यहूदामा यहोशापातको शासन
17
अनि उनको सट्टामा उनका छोरा यहोशापातले राज्य गरे, र इस्राएलको विरोधमा आफूलाई बलियो पारे। 2 अनि तिनले यहूदाका पर्खालले घेरिएका सबै शहरहरूमा सेना राखे, अनि यहूदाको देशमा र तिनका पिता आसाले कब्जा गरेका एप्रैमका शहरहरूमा सेना-चौकीहरू राखे। 3 अनि परमप्रभु यहोशापातको साथमा हुनुभयो; किनभने तिनी आफ्ना पिता दाऊदका पहिलेका बाटाहरूमा हिँड़े, र बाल देवताहरूको खोजी गरेनन्, 4 तर परमप्रभु आफ्ना बुबाका परमेश्‍वरको खोजी गरे, र उहाँका आज्ञाहरूअनुसार हिँड़े, तर इस्राएलका कामहरूअनुसार हिँड़ेनन्। 5 यसैकारण परमप्रभुले राज्य तिनको हातमा स्थिर पार्नुभयो; अनि सारा यहूदाले यहोशापातलाई सौगातहरू ल्याए, र तिनलाई प्रशस्त धन र मान मिल्यो। 6 अनि परमप्रभुका बाटाहरूमा तिनको हृदयलाई उत्साहित भयो। अनि अझै पनि तिनले यहूदाबाट उच्‍च स्थानहरू र अशेराका मूर्तिहरू हटाइदिए।
7 अनि तिनको शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना शासकहरू बेन-हैल, ओबद्याह, जकर्याह, नतनेल र मिकायाहलाई यहूदाका शहरहरूमा शिक्षा दिन भनी पठाए। 8 अनि उनीहरूको साथमा तिनले लेवीहरूलाई, अर्थात् शमायाह, नतन्याह, जबद्याह, असाहेल, शमिरामोत, यहोनातान, अदोनियाह, तोबियाह, तोब-अदोनियाह नाम भएका लेवीहरूलाई र यिनीहरूको साथमा पूजाहारीहरू एलिशामा र यहोरामलाई पनि पठाए। 9 अनि उनीहरूले यहूदामा शिक्षा दिए, र उनीहरूको साथमा परमप्रभुको व्यवस्थाको पुस्तक थियो; अनि उनीहरू यहूदाका सबै शहरहरूभरि नै चारैतिर घुमेर मानिसहरूलाई शिक्षा दिए।
10 अनि यहूदाको वरिपरि भएका देश-देशका सबै राज्यहरूलाई परमप्रभुको भयले छोप्यो, र तिनीहरूले यहोशापातसित लड़ाइँ गरेनन्। 11 कति पलिस्तीहरूले यहोशापातकहाँ सौगातहरू र कर-स्वरूप चाँदी ल्याए; अनि अरबीहरूले तिनीकहाँ भेड़ाबाख्राहरू अर्थात् सात हजार सात सय भेड़ा र सात हजार सात सय बोका ल्याए। 12 अनि यहोशापात अति महान् हुँदै गए; अनि तिनले यहूदामा किल्‍लाहरू र भण्डारका शहरहरू निर्माण गरे। 13 अनि यहूदाका शहरहरूमा तिनका धेरै कामधन्धाहरू थिए; अनि यरूशलेममा लड़ाकुहरू, अँ, शूरवीर योद्धाहरू थिए। 14 अनि आ-आफ्ना पितापुर्खाहरूको घरानाअनुसार उनीहरूको संख्या यस प्रकारको छ: यहूदाबाट – हजारौंमाथिका कप्‍तानहरू: प्रधान अदना थिए, र तिनको साथमा तीन लाख शूरवीर मानिसहरू। 15 अनि तिनको पछिका कप्‍तान यहोहानान थिए, र उनको साथमा दुई लाख अस्सी हजार मानिसहरू। 16 अनि उनको पछि जिक्रीका छोरा अमस्याह थिए, जसले खुशीसाथ आफूलाई परमप्रभुका निम्ति अर्पण गरेका थिए; अनि तिनको साथमा दुई लाख शूरवीर मानिसहरू थिए। 17 अनि बिन्यामिनबाट – एल्यादा एक शूरवीर मानिस थिए, र तिनको साथमा दुई लाख धनु र ढाल भिरेका मानिसहरू। 18 तिनको पछि यहोजाबाद थिए, जसको साथमा लड़ाइँका निम्ति हतियार भिरेका एक लाख अस्सी हजार मानिसहरू थिए। 19 यिनीहरूले राजाको सेवा गर्थे – ती मानिसहरूबाहेक, जसलाई राजाले सारा यहूदाभरि पर्खालले घेरिएका शहरहरूमा राखेका थिए।