मोआबी, अम्मोनी र एदोमीहरूको आक्रमण र हार
20
अनि त्यसपछि यस्तो भयो: मोआबीहरू र अम्मोनीहरू, अनि तिनीहरूको साथमा अम्मोनीहरूबाहेक अरू लड़ाइँ गर्न यहोशापातको विरोधमा आए। 2 तब मानिसहरू आए, र यहोशापातलाई यसो भन्दै बताए: “समुद्रपारिबाट, अरामपट्टिबाट एउटा ठूलो भीड़ तपाईंको विरोधमा आइरहेछ; अनि हेर्नुहोस्, तिनीहरू हसासोन-तमारमा, अर्थात् एन्‌-गदीमा छन्।” 3 अनि यहोशापात डराए, र आफूलाई परमप्रभुको खोजमा लगाए, अनि सारा यहूदाभरि उपवासको घोषणा गरे। 4 अनि यहूदा परमप्रभुबाट गुहार माग्‍न भेला भए। अँ, यहूदाका सबै शहरहरूबाट उनीहरू परमप्रभुको खोजी गर्न आए।
5 अनि यहोशापात परमप्रभुको भवनमा नयाँ चोकको अगाड़ि यहूदा र यरूशलेमको जमातमा खड़ा भए, 6 र भने: “हे परमप्रभु, हाम्रा पितापुर्खाहरूका परमेश्‍वर, के तपाईं स्वर्गमा हुनुहुने परमेश्‍वर हुनुहुन्‍न र? अनि के तपाईं जाति-जातिका सबै राज्यहरूमाथि शासन गर्नुहुन्‍न र? अनि के तपाईंको हातमा शक्ति र सामर्थ्य छैन र, जसले गर्दा कसैले पनि तपाईंको सामना गर्न सक्दैन? 7 के तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍न र, जसले यस देशका बासिन्दाहरूलाई आफ्नो प्रजा इस्राएलको सामुबाट धपाएर यो आफ्ना मित्र अब्राहामको वंशलाई सदा-सर्वदाका निम्ति दिनुभएको थियो? 8 अनि उनीहरू यसमा बसोबास गरे, र यसो भन्दै यसमा तपाईंको नामका निम्ति एउटा पवित्रस्थान बनाए: 9 ‘हामीमाथि कुनै विपत्ति, जस्तै तरवार, सजाय, महामारी वा अनिकाल आइपर्दा हामी यस भवनको सामु, अँ, तपाईंको उपस्थितिमा खड़ा भयौं, (किनकि तपाईंको नाम यस भवनमा छ), र हाम्रो सङ्कष्‍टमा तपाईंलाई पुकार्‍यौं भने, तपाईंले सुनेर सहायता गर्नुहुनेछ।’ 10 अनि अब हेर्नुहोस्, अम्मोनीहरू, मोआब र सेईर पहाड़, जसलाई आक्रमण गर्न तपाईंले इस्राएललाई, उनीहरू मिस्र देशबाट निस्केर आइरहेको बेलामा अनुमति दिनुभएन; तर उनीहरू तिनीहरूबाट हटे, र तिनीहरूलाई नाश गरेनन्। 11 हेर्नुहोस्, तिनीहरूले नै हामीलाई बदला दिइरहेका छन्! हामीलाई तपाईंको यस अधिकारको भागबाट निकाल्नलाई तिनीहरू आइरहेछन्, जुन अधिकारको भाग तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको थियो। 12 हे हाम्रा परमेश्‍वर, के तपाईं तिनीहरूलाई न्याय गर्नुहुन्‍न? किनभने हाम्रो विरोधमा आइरहेको त्यस ठूलो भीड़लाई सामना गर्न हामीसित सामर्थ्य नै छैन, न हामीले के गर्नुपर्ने हो, सो नै जान्दछौं; तर हाम्रा आँखाहरू तपाईंमाथि लगाइएका छन्।” 13 अनि सारा यहूदा, साथ-साथै उनीहरूका बालबच्‍चाहरू, उनीहरूका स्‍वास्‍नीहरू र उनीहरूका छोराछोरीहरू परमप्रभुको सामु खड़ा भए।
