यहूदामा यहोरामको शासन
21
अनि यहोशापात आफ्ना पितापुर्खाहरूसित सुते, र आफ्ना पितापुर्खाहरूसँग दाऊदको शहरमा गाड़िए। अनि उनको सट्टामा उनका छोरा यहोरामले राज्य गरे। 2 अनि तिनका भाइहरू अर्थात् यहोशापातका छोराहरू अजर्याह, यहिएल, जकर्याह, अजर्याह, मिकाएल र शपत्याह थिए। यिनीहरू सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए। 3 अनि उनीहरूका पिताले उनीहरूलाई चाँदी, सुन र बहुमूल्य वस्तुहरूका ठूला-ठूला उपहारहरू, साथै यहूदामा पर्खालले घेरिएका शहरहरू दिए, तर राज्यचाहिँ उनले यहोरामलाई दिए; किनकि तिनीचाहिँ जेठा थिए। 4 अनि जब यहोराम आफ्ना बुबाको राज्यमा खड़ा भए, र आफूलाई बलिया पारे, तब तिनले आफ्ना सबै भाइहरूलाई, साथै इस्राएलका कतिपय शासकहरूलाई पनि तरवारले मारे।
5 राज्य गर्न शुरु गर्दा यहोराम बत्तीस वर्षका थिए; अनि तिनले यरूशलेममा आठ वर्ष राज्य गरे। 6 अनि तिनी अहाबको घरानाले गरेजस्तै इस्राएलका राजाहरूको चालमा हिँड़े; किनभने अहाबकी छोरी तिनकी पत्‍नी थिइन्; अनि तिनले परमप्रभुको दृष्‍टिमा खराबी गरे। 7 तर परमप्रभु आफूले दाऊदसित बाँध्‍नुभएको त्यस वाचाको कारणले, साथै उनका निम्ति र उनका सन्तानका निम्ति सधैं एउटा बत्ती दिनेछु भनी उहाँले प्रतिज्ञा गर्नुभएअनुसार उहाँले दाऊदको घरानालाई नाश गर्न चाहनुभएन।
8 तिनको समयमा एदोमीहरूले यहूदाको अधीनता फालेर विद्रोह गरे, र आफूमाथि एउटा राजा बनाए। 9 तब यहोराम आफ्ना शासकहरू र आफ्ना सबै रथहरू साथमा लिएर निस्के; अनि राति उठेर तिनले आफ्नो वरिपरि घेरा हालिरहेका ती एदोमीहरू र रथहरूका कप्‍तानहरूलाई प्रहार गरे। 10 तापनि एदोमीहरूले आजको दिनसम्म यहूदाको अधीनता फालेर विद्रोह गरिरहे। त्यति बेला लिब्‍नाले पनि तिनको अधीनता फालेर विद्रोह गर्‍यो; किनकि यहोरामले परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागेका थिए।
11 अझै तिनले यहूदाका पहाड़हरूमा उच्‍च स्थानहरू बनाएर यरूशलेमका बासिन्दाहरूलाई व्यभिचार गर्न लगाए, र यहूदालाई त्यसो गर्न बाध्य गराए। 12 अनि भविष्यवक्ता एलियाबाट तिनीकहाँ यसो भन्‍ने पत्र आयो: “परमप्रभु तपाईंका पिता दाऊदका परमेश्‍वर यसो भन्‍नुहुन्छ, तिमी आफ्ना पिता यहोशापातका बाटाहरूमा हिँड़ेनौ, न ता यहूदाका राजा आसाका बाटाहरूमा नै हिँड्यौ; 13 तर इस्राएलका राजाहरूको चालमा हिँड़ेर तिमीले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई अहाबको घरानाका वेश्याकर्महरूअनुसार व्यभिचार गर्न लगायौ, र आफ्ना बुबाको घरानाका आफ्ना भाइहरूलाई पनि मार्‍यौ, जो तिमीभन्दा असल थिए। 14 यसकारण हेर, परमप्रभुले तिम्रो प्रजा, तिम्रा छोराछोरीहरू, तिम्रा पत्‍नीहरू र तिम्रो सबै धनसम्पत्तिमाथि ठूलो विपत्ति ल्याउनुहुनेछ; 15 अनि तिम्रा आन्द्रामा रोग लागेर तिमीचाहिँ ठूला-ठूला रोगले ग्रस्त हुनेछौ, यहाँसम्म कि दिन प्रतिदिन बढ़िरहेको त्यही रोगले गर्दा तिम्रा आन्द्राहरू बाहिर निस्कनेछन्।”
16 अनि परमप्रभुले यहोरामको विरोधमा पलिस्तीहरू र कूशीहरूको छेउमा बस्‍ने अरबीहरूको आत्मा उभाड़्नुभयो। 17 अनि तिनीहरूले यहूदामाथि चढ़ाइ गरे, र तोड़फोड़ गरेर भित्र पसे, अनि राजभवनमा भेट्टाइएजति सबै धनसम्पत्ति, अनि तिनका छोराहरू र तिनका पत्‍नीहरूलाई पनि लिएर गए, यतिसम्म कि तिनका निम्ति तिनका छोराहरूमध्ये कान्छा छोरा यहोआहाजबाहेक अरू कुनै छोरा बाँकी रहेनन्। 18 अनि यी सबै कुराहरूपछि परमप्रभुले तिनलाई तिनका आन्द्राहरूमा निको हुन नसक्ने रोगले प्रहार गर्नुभयो। 19 अनि समय बित्दै जाँदा, दुई वर्षको अन्तमा यस्तो भयो: तिनको त्यही रोगले गर्दा तिनका आन्द्राहरू बाहिर निस्के, र सिकिस्त रोगहरूले पीड़ित भएर तिनी मरे। अनि तिनको प्रजाले तिनका पितापुर्खाहरूका निम्ति धुनी बालेझैं तिनका निम्ति धुनी बालेनन्। 20 राज्य गर्न शुरु गर्दा तिनी बत्तीस वर्षका थिए; अनि तिनले यरूशलेममा आठ वर्ष राज्य गरे; अनि कसैले तिनको चाहना नगरीकनै तिनी मरेर गए। तरैपनि उनीहरूले तिनलाई दाऊदको शहरमा गाड़े, तर राजाहरूका चिहानहरूमा होइन।