यहूदामा आसाको शासन
14
अनि अबियाह आफ्ना पितापुर्खाहरूसित सुते, र उनीहरूले तिनलाई दाऊदको शहरमा गाड़े; अनि तिनको सट्टामा तिनका छोरा आसाले राज्य गरे। उनको समयमा दस वर्षसम्म देश शान्त थियो। 2 अनि आसाले परमप्रभु उनका परमेश्‍वरको दृष्‍टिमा जे असल र ठीक थियो, त्यही गरे; 3 किनभने उनले पराई देवताहरूका वेदीहरू र उच्‍च स्थानहरू हटाइदिए, अनि मूर्तिहरू टुक्रा-टुक्रा पारिदिए र अशेराका मूर्तिहरू काटेर ढालिदिए; 4 अनि यहूदालाई उनीहरूका पितापुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने, अनि व्यवस्था र आज्ञा पालन गर्ने आज्ञा दिए। 5 अनि उनले यहूदाका सबै शहरहरूबाट उच्‍च स्थानहरू र मूर्तिहरू हटाइदिए; अनि उनको सामु राज्य शान्त भइरह्‍यो। 6 अनि उनले यहूदामा पर्खालले घेरिएका शहरहरू निर्माण गरे; किनभने देशमा विश्राम थियो, र ती वर्षभरि उनको कुनै लड़ाइँ भएन; किनकि परमप्रभुले उनलाई विश्राम दिनुभएको थियो।
7 यसकारण उनले यहूदालाई भने: “देश हाम्रो सामु छँदै हामी यी शहरहरू निर्माण गरौं, र यिनको वरिपरि पर्खालहरू, साथै धरहराहरू, मूलढोकाहरू र आग्लाहरू बनाऔं; किनभने हामीले परमप्रभु हाम्रा परमेश्‍वरको खोजी गर्‍यौं; हामीले उहाँको खोजी गर्‍यौं, र उहाँले चारैतिरबाट हामीलाई विश्राम दिनुभएको छ।” तब उनीहरूले निर्माण गरे, र सफल भए। 8 अनि आसासित एउटा ठूलो सेना थियो – यहूदाबाट ठूलो ढाल र भालाहरू चलाउने तीन लाख मानिसहरू, अनि बिन्यामिनबाट ढाल र धनुहरू चलाउने दुई लाख अस्सी हजार मानिसहरू थिए; उनीहरू सबै शूरवीर योद्धाहरू थिए।
9 अनि कूशी जेरह दस लाख सेना र तीन सय रथहरू लिएर उनीहरूको विरोधमा लड़ाइँ गर्न निस्के, र मारेशासम्म आए। 10 तब आसा तिनको विरोधमा निस्के; अनि तिनीहरूले मारेशाको सपाताको बेंसीमा लड़ाइँका निम्ति मोर्चा बाँधे। 11 अनि आसाले परमप्रभु आफ्ना परमेश्‍वरलाई पुकारे, र भने: “हे परमप्रभु, चाहे धेरै होऊन्, चाहे शक्तिहीन – यस्ताहरूलाई सहायता गर्नु तपाईंका निम्ति केही पनि होइन। हे परमप्रभु, हाम्रा परमेश्‍वर, हामीलाई सहायता गर्नुहोस्; किनकि हामी तपाईंमाथि भर पर्छौं, र तपाईंको नाममा हामी यस भीड़को विरोधमा गइरहेका छौं। हे परमप्रभु, तपाईं नै हाम्रा परमेश्‍वर हुनुहुन्छ। कुनै मानिस तपाईंमाथि प्रबल हुन नपाओस्!” 12 तब परमप्रभुले आसा र यहूदाको सामु ती कूशीहरूलाई प्रहार गर्नुभयो; र ती कूशीहरू भागे। 13 अनि आसा र उनीसँग भएका मानिसहरूले तिनीहरूलाई गरारसम्म खेदे। अनि ती कूशीहरू यति साह्रो ढले, कि तिनीहरू फेरि उठ्नै सकेनन्; किनभने तिनीहरू परमप्रभु र उहाँको सेनाको सामु टुटफुट भए; अनि उनीहरूले धेरै-धेरै लुटको माल उठाएर लगे। 14 अनि उनीहरूले गरारको वरिपरिका सबै शहरहरूलाई प्रहार गरे; किनकि तिनीहरूलाई परमप्रभुको भयले छोपेको थियो। अनि उनीहरूले सबै शहरहरू लुटे; किनभने तिनीहरूमा प्रशस्त लुटको माल थियो। 15 अनि उनीहरूले गाईबस्तुका गोठहरूलाई पनि प्रहार गरे, अनि प्रशस्त भेड़ाहरू, र ऊँटहरू लिएर गए; अनि उनीहरू यरूशलेममा फर्के।