14 तब जमातको बीचमा आसाफका सन्तानबाटका एकजना लेवी जकर्याहका छोरा यहजिएलमाथि परमप्रभुका आत्मा आउनुभयो; तिनी बनायाहका नाति, यइएलका पनाति, मत्तन्याहका खनाति थिए। 15 अनि तिनले भने: “हे सबै यहूदा र यरूशलेमका बासिन्दाहरूहो! अँ, हे राजा यहोशापात, सुन्‍नुहोस्! परमप्रभु तपाईंहरूलाई यसो भन्‍नुहुन्छ: त्यस ठूलो भीड़देखि नडराओ, र हताश नहोओ! किनकि लड़ाइँ तिमीहरूको होइन, तर परमेश्‍वरको हो। 16 भोलि तिनीहरूको विरुद्ध तल जाओ; हेर, तिनीहरू जिजको उकालो भएर माथि आउँदैछन्, र तिमीहरूले तिनीहरूलाई यरूएलको उजाड़स्थानको सामु, खोलाको शिरमा भेट्टाउनेछौ। 17 यस लड़ाइँमा तिमीहरूले लड़ाइँ गर्नुपर्नेछैन; हे यहूदा र यरूशलेमहो, आफूलाई हाजिर गराओ, स्थिर भई खड़ा होओ, अनि तिमीहरूसित हुनुहुने परमप्रभुको उद्धारलाई हेर! नडराओ, र हताश नहोओ! भोलि तिनीहरूको विरोधमा निस्केर जाओ; किनभने परमप्रभु तिमीहरूको साथमा हुनुहुनेछ।” 18 तब यहोशापातले भुइँसम्‍म आफ्नो शिर झुकाए; अनि सारा यहूदा र यरूशलेमका बासिन्दाहरू परमप्रभुको सामु लम्पसार परे, र परमप्रभुलाई दण्‍डवत्‌ गरे। 19 अनि कहातवंशी र कोरहवंशी लेवीहरू चर्को र उच्‍च सोरमा परमप्रभु इस्राएलका परमेश्‍वरको स्तुति गर्न उठे।
20 अनि उनीहरू बिहान सबेरै उठे, र टेकोअको उजाड़स्थानतर्फ निस्केर गए; अनि उनीहरू जाँदै गर्दा यहोशापात खड़ा भए, र भने: “हे यहूदा र यरूशलेमका बासिन्दाहरूहो, मेरो कुरा सुन! परमप्रभु आफ्ना परमेश्‍वरमाथि विश्‍वास गर, तब तिमीहरू स्थिर रहनेछौ! उहाँका भविष्यवक्ताहरूलाई विश्‍वास गर, तब तिमीहरू सफल हुनेछौ।” 21 अनि मानिसहरूसित सल्‍लाह लिएपछि तिनले परमप्रभुका निम्ति गाउने गायकहरूलाई र यस्ताहरूलाई नियुक्त गरे, जसले सेनाको अघि-अघि हिँड़्‍दा पवित्रताको सुन्दरतामा स्तुति गर्थे, र जसले ‘तिमीहरू परमप्रभुको स्तुति गर; किनकि उहाँको करुणा सदा-सर्वदा रहिरहन्छ’ भनी भन्थे। 22 अनि जब उनीहरूले गाउन र स्तुति गर्न थाले, तब परमप्रभुले यहूदाको विरोधमा आइरहेका अम्मोनीहरू, मोआब र सेईर पहाड़को विरोधमा ढुकेर बस्‍नेहरूलाई राख्‍नुभयो; अनि तिनीहरू प्रहार गरिए। 23 अनि अम्मोनीहरू र मोआबचाहिँ सेईर पहाड़का बासिन्दाहरूलाई पूरै रीतिले मारेर नाश गर्नलाई यिनीहरूको विरोधमा उठे; अनि सेईरका बासिन्दाहरूलाई सखाप पारेपछि तिनीहरूले एक-अर्कालाई नाश गर्न सहायता गरे।
