अहाब र यहोशापात सँगै रामोत-गिलादमा लड़ाइँ गर्न गए
18
अनि यहोशापातलाई प्रशस्त धन र मान मिलेको थियो; अनि तिनले अहाबसित वैवाहिक सम्बन्ध जोड़े। 2 अनि केही वर्षपछि तिनी तल सामरियामा अहाबकहाँ गए। अनि अहाबले तिनका निम्ति र तिनको साथमा भएका मानिसहरूका निम्ति प्रशस्त भेड़ाहरू र गोरुहरू काटे, अनि तिनलाई आफ्नो साथमा गई रामोत-गिलादमाथि चढ़ाइ गर्न बाध्य गराए 3 अनि इस्राएलका राजा अहाबले यहूदाका राजा यहोशापापलाई भने: “के तपाईं मसित रामोत-गिलादमा जानुहुन्छ?” अनि तिनले जवाफ दिए: “जस्तो तपाईं म त्यस्तै हुँ; मेरो प्रजा तपाईंको प्रजाजस्तै हो; अँ, लड़ाइँमा हामी तपाईंको साथमा हुनेछौं।”
4 अनि यहोशापातले इस्राएलका राजालाई भने: “म तपाईंलाई विन्‍ती गर्छु, आज परमप्रभुको वचन के रहेछ, सो सोधखोज गर्नुहोस्!” 5 यसकारण इस्राएलका राजाले चार सय भविष्यवक्ताहरूलाई भेला गरे, र तिनीहरूलाई भने: “के हामी रामोत-गिलादमा लड़ाइँ गर्न जाऔं, कि म छोड़ूँ?” अनि तिनीहरूले भने: “चढ़ाइ गर्नुहोस्; किनकि परमेश्‍वरले त्यसलाई राजाको हातमा सुम्पिदिनुहुनेछ।” 6 तर यहोशापातले भने: “के यिनीहरूबाहेक यहाँ परमप्रभुको अरू कुनै भविष्यवक्ता छैनन्, जसद्वारा हामी सोधखोज गर्न सक्छौं?” 7 अनि इस्राएलका राजाले यहोशापातलाई भने: “अझै एकजना मानिस त छ, जसद्वारा हामी परमप्रभुबाट सोधखोज गर्न सक्छौं, तर म उसलाई घृणा गर्दछु; किनभने मेरो विषयमा उसले कहिल्यै भलो होइन, तर कुभलो मात्र भविष्यवाणी गर्छ। ऊचाहिँ इम्लाको छोरा मिकायाह हो।” अनि यहोशापातले भने: “राजाले यस्तो नभनून्!” 8 तब इस्राएलका राजाले एकजना अधिकारीलाई बोलाएर भने: “झट्टै इम्लाको छोरा मिकायाहलाई यहाँ ल्याऊ!” 9 अनि इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशक पहिरेर आ-आफ्नो सिंहासनमा बसिरहेका थिए। अनि उनीहरू सामरियाको मूलढोकाको पस्‍ने ठाउँमा एउटा खलामा बसेका थिए; अनि सबै भविष्यवक्ताहरूले उनीहरूको सामु भविष्यवाणी गरिरहेका थिए। 10 अनि केनानाका छोरा सिद्कियाहले आफ्ना निम्ति फलामका सिङहरू बनाएका थिए; अनि तिनले भने: “परमप्रभु यसो भन्‍नुहुन्छ, अरामीहरूलाई सखाप नपारुन्जेल तिमीले यी सिङहरूले नै तिनीहरूलाई घचेट्नेछौ।” 11 अनि सबै भविष्यवक्ताहरूले त्यस्तै भविष्यवाणी गर्दै भने: “रामोत-गिलादमाथि चढ़ाइ गर्नुहोस्, र सफल हुनुहोस्; किनकि परमप्रभुले त्यसलाई राजाको हातमा सुम्पिदिनुहुनेछ।”
12 अनि मिकायाहलाई बोलाउन गएको दूतले तिनलाई यसो भने: “हेर्नुहोस्, भविष्यवक्ताहरूका वचनहरूले राजाका निम्ति एकै मुख भएर भलो बताइरहेका छन्; यसकारण म तपाईंलाई विन्‍ती गर्छु, तपाईंको वचन पनि उनीहरूमध्ये एकजनाको वचनजस्तो होस्, र भलो नै बोलिदिनुहोस्!” 13 तर मिकायाहले भने: “परमप्रभुको जीवनको शपथ! मेरा परमेश्‍वरले मलाई जे भन्‍नुहुन्छ, त्यही मात्र म बोल्नेछु।”
14 अनि तिनी राजाकहाँ आइपुगेपछि राजाले तिनलाई भने: “मिकायाह, के हामी रामोत-गिलादमा लड़ाइँ गर्न जाऔं, कि म छोड़ूँ?” अनि तिनले भने: “जानुहोस्, र सफल हुनुहोस्, अनि तिनीहरू तपाईंको हातमा सुम्पिइनेछन्।” 15 अनि राजाले तिनलाई भने: “परमप्रभुको नाममा जे सत्य छ, त्यो मात्र मसित बोल भनेर म तिमीलाई कति पल्ट शपथ खान लाऊँ?” 16 तब तिनले भने: “मैले सारा इस्राएललाई पहाड़हरूमाथि गोठालो नभएका भेड़ाहरूझैं तितरबितर भएका देखें। अनि परमप्रभुले भन्‍नुभयो: ‘यिनीहरूको मालिक छैन; यसकारण यिनीहरू हरेक शान्तिसित आ-आफ्नो घर फर्कून्!’ ” 17 अनि इस्राएलका राजाले यहोशापातलाई भने: “मेरो विषयमा उसले भलो होइन, तर कुभलो मात्र भविष्यवाणी गर्छ भनेर के मैले तपाईंलाई भनेको थिइनँ र?”
