‍वरको भवन त्यसको पहिलेको अवस्थामा खड़ा गरे र त्यसलाई बलियो तुल्याए। 14 अनि उनीहरूले यो काम गरिसिद्ध्याएपछि बाँकी पैसा राजा र यहोयादाको सामु ल्याए, अनि त्यसैबाट परमप्रभुको भवनका निम्ति भाँड़ाकुँड़ाहरू अर्थात् सेवामा चलाउने र होमबलिहरूका निम्ति चलाउने भाँड़ाकुँड़ाहरू, चम्चाहरू अनि सुन र चाँदीका भाँड़ाकुँड़ाहरू बनाए। अनि यहोयादाको जीवनभरि उनीहरूले परमप्रभुको भवनमा निरन्‍तर होमबलिहरू चढ़ाए।
15 तर यहोयादा वृद्ध भए, र पूरा उमेर खाइसकेर मरे; उनी मर्दा एक सय तीस वर्ष पुगेका थिए। 16 अनि तिनीहरूले उनलाई दाऊदको शहरमा राजाहरूको बीचमा गाड़े; किनभने उनले इस्राएलमा परमेश्‍वर र उहाँको भवनका निम्ति भलाइ गरेका थिए।
योआशको आत्मिक पतन
17 अनि यहोयादाको मृत्युपछि यहूदाका शासकहरू आए, र राजालाई दण्‍डवत्‌ गरे। तब राजाले तिनीहरूको कुरा सुने 18 अनि तिनीहरूले परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्‍वरको भवनलाई त्यागे, अनि अशेराका मूर्तिहरू पुज्‍न थाले। तब तिनीहरूको यस अपराधले गर्दा यहूदा र यरूशलेममाथि परमेश्‍वरको क्रोध आइपर्‍यो। 19 तापनि तिनीहरूलाई परमप्रभुकहाँ फर्काएर ल्याउनलाई उहाँले तिनीहरूकहाँ भविष्यवक्ताहरू पठाउनुभयो; अनि उनीहरूले तिनीहरूको विरोधमा साक्षी दिए; तर तिनीहरूले कान लगाएनन्। 20 तब पूजाहारी यहोयादाका छोरा जकर्याहमाथि परमेश्‍वरका आत्मा आउनुभयो; अनि उनी मानिसहरूभन्दा माथि उभिएर तिनीहरूलाई भने: “परमेश्‍वर यसो भन्‍नुहुन्छ, तिमीहरू किन परमप्रभुका आज्ञाहरू उल्‍लङ्घन गर्छौ? तिमीहरू सफल हुन सक्दैनौ। तिमीहरूले परमप्रभुलाई त्याग्यौ; यसैले उहाँले पनि तिमीहरूलाई त्यागिदिनुभएको छ।” 21 अनि तिनीहरूले उनको विरोधमा षड़्यन्‍त्र रचे, र राजाको आज्ञाअनुसार उनलाई परमप्रभुको भवनको चोकमा ढुङ्गाहरूले हाने। 22 यसरी उनका बुबा यहोयादाले आफूप्रति गरेको करुणा योआशले सम्झेनन्, तर उनका छोरालाई मारे। अनि मर्ने बेलामा उनले भने: “परमप्रभुले हेरेर यसको लेखा लिऊन्!”
23 अनि त्यस वर्षको अन्तमा यस्तो भयो: अरामीहरूको सेनाले तिनीमाथि चढ़ाइ गर्‍यो; अनि तिनीहरू यहूदा र यरूशलेममा आए, र मानिसहरूका सबै शासकहरूलाई मानिसहरूको बीचबाट नाश गरिदिए र उनीहरूको लुटको सबै माल दमस्कसका राजाकहाँ पठाए। 24 किनकि अरामीहरूको सेना थोरै मानिसहरू लिएर आएको थियो; तर परमप्रभुले एउटा अति ठूलो भीड़लाई तिनीहरूको हातमा सुम्पिदिनुभयो; किनकि उनीहरूले परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागेका थिए। यसैले तिनीहरूले योआशलाई न्याय गरे। 25 अनि जब तिनीहरू तिनीबाट हिँड़े, (किनभने तिनीहरूले तिनलाई ठूला रोगहरूले ग्रस्त भएको अवस्थामा छोड़े), तब तिनका सेवकहरूले पूजाहारी यहोयादाका छोराहरूको रगतको खातिर तिनको विरोधमा षड़्यन्‍त्र रचे, र तिनलाई तिनको पलङमा मारे, र तिनी मरे; अनि उनीहरूले तिनलाई दाऊदको शहरमा गाड़े, तर तिनलाई राजाहरूका चिहानहरूमा गाड़ेनन्। 26 तिनको विरोधमा षड़्यन्‍त्र रच्‍नेहरू यिनै थिए: अम्मोनी स्त्री शिमातका छोरा जाबाद र मोआबी स्त्री शिमृतका छोरा यहोजाबाद। 27 अब तिनका छोराहरू, तिनीमाथि लादिएका भारीहरूको प्रशस्तता र परमेश्‍वरको भवनको मर्मतको विषयमा – हेर, ती कुराहरू राजाहरूको वृत्तान्तको पुस्तकमा लेखिएका छन्। अनि तिनको सट्टामा तिनका छोरा अमस्याहले राज्य गरे।