24 अनि जब यहूदा उजाड़स्थानमा भएको पहरेदार धरहरामा आइपुग्यो, तब उनीहरूले त्यस भीड़लाई हेरे; अनि हेर, तिनीहरू त लासैलास भएर भुइँमा पड़िरहेका रहेछन्, अनि कोही पनि उम्केको थिएन। 25 अनि जब यहोशापात र तिनको प्रजा तिनीहरूको लुटको माल बटुल्न आए, तब उनीहरूले तिनीहरूको बीचमा ती लासहरूसित प्रशस्त धनमालहरू र बहुमूल्य गहनाहरू भेट्टाए, र तिनलाई आफ्ना निम्ति खोलखाल पारे, यहाँसम्म कि उनीहरूले तिनलाई उठाएर लैजान सकेनन्; अनि त्यो यति बिघ्न थियो कि त्यो लुटको माल बटुल्न उनीहरूलाई तीन दिन लाग्यो।
26 अनि चौथो दिन उनीहरू बराकाको बेंसीमा भेला भए; किनकि त्यहीं उनीहरूले परमप्रभुलाई धन्‍यबाद चढ़ाए। यसकारण त्यस ठाउँको नाम उनीहरूले आजको दिनसम्म ‘बराकाको बेंसी’ राखे। 27 तब यहूदा र यरूशलेमको हरेक मानिस, अनि उनीहरूको अघि-अघि यहोशापात, आनन्दसाथ यरूशलेममा फर्केर जानलाई फर्के; किनकि परमप्रभुले उनीहरूलाई उनीहरूका शत्रुहरूमाथि आनन्द मनाउने तुल्याउनुभएको थियो। 28 अनि उनीहरू सितार, वीणा र तुरहीहरू बजाउँदै यरूशलेममा परमप्रभुको भवनमा आए। 29 अनि परमप्रभु इस्राएलका शत्रुहरूसित लड़्नुभएको कुरा सुनेर देश-देशका सबै राज्यहरूलाई परमेश्‍वरको भयले छोप्यो। 30 तब यहोशापातको राज्य शान्त थियो; किनभने तिनका परमेश्‍वरले तिनलाई चारैतिरबाट विश्राम दिनुभयो।
31 अनि यहोशापातले यहूदामाथि राज्य गरेका थिए। राज्य गर्न शुरु गर्दा तिनी पैंतीस वर्षका थिए; अनि तिनले यरूशलेममा पच्‍चीस वर्ष राज्य गरे। अनि तिनकी आमाको नाम अजूबा थियो, जो शिल्हीकी छोरी थिइन्। 32 अनि तिनी परमप्रभुको दृष्‍टिमा जे ठीक थियो, त्यही गर्दै आफ्ना पिता आसाको चालमा हिँड़िरहे, र त्यसबाट हटेनन्। 33 तर उच्‍च स्थानहरू हटाइएनन्; किनकि अझ पनि मानिसहरूले आफ्ना पितापुर्खाहरूका परमेश्‍वरप्रति आफ्नो मन लगाएका थिएनन्। 34 अनि यहोशापातका शुरुदेखि अन्तसम्मका बाँकी कामकुराहरू – हेर, ती कुराहरू हनानीका छोरा येहूको पुस्तकमा लेखिएका छन्, जसको वर्णन इस्राएलका राजाहरूको पुस्तकमा गरिएको छ।
35 अनि त्यसपछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्याहसित सम्बन्ध राखे, जसले साह्रै दुष्‍ट काम गर्दथे। 36 उनले टार्शिश जान जहाजहरू बनाउनलाई तिनीसित सम्बन्ध राखेका थिए; अनि उनीहरूले ती जहाजहरू एस्योन-गेबेरमा बनाए। 37 तब मारेशाका दोदावाहूका छोरा एलिएजेरले यहोशापातको विरोधमा यसो भन्दै भविष्यवाणी गरे: “तपाईंले अहज्याहसित सम्बन्ध राख्‍नुभएको हुनाले परमप्रभुले तपाईंका कामहरू नष्‍टभ्रष्‍ट पारिदिनुभएको छ।” अनि ती जहाजहरू भत्किए, र टार्शिशमा जान सकेनन्।