18 अनि मिकायाहले भने: “यसकारण परमप्रभुको वचन सुन्‍नुहोस्! मैले परमप्रभुलाई आफ्नो सिंहासनमाथि बस्‍नुभएको र स्वर्गको सारा सेनालाई उहाँको दाहिने र उहाँको देब्रेपट्टि उभिरहेको देखें। 19 अनि परमप्रभुले भन्‍नुभयो: ‘इस्राएलको राजा अहाब रामोत-गिलादमाथि जाइलागोस्, र गिरोस् भनेर कसले त्यसलाई फुस्‍लाउँछ?’ तब कसैले एउटा कुरा भने, कसैले अर्कै कुरा भने। 20 तब एउटा आत्मा निस्के, र परमप्रभुको सामु उभिए; अनि तिनले भने: ‘म त्यसलाई फुस्‍लाउनेछु।’ अनि परमप्रभुले तिनलाई भन्‍नुभयो: ‘के गरेर?’ 21 अनि तिनले भने: ‘म गएर त्यसका सबै भविष्यवक्ताहरूको मुखमा झूट बोल्ने आत्मा हुनेछु।’ तब परमप्रभुले भन्‍नुभयो: ‘तैंले त्यसलाई फुस्‍लाउनेछस्, र सक्षम पनि हुनेछस्; जा, र त्यसै गर्!’ 22 यसैकारण अब हेर्नुहोस्! परमप्रभुले तपाईंका यी भविष्यवक्ताहरूको मुखमा एउटा झूट बोल्ने आत्मा हालिदिनुभएको छ; अनि परमप्रभुले तपाईंको विषयमा कुभलो बोल्नुभएको छ।”
23 तब केनानाका छोरा सिद्कियाहले नजिक आए, र मिकायाहलाई तिनको गालामा थप्पड़ लगाएर भने: “परमप्रभुका आत्मा तँसँग बोल्नलाई मबाट कुन बाटो भएर जानुभयो त?” 24 अनि मिकायाहले भने: “हेर, जुन दिन तिमी भित्री कोठामा लुक्न जानेछौ, त्यसै दिन तिमीले थाहा पाउनेछौ।” 25 तब इस्राएलका राजाले यसो भने: “मिकायाहलाई लैजाओ, र उसलाई शहरका राज्यपाल आमोन र राजकुमार योआशकहाँ फर्काओ! 26 र भन: ‘राजाले यसो भन्‍नुहुन्छ, यस मानिसलाई झ्यालखानामा हालिदेओ, र म कुशलतासाथ नफर्कुन्जेल यसलाई कष्‍टको रोटी र कष्‍टको पानी खुवाओ!’ ” 27 अनि मिकायाहले भने: “तपाईं कुनै रीतिले कुशलतासाथ फर्कनुभयो भने परमप्रभु मद्वारा बोल्नुभएको हुँदै होइन।” तब तिनले भने: “हे सबै मानिसहरूहो, सुनिराख!”
रामोत-गिलादमा इस्राएलका राजा अहाबको मृत्यु
28 तब इस्राएलका राजा र यहूदाका राजा यहोशापात माथि रामोत-गिलादमा गए। 29 अनि इस्राएलका राजाले यहोशापातलाई भने: “म मेरो भेष बदलेर लड़ाइँमा पस्‍नेछु; तर तपाईंले चाहिँ आफ्नै वस्त्रहरू पहिरिनुहोस्!” तब इस्राएलका राजाले आफ्नो भेष बदले; अनि उनीहरू लड़ाइँमा पसे। 30 अब अरामका राजाले आफ्ना रथहरूका कप्‍तानहरूलाई यसो भन्दै आज्ञा गरेका थिए: “तिमीहरूले सानो-ठूलो कसैसित होइन, तर इस्राएलको राजासित मात्र लड़ाइँ गर्नू!” 31 अनि यस्तो भयो: जब रथहरूका कप्‍तानहरूले यहोशापातलाई देखे, तब तिनीहरूले भने: “इस्राएलको राजा यही हो!” यसकारण तिनीहरूले उनीसित लड़ाइँ गर्न उनलाई घेरे। तब यहोशापात चिच्च्याए; अनि परमप्रभुले उनलाई सहायता गर्नुभयो; र परमेश्‍वरले तिनीहरूलाई उनीबाट हट्न लगाउनुभयो। 32 किनकि यस्तो भयो: जब रथहरूका कप्‍तानहरूले यिनी ता इस्राएलका राजा होइन रहेछन् भनी थाहा पाए, तब तिनीहरू उनको पिछा गर्नबाट फर्के।
33 अनि कुनै मानिसले ताँदो खिचेर जथाभावी हान्यो, र इस्राएलका राजालाई कवचका जोर्नीहरूको बीचमा लाग्यो। यसकारण तिनले आफ्नो सारथिलाई भने: “रथ घुमाऊ, र मलाई सेनाको बीचबाट बाहिर लैजाऊ; किनकि म घाइते भएँ।” 34 अनि त्यस दिन लड़ाइँ चर्किंदै गयो; अनि इस्राएलका राजा आफ्नो रथमा साँझसम्म अरामीहरूको सामु ठाड़ो रहे; र घाम अस्ताउँदै गरेको बेलामा तिनी मरे।