योआशलाई राजा बनाउनमा पूजाहारी यहोयादाको हात
23
अनि सातौं वर्षमा यहोयादाले आफूलाई बलियो पारे, सयौंमाथिका कप्तानहरूलाई अर्थात् यरोहामका छोरा अजर्याह, यहोहानानका छोरा इश्माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलिशापातलाई लिए, र उनीहरूलाई आफूसित एउटा वाचामा बँधाए। 2 अनि यहूदाभरि चारैतिर घुमेर यिनीहरूले यहूदाका सबै शहरहरूबाट लेवीहरूलाई र इस्राएलका पितापुर्खाहरूका प्रधानहरूलाई भेला पारे; अनि उनीहरू यरूशलेममा आए। 3 तब सारा जमातले परमेश्वरको भवनमा राजासित एउटा वाचा बाँधे। अनि यहोयादालेक उनीहरूलाई भने: “हेर, परमप्रभुले दाऊदका सन्तानहरूको विषयमा भन्नुभएझैं राजाका छोराले राज्य गर्नेछन्। 4 तिमीहरूले गर्नुपर्ने कुरा यही हो: तिमीहरूमध्ये एक तिहाइ, जो पूजाहारीहरू र लेवीहरू भएर विश्रामदिनमा भित्र पस्छौ, ढोकाहरूमा पहरा दिनेहरू होओ! 5 अनि एक तिहाइ राजभवनमा, र एक तिहाइचाहिँ जगको मूलढोकामा बस्नू! अनि सबै मानिसहरू परमप्रभुको भवनका चोकहरूमा बसून्! 6 तर पूजाहारीहरू र लेवीहरूमध्ये ज-जसले सेवा गर्दथे, यिनीहरूबाहेक अरू कोही पनि परमप्रभुको भवनभित्र नपसोस्! उनीहरू भित्र पसून्; किनकि उनीहरू पवित्र छन्; तर सबै मानिसहरूले चाहिँ परमप्रभुको अभिभारा सम्हालिराखून्! 7 अनि लेवीहरू, हरेकले आफ्नो हातमा आफ्नो हातहतियार लिएर राजालाई चारैतिरबाट घेरून्! अरू जो कोही भवनभित्र पस्छ, त्यो मारियोस्; तर तिमीहरूचाहिँ राजा भित्र आउँदा र राजा बाहिर जाँदा तिनको साथमा होओ!”8 तब लेवीहरू र सारा यहूदाले पूजाहारी यहोयादाले आज्ञा गरेका सबै कुराहरूअनुसार गरे, र उनीहरू हरेकले विश्रामदिनमा बाहिर जानेहरूको साथमा विश्रामदिनमा भित्र आउने आ-आफ्ना मानिसहरूलाई लिए; किनभने पूजाहारी यहोयादाले दलहरूलाई बिदा दिएनन्। 9 अनि पूजाहारी यहोयादाले सयौंमाथिका कप्तानहरूलाई राजा दाऊदका भालाहरू, ठूला ढालहरू र साना ढालहरू सुम्पिदिए, जुन ढालहरू परमेश्वरको भवनमा थिए। 10 अनि तिनले आफ्नो हातमा आफ्नो हातहतियार बोकेका सबै मानिसहरूलाई मन्दिरको दाहिने पट्टिबाट लिएर मन्दिरको देब्रे पट्टिसम्म वेदीको छेउमा र मन्दिरको छेउमा राजाको चारैतिर राखे। 11 तब उनीहरूले राजाका छोरालाई बाहिर ल्याए, उनीमाथि मुकुट लगाइदिए र उनलाई साक्षीख दिएर उनलाई राजा तुल्याए। अनि यहोयादा र तिनका छोराहरूले उनलाई अभिषेक गरे र भने: “राजा अमर रहून्!”
अतल्याहको हत्या
12 जब अतल्याहले मानिसहरू दौड़ादौड़ी गरिरहेका र राजाको प्रशंसा गरिरहेको आवाज सुनिन्, तब तिनी परमप्रभुको भवनभित्र ती मानिसहरूकहाँ आइन्। 13 अनि तिनले हेर्दा हेर, राजा भित्र पस्ने ठाउँमा आफ्नो खाँबानिर उभिरहेका रहेछन्, अनि राजाको छेउमा शासकहरू र तुरही फुक्नेहरू रहेछन्! अनि देशका सबै मानिसहरू हर्ष मनाउँदै र तुरहीहरू फुकिरहेका थिए, साथै बाजाहरूको साथ गायकहरू र स्तुति गाउने अगुवाहरू पनि थिए। तब अतल्याहले आफ्ना वस्त्रहरू च्यातिन्, र भनिन्: “राजद्रोह! राजद्रोह!!” 14 तब पूजाहारी यहोयादाले सयौंमाथिका कप्तानहरूलाई अर्थात् सेनाका अफिसरहरूलाई बाहिर ल्याए, र उनीहरूलाई भने: “यिनलाई पङ्क्तिहरूको बीचबाट बाहिर लैजाओ, र जो यिनको पछि लाग्छ, त्यो तरवारले मारियोस्!” किनकि पूजाहारीले भनेका थिए: ‘तिमीहरूले यिनलाई परमप्रभुको भवनभित्र नमार्नू!’ 15 यसकारण उनीहरूले यिनीमाथि हात हाले, र जब यिनी राजभवनको घोड़ाहरू पस्ने ढोकाको मुखमा आइपुगिन्, तब उनीहरूले यिनलाई त्यहीं मारे।
16 अनि यहोयादाले आफू, प्रजा र राजाको बीचमा ‘हामी परमप्रभुको प्रजा बनिरहनेछौं’ भनेर एउटा वाचा बाँधे। 17 तब सबै मानिसहरू बालको मन्दिरमाग गए, र त्यसलाई भत्काइदिए; अनि तिनीहरूले त्यसका वेदीहरू र त्यसका मूर्तिहरू टुक्रा-टुक्रा पारिदिए र बालको पूजाहारी मत्तानलाई ती वेदीहरूको अगाड़ि मारे। 18 अनि मोशाको व्यवस्थामा लेखिएअनुसार परमप्रभुका होमबलिहरू दाऊदद्वारा ठहराइएअनुसार आनन्द मनाउँदै र गीत गाउँदै चढ़ाउनलाई परमप्रभुको भवनमा दाऊदले छुट्ट्याइदिएका लेवीय पूजाहारीहरूको हातद्वारा यहोयादाले परमप्रभुको भवनका सेवाहरू ठहऱ्याए। 19 अनि कुनै कुरामा अशुद्ध भएको कोही पनि व्यक्तिले भित्र पस्न नपाओस् भनी तिनले परमप्रभुको भवनका मूलढोकाहरूमा द्वारपालहरू राखे। 20 अनि तिनले सयौंमाथिका कप्तानहरू, भारादारहरू, जनताका शासकहरू र देशका सबै मानिसहरूलाई लिएर राजालाई परमप्रभुको भवनबाट तल ल्याए। अनि उनीहरू उच्च मूलढोकाबाट भएर राजभवनभित्र आए, र राजालाई राज्यको सिंहासनमाथि बसाए। 21 अनि देशका सबै मानिसहरूले आनन्द मनाए; अनि उनीहरूले अतल्याहलाई तरवारले मारेपछि शहर शान्त भयो।