यहोशापातले यहूदामा ल्याएको धार्मिक सुधार
19
अनि यहूदाका राजा यहोशापात कुशलतासाथ यरूशलेममा आफ्नो घर फर्के। 2 अनि दर्शी हनानीका छोरा येहू राजा यहोशापातलाई भेट्न निस्के, र तिनलाई यसो भने: “के तपाईंले दुष्‍टलाई सहायता गर्नु र परमप्रभुलाई घृणा गर्नेहरूलाई प्रेम गर्नु उचित हुन्छ र? यसकारण परमप्रभुको तर्फबाट क्रोध तपाईंमाथि परेको छ। 3 तरै पनि तपाईंमा असल कुराहरू पाइएका छन्; किनभने तपाईंले देशबाट अशेराका मूर्तिहरू हटाउनुभयो र परमेश्‍वरको खोजीमा आफ्नो मन लगाउनुभयो।”
4 अनि यहोशापात यरूशलेममा बसे; अनि तिनले फेरि बेरशेबादेखि एप्रैमको पहाड़ी देशसम्म मानिसहरूको बीचमा घुमफिर गरे, र उनीहरूलाई परमप्रभु आफ्ना पितापुर्खाहरूका परमेश्‍वरकहाँ फर्काएर ल्याए। 5 अनि तिनले यहूदाका सबै पर्खालले घेरिएका शहरहरूमा, देशभरि हरेक शहरमा न्यायकर्ताहरू नियुक्त गरे, 6 र ती न्यायकर्ताहरूलाई भने: “तिमीहरू जे गर्छौ, त्यसमा होशियार रहो! किनभने तिमीहरूले मानिसहरूका निम्ति होइन, तर परमप्रभुका निम्ति न्याय गर्दछौ, जो न्याय गर्दा तिमीहरूको साथमा हुनुहुन्छ। 7 यसैकारण अब तिमीहरूमाथि परमप्रभुको डर रहोस्! होशियार भएर यो काम गर! किनकि परमप्रभु हाम्रा परमेश्‍वरसित कुनै अन्याय चल्दैन, न ता पक्षपात, न ता घूसखोरी नै चल्छ।” 8 अनि उनीहरू यरूशलेममा फर्केपछि यहोशापातले यरूशलेममा पनि परमप्रभुको न्याय गर्नका निम्ति र मुद्दा-बहसहरूका निम्ति लेवीहरू र पूजाहारीहरूबाट र इस्राएलका पितापुर्खाहरूका प्रधानहरूबाट कतिलाई नियुक्त गरे। 9 अनि तिनले उनीहरूलाई यसो भन्दै आज्ञा गरे: “यसरी तिमीहरूले परमप्रभुको डर राखेर, विश्‍वासयोग्य भएर र सिद्ध हृदय लिएर काम गर! 10 अनि आ-आफ्ना शहरहरूमा बसोबास गर्ने तिमीहरूका दाजुभाइहरूबाट कुनै मुद्दा तिमीहरूकहाँ आउला – चाहे रक्तपात-रक्तपातको विषयमा होस्, चाहे व्यवस्था, आज्ञा, नियमहरू र न्याय-वचनहरूको विषयमा होस् – ‘परमप्रभुको विरोधमा अपराध नगर्नू’ भन्दै तिनीहरूलाई चेताउनी देओ; नत्रभने तिमीहरूमाथि र तिमीहरूका दाजुभाइहरूमाथि क्रोध आइपर्नेछ! यसो गर, र तिमीहरूले अपराध गर्नेछैनौ 11 अनि हेर, परमप्रभुका सबै कामकुराहरूको सम्बन्धमा प्रधान पूजाहारी अमर्याह तिमीहरूका अधिकारी हुनेछन्; यहूदाको घरानाका शासक, इश्माएलका छोरा जबद्याहचाहिँ राजाका सबै कामकुराहरूको सम्बन्धमा अधिकारी हुनेछन्। तिमीहरूको सामु लेवीहरू पनि अफिसरहरू हुनेछन्। बलिया होओ, र यो काम गर! अनि परमप्रभु भलो मानिसको साथमा हुनुहुनेछ।”